झापामा बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान

झापामा बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान

झापा । विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन् । जसका कारण उनीहरुको आम्दानीको स्रोत घटेको छ ।

मेचीनगर नगरपालिका–१० धुलाबारीका शङ्कर श्रेष्ठले रातभरि गाडी चार्ज गर्दा फुल चार्ज नभएपछि आजकल दैनिक तीन चार घण्टा मात्र कुदाउने गरेको बताउनुभयो । “बिजुली झ्याप्प झ्याप जान्छ, आइहाल्यो भने पनि भोल्टेज हुँदैन”, उहाँले भन्नुभयो, “महँगी बढेको बढ्यै छ, आम्दानी नभएपछि बिहान बेलुका छाक टार्न समस्या भइसक्यो ।”

अटो रिक्सा चलाएर पाँच जनाको परिवारको जीविकोपार्जन गर्दै आउनुभएका श्रेष्ठले सरकारले विद्युत् आपूर्ति नियमित नगरे भोकै बस्नुपर्ने स्थिति सिर्जना हुने बताउनुभयो । विगतमा दैनिक सात घण्टा काम गरेर रु तीन हजार आम्दानी गर्दै आउनुभएको उहाँले हाल सात÷आठ सयमा चित्त बुझाउनुपरेको बताउनुभयो ।

श्रमिक, साना, ठूला उद्योग र आमसर्वसाधारण नियमित विद्युत् नहुँदा आमउपभोक्ता समस्यामा परेका छन् । एक हप्तादेखि अत्यधिक गर्मी बढ्नु र विद्युत् आपूर्ति ठप्प हुँदा उपभोक्ता मारमा परेका छन् । आज बिहान नेपाल विद्युत् प्राधिकरणको धुलाबारी वितरण केन्द्रमा विद्युत् आपूर्ति नियमित गर्न माग गर्दै नेकपा (एमाले) ले वितरण केन्द्र घेराउसहित मागपत्र बुझाएको छ ।

एमालेका जिल्ला सहइञ्चार्ज रविन कोइरालाले उपभोक्ताको नेतृत्व गर्दै प्राधिकरणमा मागपत्र बुझाउनुभएको हो । उहाँले मागपत्रमा छिनछिनमा विद्युत् आपूर्ति रोकिने गतिविधि तत्काल बन्द गर्न र नियमित आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको बताउनुभयो ।

प्राधिकरणका धुलाबारी शाखा प्रमुख इन्जिनियर सुनिलकुमार महतोले आगामी दुई दिनभित्र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले गर्मी याममा सिँचाइ, पङ्खा, फ्रिज र कलकारखाना धेरै चल्दा मागको अनुपातमा आपूर्ति कम भएको हुँदा ट्रान्सफर्मरले लोड धान्न नसकेको जानकारी दिनुभयो ।

एमालेका नगर अध्यक्ष राजु कार्कीले प्रतिबद्धताअनुरूप दुई दिनभित्र विद्युत् आपूर्ति नियमित हुन नसके प्राधिकरणमा तालाबन्दी गर्ने चेतावनी दिनुभयो । रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्