-विदुर भट्ट
साँझको ४ बजेको छ । आफू भने विद्यालय छुट्टी भएपछि घर जान उत्साहित भएर चहुरबाट लम्कदै थिएँ । कम्प्युटर सर अर्थात् डिल्लीराम सर भने निराश र विवश मुद्रामा केही हराए जस्तो ,सम्झेजस्तो वा थाह पाए जस्तो गरेर टोलाइरहेका थिए ।
म उत्सुक भएर छेउमा गएँ ! निशब्द त त्यतिबेला भएँ जब उनले माइलो कामीको बारेमा एउटा बाल्यकालीन किस्सा सुनाए ।
चालिस वर्षअघि उनले थाह पाउँदासम्म माइलो कामी उनको घरमा वर्षैपिच्छे धानका बिटा कुट्न आउँथे रे । हजुरबाले कुटिसकेका धानका बिटा निरीक्षण गर्दै "माइलो ! ए माइलो!! बिटोमा धान अझै छ ;मजाले कुट्" भन्नुहुन्थ्यो। माइलो त्यसै त निम्सरो, त्यहाँमाथि तात्कालीन सामाजिक परिवेशमा दलित समुदायलाई शासकले हेर्ने दृष्टिकोण साँघुरो नै थियो । हजुरबा कडै हुनुहुन्थ्यो रे । माइलो कामी हजुर ! भन्दै झारिसकेका धानका बिटा मच्चाईमच्चाई दोहोर्याई तेहेर्याई झार्थ्यो रे । अब भुस मात्र रहेको बिटाबाट के पो झर्थ्यो र !!!
डिल्लीराम सरले आकाशतिर हेर्दै लामो सुस्केरा हालेर भुइँमा पिच्च थुक्दै भन्नुभयो "हामी बोर्डिङका मास्टर पनि माइलो कामी जस्तै भयौँ । "