प्रदेश १ मा बैंकिङ्ग कारोबारमा आकर्षित हुँदै नागरिक

प्रदेश १ मा बैंकिङ्ग कारोबारमा आकर्षित हुँदै नागरिक

विराटनगर । प्रदेश १ मा एकवर्षको अवधीमा बैंकमा खाता खोल्ने नागरिकको संख्या २८ प्रतिशतले बढेको छ । चालु आर्थिक आर्थिक वर्ष २०७८ चैत मसान्तसम्ममा प्रदेश १ मा रहेका बैंक तथा वित्तीय संस्थामा १२ लाख ७६ हजार ५२६ पुगेको हो ।
प्रदेश १ सरकारले पछिल्लो पटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार यो गतवर्षको तुलनामा २८.०३ प्रतिशतले वृद्धि हो । प्रदेश १ मा ५४.१ प्रतिशत पुरुष र ४५.९ प्रतिशत महिलाका नाममा खाता रहेका छन् ।

प्रदेश १ मा २०७७ चैत मसान्तको तुलनामा २०७८ चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेप ४.४ प्रतिशतले वृद्धि भएर ३ खर्ब ३२ अर्ब पुगेको छ । कूल कर्जा भने १४.४ प्रतिशतले वृद्धि भई ५ खर्ब २७ अर्ब पुगेको छ । यस्तै २०७८ असार मसान्तसम्ममा ३ खर्ब ४७ अर्बको कुल निक्षेप परिचालन तथा ४ खर्ब ८० अर्बको कर्जा प्रवाह भएको छ ।
प्रदेश १ का जिल्लाहरुमध्ये मोरङमा सबैभन्दा बढी १ खर्ब ३ अर्ब निक्षेप परिचालन भएको छ । तेह्रथुममा सबैभन्दा कम ४ अर्ब ४८ करोड निक्षेप परिचालन भएको छ । प्रदेशको कुल निक्षेप परिचालनमा मोरङ, सुनसरी र झापाको जिल्लाको हिस्सा ७७.१ प्रतिशत देखिन्छ । २०७७ सालको तुलनामा भोजपुर जिल्लाको निक्षेप सबैभन्दा बढी १७.४ प्रतिशतले वृद्धि भएको छ भने झापाको निक्षेप वृद्धि ०.३ प्रतिशत मात्रै भएको छ ।

प्रदेश १ का बैंक तथा वित्तीय संस्थामा ५७ लाख २४ हजार निक्षेप खातामध्ये ४१ लाख २४ हजार मात्रै सक्रिय रहेका छन् । उक्त निक्षेप खातामध्ये ५० लाख २५ हजार ६३२ बचत खाता रहेका छन् । उक्त बचत खातामध्ये ३८ लाख ६५ हजार ६२८ बचत खाता सक्रिय अवस्थामा छन् । जुन प्रदेश १ को कूल जनसंख्याको ७७.५ प्रतिशत हो । कूल बचत खातामध्ये सक्रिय अवस्थामा रहेका पुरुष तथा महिलाको खाता क्रमशः ५६.६ र ४३.४ प्रतिशत रहेको छ ।

सबैभन्दा बढी कर्जा प्रवाह गर्ने जिल्लामा पनि मोरङ नै रहेको छ । मोरङमा मात्रै २ खर्ब २४ अर्ब कर्जा प्रवाह भएको छ भने सबैभन्दा कम ताप्लेजुङमा २ अर्ब ५६ करोड कर्जा प्रवाह भएको छ । प्रदेशको कूल कर्जा प्रवाहमा मोरङ, सुनसरी र झापाको हिस्सा ८७.८ प्रतिशत रहेको छ ।
प्रदेश १ का तीन जिल्ला झापा, मोरङ र सुनसरीमा धितोपत्र दलालले धितोपत्र कारोबार सेवा विस्तार गरेका छन् । २०७८ चैतमसान्तसम्ममा प्रदेश १ मा धितोपत्र दलालहरुको १४ वटा शाखा रहेका छन् । यो बाग्मती प्रदेश पछिको दोस्रो हो । बाग्मतीमा धितोपत्र दलालहरुको संख्या ५६ रहेको छ । प्रदेश १ मा खोलिएका धितोपत्र दलालका शाखा कार्यालयहरुबाट १ खर्ब ३३ अर्ब बराबरको धितोपत्र तथा १ खर्ब ३२ अर्ब बराबरको धितोपत्र बिक्री गरी कूल २ खर्ब ६५ अर्ब बराबरको कारोबार भएको छ ।

यसैगरी प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकको संख्या ६५.७ प्रतिशतले वृद्धि भएको छ । प्रदेश १ सरकारले पछिल्लो पटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार इन्टरनेट बैंकिङ सेवा लिनेको संख्या २०७७ सालमा ८३ हजार २ सय ८३ थियो । चालु आर्थिक वर्षमा उक्त संख्या बढेर १ लाख ३७ हजार ९ सय ६६ पुगेको छ ।
यस्तै मोबाइल बैंकिङ सेवा लिने सेवाग्राहीको संख्यामा पनि ३१.४ प्रतिशतले वृद्धि भएको तथ्यांक छ । गत आर्थिक वर्ष १८ लाख ९२ हजार चार सय ३७ जनाले मोबाइल बैंकिङ सेवा लिएका थिए । चालु आर्थिक वर्षमा २४ लाख ८६ हजार ९ सय ८२ पुगेको छ ।
यस्तै डेबिट कार्ड प्रयोगमा पनि २५.७ प्रतिशतले वृद्धि भएको छ । २०७७ सालमा डेविट कार्ट प्रयोग गर्नेको संख्या १० लाख ५९ हजार २ सय ५४ थियो । चालु आर्थिक वर्ष संख्या बढेर १३ लाख ३१ हजार ९ सय ५४ पुगेको हो । यस्तै क्रेडिट कार्ड लिनेको संख्या ३६.९, पिप्रेड कार्ड लिनेको संख्या १०१ प्रतिशतले बढ्दा शाखारहित बैंकिङ सेवा भने विगत भन्दा ७.२ प्रतिशतले घटेको छ । २०७७ सालमा शाखारहित बैंकिङ सेवा प्रदेश १ मा ४०१ थियो भने २०७८ सालमा उक्त संख्या घटेर ३७२ मा आइपुगेको छ ।

प्रदेश १ मा एक हजार ८४१ बैंक तथा वित्तीय संस्था र ५४१ बीमक कार्यालय स्थापना भएका छन् । जसमा सबैभन्दा धेरै लघुवित्त वित्तीय संस्था छन् । हालसम्म ८ ६६ लघुवित्त, ७५३ वाणिज्य, १९० विकास र ३२ वटा वित्त कम्पनी रहेको तथ्यांकमा उल्लेख छ ।
गतवर्ष २०७७ को तुलनामा वित्त कम्पनीको संख्या घटेको छ । ४४ वटा वित्त कम्पनीमध्य हाल ३२ मात्रै कायम रहेका छन् । प्रदेश १ का १३७ वटै स्थानीय तहमा २०७७ साल चैत महिनामा नै वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ ।

आर्थिक सर्वेक्षण प्रतिवेदनमा प्रदेश १ मा २०७८ चैत मसान्तसम्ममा जीवन बिमाका ३७६ र निर्जीवनका १६५ गरी ५४१ बीमक कार्यालय स्थापना रहेका छन् । २०७७ फागुन मसान्तसम्ममा यस्तो शाखा संख्या जीवनतर्फ ३४८ र निर्जीवनतर्फ १५८ गरी कूल ५०६ रहेका थिए । प्रदेश १ मा सोही अवधिमा जीवन बीमा तथा निर्जीवन बीमा दुवैतर्फ गरी १५ लाख ३८ हजार ८ सय १३ बीमालेख जारी भएका छन् । यो संख्या भनेको नेपालभर गरिएका कूल बीमालेखको ११.५ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्