अठार उद्योग विरुद्ध मुद्दा दर्ता गर्ने तयारी

अठार उद्योग विरुद्ध मुद्दा दर्ता गर्ने तयारी

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले १८ उद्योग विरुद्ध मुद्दा दर्ता गर्ने तयारी थालेको छ । उपभोक्ताको स्वास्थ्य हितविपरीत गुणस्तरहिन उत्पादन बजारमा पठाएको आरोपमा उद्योग विरुद्ध मुद्दा दर्ता गरिने भएको हो ।

विराटनगर कार्यालयका प्रमुख राजकुमार रिजालका अनुसार मोरङका ९, सुनसरीका ३, झापा १ र धनकुटाको ६ उद्योगका उत्पादनको नमूना संकलन गरेर परीक्षण गर्दा गुणस्तरहिन पाइएपछि मुद्दा दर्ता गर्ने तयारी थालिएको हो । त्यस बाहेक केहि उद्योगमाथि अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।

दूध तथा दुग्धजन्य पदार्थ, तेल, चिया कफी, चाउचाउ, खाद्यन्न उत्पादन उद्योगहरुको नमूना कार्यालयले संकलन गरेर परीक्षण गरेको थियो । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगर र चारवटा डिभिजन कार्यालयमार्फत बजार अनुगमनका क्रममा नमूना संकलन गरिएको थियो । गत आर्थिक वर्ष प्रदेशका ६०९ वटा उद्योगका उत्पादनको नमूना संकलन र परीक्षण गरिएको थियो ।

गत आर्थिक वर्ष १६ वटा उद्योग विरुद्ध मुद्दा दर्ता गरिएको थियो । मोरङ, झापा र सुनसरीका १६ उद्योग विरुद्ध मुद्दा दर्ता गराइएको कार्यालयका प्रमुख रिजालले जानकारी दिनुभयो ।उत्पादनको नमूना संकलन गरेर ल्याब परीक्षणमा गुणस्तरहिन र न्यून गुणस्तरको खाद्यवस्तु पुष्टि भएपछि अदालत र जिल्ला प्रशासन कार्यालयमा अभियोग दर्ता गरिदैं आएको छ ।

आर्थिक वर्ष २०७८÷२०७९ मा मोरङका ९, झापाका ५ र सुनसरीका २ उद्योग विरुद्ध मुद्दा चलाइएको छ । यसरी मुद्दा दर्ता गरिएका उद्योगहरुमा विराटनगर–१४ मा रहेको बालाजी डेरी उद्योगलाई गत भदौ २७ गते अदालतमा ५० हजार जरिवाना र पाँचवर्ष कैद, विराटनगर–५ को एक्वा एक्टिभ बेभरेज विरुछ ५० हजार जरिवाना वा पाँचवर्ष कैदको माग गरिएको छ । यसैगरी सेन्ट्रल फुड एण्ड खाद्यन्न प्याकेजिङ्गले बिक्रीमा राखेको पोस्ता दाना न्यून गुणस्तरको भेटिएपछि ५० हजार जरिवाना वा पाँचवर्ष कैद वा दुवै सजायको माग दावी गरिएको छ । नेपाल बेलहोप एग्रिटेक प्रालि विरुछ कुखुराको दाना दुषित उत्पादन गरेर बिक्री वितरण गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको छ ।

यसैगरी खेतान चिया उद्योगले उत्पादन गरेको सिटीसी चिया न्यूनगुणस्तरको रहेको पुष्टि भएपछि ५० हजार जरिवाना वा पाँचवर्ष कैदको माग गर्दै अदालतमा, गृहलक्ष्मी फुड इण्डष्ट्रिजको उत्पादन सोया चडक्स लेवल बिना बिक्री बितरणमा पठाइएको भन्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको छ ।

यसैगरी झापाको दमक–९ स्थित पञ्चकन्या फुड, बिर्तामोड–७ मा रहेको स्वरुप फ्रेस नुडल्स, हिमालय फुड एण्ड स्नायक्स उद्योग, बुट्टाबारी टि प्रालि र नेपाल चिया विकास निगम लि विरुद्ध पनि मुद्दा दायर गरिएको छ । यसैगरी सुनसरीको रामधुनी–५ मा रहेको कोशी फिड प्रालि र इटहरी–१३ मा रहेको पूर्वाञ्चल एग्रीटेक प्रालिले उत्पादन गरेको दाना दुषित रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको छ ।
विराटनगरस्थित विराट गोल्छाले उत्पादन गर्ने घ्यू गुणस्तरहिन रहेको भनी गतवर्ष दायर मुद्दामा अदालतले ५० हजार जरिवाना गर्ने फैसला गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्