विराटनगर । मोरङको रंगेली नगरापलिका–१ बिर्ताबजारस्थित तिलका मल्लिकको घरमा आगलागी हुँदा उनकी श्रीमती बबिता मल्लिकको मृत्यु भएको छ । शुक्रबार राती १० बजे टिनको घरमा आगलागी हुँदा घाइते बबिताको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा शनिबार बिहान ६ बजे मृत्यु भएको हो ।
घाईते ३१ वर्षीया बबिताको शरीरको विभिन्न भाग आगोले जलेको थियो । घटनास्थलमै बोल्न नसक्ने अवस्थामा रहेकी घाईतेलाई इलाका प्रहरी कार्यालय सखरदिनाका प्रहरी टोलिको सहयोगमा कोशी अस्पतालमा उपचारका लागि पठाइएको थियो ।
उपचारका क्रममा बबिताको शनिबार बिहान ६ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट टिनको छाना भएको घर जलेर पूर्ण क्षति भएको छ । घर जल्दा दुईलाख बराबरको क्षति भएको छ । प्रहरीले आगलागीको कारण बारे अनुसन्धान गरिरहेको छ ।