इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मधेसको समस्या समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेकोे बताउनुभएको छ । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मधेसी समाज समृद्ध नभएसम्म मुलुकलाई समृद्ध बनाउने सपना अधुरो रहने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मधेसको समस्या समाधान गर्न र मधेसी समुदायको समृद्धिका लागि म जनताको साथमा छु ।” नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिको पार्टी भएको उल्लेख गर्दै मन्त्री कार्कीले कांग्रेसले सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढिरहेको दाबी गर्नुभयो । उहाँले देशमा हिमाल, पहाड र मधेस गरेर तीन वटा भगौलिक क्षेत्र भएको बताउँदै कांग्रेसले विसं २००७ देखि नै मधेसलाई उच्च प्राथमिकताको साथ हेरिरहेको दाबी गर्नुभयो ।
नागरिकता समस्याबाट मधेसका युवालाई ठूलो समस्या भएकाले यसलाई ध्यानमा राखेर वर्तमान सरकारले काम गरिरहेको मन्त्री कार्कीले जानकारी दिनुभयो । जसपा नेपालसहित विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेकालाई उहाँले फूलमाला र अविर लगाएर स्वागत गर्नुभयो ।
‘अर्थतन्त्रबारे भ्रम पार्न खोजियो’
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई श्रीलङ्काको बाटोमा जान नदिनका लागि सरकार सचेत रहेको बताउनुभएको छ ।
सुनसरी सदमरमुकाम इनरुवा–२ स्थित नेपाल टेलिकमको कार्यालयले आयोजना गरेको ‘एफटीटीएस’ नेटवर्क विस्तार कार्यक्रममा उहाँले मुलुकको अर्थतन्त्र श्रीलङ्काको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै किसिमको सत्यता नरहेको दाबी गर्नुभयो । मुलुकको अर्थतन्त्र श्रीलङ्काको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोसिस भइरहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसबाट मुक्त हुन सबैलाई आग्रह गर्नुभयो ।
सबैले एकताबद्ध ढङ्गले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने मन्त्री कार्कीले दाबी गर्नुभयो । नेपालको अर्थतन्त्र श्रीलङ्काको बाटोमा गइराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको उहाँले बताउनुभयो । रासस