झापा । प्राकृतिक रबरको चोपलाई प्रशोधन गरी विभिन्न सामान उत्पादन गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–११ मा रबर उद्योग स्थापना गरिएको छ । उद्योगको स्थापनासँगै रबर किसानहरुमा खुसी छाएको छ ।
धाइजन पशुपालन तथा व्यावसायिक कृषि फार्मले सो उद्योग स्थापना गरेको हो । उद्योगका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले आर्थिक वर्ष २०७८/०७९ मा रु ४० लाख अनुदान प्रदान गरेको छ । सो अनुदानले उद्योगको मुख्य मेसिन खरिद गरिएको छ ।
परियोजनाले सो कृषि फार्मलाई उद्योगको मेसिन खरिदका लागि ५० प्रतिशत अनुदानअन्तर्गत रु २७ लाख २५ हजार र घर निर्माणका लागि ८५ प्रतिशत अनुदानअन्तर्गत रु १२ लाख ७५ हजार प्रदान गरेको छ ।
कार्यालयका सूचना अधिकारी रवीन्द्र निरौलाले रबर उद्योगबाट गुणस्तीय गम, ग्लोब, बेलुन आदि बनाउन सहयोग पुग्ने जानकारी दिनुभयो । उहाँले उद्योगमा करिब सातजना स्थानीयवासीलाई नौ महिनासम्म रोजगारीसमेत प्रदान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आर्थिक वर्ष २०७८/०७९ मा रबर खेती गर्ने साना किसानलाई सहयोग पु¥याउने उद्देश्यले परियोजनाले साना किसान प्राकृतिक रबर उत्पादक सङ्घलाई रबर चोप सङ्कलन गर्ने सामग्री खरिदका लागि रु २० लाख र रबर डस्टिङ मेसिन खरिदका लागि रु पाँच लाख गरी रु २५ लाख अनुदान प्रदान गरेको छ ।
जिल्लामा आव २०७५/०७६ बाट रबर जोन सञ्चालनमा आएसँगै रबर किसानलाई प्रोत्साहन र खेती प्रवद्र्धन गर्नका लागि विभिन्न उपकरण खरिद र नर्सरी स्थापनाका लागि अनुदान प्रदान गरिँदै आएको छ । चार वर्षमा परियोजनाले रबर जोनका लागि मात्र रु दुई करोड ११ लाख ५० हजार विनियोजन भएको रकममध्ये रु एक करोड ५७ लाख १७ हजार ८१० अनुदान प्रदान गरिसकेको छ । जसमध्ये रबर स्मोक हाउस निर्माणमा ८५ प्रतिशत र अन्यमा ५० प्रतिशतले अनुदान प्रदान गरिएको छ ।
झापामा करिब ५०० हेक्टर क्षेत्रमा रबर खेती हुँदै आएको छ । सामुदायिक वन, एग्रो फरेस्ट्रीलगायतका संस्थाले धेरै जग्गामा रबर खेती गरेका छन् भने करेसाबारीमा १० बोटदेखि दसौँ बिघा जग्गामा हजारौँ बोट रबर हुर्काउने किसानको सङ्ख्या झापामा थुप्रै रहेको छ । किसानले खेती नहुने पाखो र बगर जग्गामा रबर लगाएर प्रतिबिघा रु चार लाखसम्म बर्सेनि आम्दानी गर्दै आएका छन् । रबरको चोप मात्र नभएर यसका दाउरा र काठ महँगोमा बिक्री हुने गरेको छ भने रबर खेती लगाएको स्थानमा मौरीपालन फस्टाउने गर्दछ ।
यसअघि कनकाई नगरपालिका–७ मा रु २० करोडको लगानीमा स्थापित कनकाई रबर उद्योग सञ्चालनमा आएको छ । तीन हप्तादेखि परीक्षणका रूपमा सञ्चालन गरिएको उद्योगलाई चाँडै व्यावसायिकरूपमा लैजाने उद्देश्य रहेको सञ्चालक बालकृष्ण सापकोटाले बताउनुभयो । काठमाडौँ र झापाका लगानीकर्ताले साझेदारीमा कनकाई रबर उद्योग स्थापना गरेका हुन् ।
किसानबाट खरिद गरेको रबरको चोपलाई आधुनिक मेसिनमा प्रशोधन गरी पहिलो चरणमा जुत्ता चप्पलमा प्रयोग हुने सोलुसन (टाँस्ने पदार्थ) र रबर सोल उत्पादन गरिने सञ्चालक सापकोटाको भनाइ छ । नेपालमा सयौँको सङ्ख्यामा रहेका जुत्ता चप्पल उद्योगले यहाँबाट उत्पादित सोलुसन र सोल प्रयोगमा ल्याउने सञ्चालकको अपेक्षा छ । हालसम्म ती उद्योगले यस्तो कच्चा पदार्थ भारतको केरला, भियतनाम र थाइल्यान्डबाट आयात गर्दै आएका थिए । रासस