इटहरीकाे जनता माविले जित्दैछ जनताको मन

इटहरीकाे जनता माविले जित्दैछ जनताको मन

धरान । शैक्षिक सामग्रीले सजाइएका कक्षाकोठा छन् । केटाकेटीका लागि झनै सजिला डेस्कबेन्च ।

हरेक डेस्कबेन्चमा दुई-दुई जना विद्यर्थी राख्ने व्यवस्था गरिएको छ । सबै कक्षामा इन्टरनेटका कुरा हेर्न सकिने ह्वाइट बोर्ड अर्थात स्मार्ट बोर्ड पनि टाँगिएको छ । भित्तामा शिक्षक र विद्यार्थीले बनाएका अनेक चित्रहरूले सजिएको छ । पाठ्यक्रमसँग सम्बन्धित महत्वपूर्ण जानकारीहरू लेखेर टाँसिएको छ । प्रवेशद्वारमा स्वागत गर्न सुरक्षाकर्मी तैनाथ छन् । द्वारमा लेखिएको छ– जनता माध्यमिक विद्यालय । यो दृश्य इटहरी उपमहानगरपालिका–४ को राजमार्गभन्दा २०० मिटरभित्र पर्ने जनता माविको हो । विभिन्न रङका तीनतले फराकिला भवनहरु छन् । झट्ट हेर्दा निजी घरजस्तै देखिने यो सामुदायिक विद्यालय हो ।

यहाँ विद्यार्थी, शिक्षकको अनुशासन अनुकरणीय छ । हाल विद्युतीय हाजिरी यन्त्रमा शिक्षकहरुले हाजिरी हुँदै आएकामा अब विद्यार्थीलाई पनि डिजिटल माध्यमबाट हाजिर गर्ने व्यवस्थाको तयारी हुँदैछ । कोभिड–१९ को सङ्क्रमणपछि विद्यालय हाताभित्रै स्यानिटाइजर यन्त्र पनि छ । विद्यार्र्थीलाई आवश्यकता अनुसार स्यानिटाइजर प्रयोग अनिवार्य गरिएको छ ।

विद्यालयका सबै कक्षामा सिसिटिभी क्यामरा छ । प्रधानाध्यापक पशुपति सिग्देल आफ्नो कोठामा रहेको मनिटरमा हेरेर हरेक कक्षाका गतिविधि, शिक्षक विद्यार्थीका क्रियाकलाप निरीक्षण गरिरहनु हुन्छ । भवन, सुविधासम्पन्न कक्षाकोठा, मल्टिमिडिया, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव, पुस्तकालय, महिला बालबालिका, अपाङ्गमैत्री शौचालय र विद्यार्थीको युनिर्फम हेर्दा यस सामुदायिक विद्यालय नाम चलेका निजी विद्यालयभन्दा कम देखिंदैन । पढ्न आउने विद्यार्थीको सङ्ख्या भने विपन्न समुदायका धेरै रहेको छ ।

करिब १३ बिगाहा जग्गामा फैलिएको यो विद्यालयको स्तरीय पठनपाठन र चुस्त व्यवस्थापनले शैक्षिक वातावरण नै बदलिएको छ । विसं २०१३ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको यो विद्यालयमा अहिले नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । यहाँ व्यवस्थापन, कम्प्युटर, शिक्षा र मानविकी विषयमा कक्षा १२ सम्म पढाई हुन्छ यस वर्षदेखि कक्षा ११ मा विज्ञान विषयमा पनि पढाइ शुरु गरिएको छ ।
अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठाइ हुने यस विद्यालयमा भर्ना हुनलाई प्रवेश परीक्षा दिनु पर्छ । ‘शैक्षिक सत्र सुरू हुँदा धेरै विद्यार्थी भर्नाका लागि आउँछन् । उनीहरूलाई प्रवेश परीक्षा लिएर मात्र सिमित भर्ना लिने गरिएको प्रधानाध्यापक सिग्देल बताउनुहुन्छ । नयाँ व्यवस्थापन समितिले जिम्मेवारी लिएपछि यस विद्यालयले शैक्षिक फड्को मार्न सकेको उहाँको भनाइ छ ।

विद्यालयप्रति समुदायको विश्वास राम्रो बनेको छ । ‘‘अहिले निजी विद्यालयमा अध्ययन गर्दै गरेका आफ्ना छोराछोरीलाई यस विद्यालयमा पढाउन खोज्ने अभिभावकहरुको सङ्ख्या ह्वात्तै बढेको छ । ‘‘सिमित साधान र स्रोतका कारण हामीले सबै विद्यार्थीलाई भर्ना गर्न सकेका छैनौं’’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गाल भन्नुहुन्छ, ‘‘ समुदायको विश्वास पाएका छौंँ । यो विश्वासलाई बढाउँदै लैजानुपर्ने हाम्रो चुनौती छ ।’’ शिक्षण सिकाइ बालमैत्री छ । विद्यार्थीप्रति शिक्षकहरूको समर्पण भाव र समुदायको विश्वास नै यहाँको विशेषता भएको उहाँ बताउनुहुन्छ । यस विद्यालयमा रहेका २५ सय विद्यार्थीमा १३ सयले अङ्ग्रेजी माध्यमको शिक्षा लिइरहेका छन् भने बाँकी नेपाली माध्यमको शिक्षा लिइरहका छन् । यहाँ ११५ शिक्षकमध्ये ३२ जनालाई मात्रसरकारले तलव खुवाउँछ। बाँकीलाई भने अभिभावकहरुको सहयोगमा विद्यालयले निजी स्रोतबाट तलव खुवाउँदै आएको छ । यहाँ सबै शिक्षकहरु स्नाकोत्तर अध्ययन गरेका हुनुहुन्छ ।

सबै कक्षामा ल्यापटपबाट शिक्षकले प्रोजेक्टरको सहायताले स्मार्ट बोर्डमा पढाउँछन् । हाल आठवटा प्यानल बोर्ड छन् । यिनैलाई सबै कक्षामा घुमाएर पढाउने गरिएको छ । स्मार्ट बोर्ड भने सबै कक्षामा छन् । चक, डस्टर र मार्करले छुटकारा पाएको छ । चक डस्टर बोक्ने झोलामा घरबाट निस्किँदा शिक्षकहरु ल्यापटप बोकेर आउँछन् । कक्षामा ल्यापटप झिक्छिन् । डिभाइसमा जोडेर प्रोजेक्टर मार्फत विद्यार्थीहरुलाई पढाउँछन् ।

प्रोजेक्टरबाट दृश्यसहित पढाउँदा विद्यार्थीको ध्यान बढी तानिएको शिक्षकहरुको अनुभव छ । डिजिटल माध्यमबाट पठनपाठन भएसँगै विद्यार्थीमा पढाइप्रति आकर्षण छ । सबैभन्दा बढी प्रश्न सोध्ने विद्यार्थीलाई पुरस्कारको पनि व्यवस्थाले उनीहरुलाई जिज्ञासु बनाएको छ । यहाँ पाठ्यपुस्तकको ज्ञानसँगै विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान र नैतिक शिक्षा दिने गरिएको छ ।

यस विद्यालयको अर्को विशेषता भनेको कितावमा जुन विषय छ तयो विषयको जानकारी लिन फिल्डमै लगेर विद्यार्थीलाई पढाइने गरिन्छ । मकैको विषयमा जानकारी दिनु परे बारीमा लगेर मकै देखाएर सो बारे जानकारी गराउने गरिएको छ । फिल्ड अध्ययनले पनि विद्यार्थीलाई आकर्षित गर्ने गरेको प्रधानाध्यापक सिग्देलको भनाइ छ । विद्यालयलाई सङ्र्घीय सरकार र प्रदेश सरकारबाट पनि केही अनुदान प्राप्त भएको छ । त्यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयले सहयोग पाएको छ । नमुना विद्यालय घोषणामा यो विद्यालय पनि परेपछि सरकारले भौतिक संरचना निर्माणका लागि सहयोग गरेको थियो । प्रतिबद्ध शिक्षक, चुस्त व्यवस्थापन, जीवनोपयोगी पठनपाठन, रचनात्मक वातावरणले यस सामुदायिक विद्यालयको गरिमा उँचो बनाएसँगै देशका अन्य विद्यालयका लागि पनि राम्रो उदाहरण प्रस्तुत गर्न सफल भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्