विराटनगर । डिपार्टमेन्ट स्टोरको कुनै ‘कन्सेप्ट’ नै नभएको बेला पूर्वाञ्चलमा २०५६ साल असार २ गते इटहरीमा खुलेको गोर्खा डिपार्टमेन्ट स्टोर अहिले चार शहरमा शाखासहित सञ्चालनमा छ । गोर्खा ग्रुप बनाएर व्यापारी बलराम आचार्यले उपभोक्तालाई एउटै छाना भित्र किनमेलको वातावरण सिर्जना गरेका हुन् ।
पूर्वमा डिपार्टमेन्टर स्टोरको संख्या बढ्दै गएको छ । तर, गोर्खालाई चुनौती दिनसक्ने अवस्था छैन । कारण, दिलदिमागमा उपभोक्ताका लागि खोलिएको गोर्खा अहिले पनि उपभोक्ताका लागि प्रिय छ । भारतको नागाल्याण्डमा कृषिकर्म गरेर नेपाल फर्केपछि आचार्यले मोरङको जहदामा सुरु गरेको खुद्रे व्यापारको केन्द्रीकृत सफलता गोर्खा डिपार्टमेन्ट मानिन्छ ।
यसको सुरुवात र सञ्चालनसँग जोडिएका धेरै कहानी आचार्यसँग छन् । विराटनगरमा गत साउन १२ गते बिहीबार “उद्यमीका कुरा” कार्यक्रममा आचार्यलाई निम्त्याइएको थियो । त्यस क्रममा आचार्यले आफ्ना विगत र वर्तमान जोडेर भविष्यको मार्गचित्र प्रस्तुत गरे । सहज परियोजनासँंगको सहकार्यमा विकल्प एन अल्टरनेटिभले आयोजना गर्ने गरेको कार्यक्रम थियो ।
हाल इटहरी, पथरी, विराटचोक र दमकमा सेवा दिईरहेको डिपार्टमेन्ट स्टोरको इटहरीमा सुविधा सम्पन्न ४२ कोठा भएको गोर्खा होटल, गोर्खा बेकरी, गाई फारम, दुध उत्पादन, बाख्रा पालन, तरकारी खेती, अण्डा उत्पादन छ । गोर्खाका विभिन्न ठाउँबाट एकहजार ५०० जनाले रोजगारी पाईरहेका छन् ।
आचार्यका साथी खुकुरी तोरीको तेलका संचालक लक्ष्मण तापडि़या थिए । जतिबेला उनले डिपार्टमेन्ट स्टोर खोल्ने योजना लिएर उनी लक्ष्मणका छोरा जीतुसँग पुगे । त्यहाँ योजना सुनाए । जीतुले नगर्ने भनेको स्टोर खोल्न साझेदारीको राकेशलाई गरिएको प्रस्ताव स्वीकार भयो । त्यसपछि इटहरीले संस्थागत व्यापारिक केन्द्र पायो ।
पत्याएनन् कसैले
आफुलाई चिन्ने मानिसहरुले बलराम आचार्यको दिमाग बिग्रिएको आरोप लगाए । ‘यो त मेला लागेको हो, १५ दिन पछि उठी हाल्छ’ समेत भने । इटहरीमा चल्दैन भने । कतिले ग्राहक समेत भड्काए । तर, डिपार्टमेन्टल स्टोरको समय आइसकेकोले सहि विचारको योजनाले अहिलेसम्म आचार्यलाई पछाडी फर्कनु परेको छैन ।
चुनौतीहरु नआएका पनि हैनन् । कोरोनाको समयमा ९५ करोड घाटा बेहोर्नु परेपछि पाँचमध्ये धरानको स्टोर बिक्री गर्नु परेको थियो । धेरैतिर शाखा विस्तार गरेपछि आर्थिक व्यय समेत थिचेर बिक्री गर्नु परेको आचार्य बताउँछन् । द्वन्द्वको समयमा समेत असर नपरेको गोर्खालाई कोरोनाकालले केहि धक्का दिएको थियो ।
प्रतिस्प्रर्धाले प्रगति थप्छ
गोर्खापछि भाटभटेनीले आफ्नो सेवा पूर्वमा विस्तार गरो । जसले गोर्खालाई असर पु¥याउने भएपनि प्रतिस्प्रर्धाले प्रगति थपिदिएको अध्यक्ष आचार्यको दावी छ । प्रतिस्प्रर्धा र चुनौती सधैं रहने प्रक्रिया हुन्, आचार्य भन्छन्–भाटभटेनी खुल्दा गोर्खा बन्द हुन्छ भन्नु भ्रम थियो । अहिले १८ देखि ३२ प्रतिशत व्यापार बढेको छ । आचार्यका बुझाईमा व्यापारिक महलको संस्कृति उपभोक्तामा थपिदिएपछि त्यसको फाइदा सबैलाई पुग्ने हो । त्यहि फाइदा भाटभटेनीले गोर्खालाई पु¥याएको छ । आचार्यले विदेशी भन्दा पहिले नेपाली उत्पादनलाई प्राथमिकता दिने गरेका छन् । ‘पुस सेल नभएर सेल्फ सेल’ भएका कारण पनि उपभोक्ताको रोजाईमा गोर्खा पर्दै आएको छ । उनले भने स्थानीय उत्पादनलाई व्यापारमुखी बनाउने हो भने त्यसको प्रभाव नेपाली अर्थतन्त्रमा सकारात्मक पर्छ । व्यापार नैतिक हुनु पर्दछ भन्ने विचार राख्ने आचार्य राज्यको नीतिले कहिलेकाँहि असर पार्ने गरेको बताउँछन् । यो देशले सामान निर्यात गर्नु पर्ने थियो, दुर्भाग्यवस हामीले समान उत्पादन गर्ने जनशक्ति निर्यातमा लागेका छौं, आचार्यले भने–राज्यले नेपालमा उत्पादन बढाउन जनशक्ति रोक्ने नीति ल्याउनुपर्छ ।
नागाल्याण्डबाट नेपाल फर्के
जन्मभूमिसँग माया भएकै कारण भारतको नागाल्याण्डमा स्थापित कृषि पेसा त्यागेर आचार्य नेपाल फर्केका थिए । हालसम्म नागाल्याण्डमा उनले बसाएको बलराम वस्ती जीवित नै रहेको बताउँछन् । खोटाङको दोर्पामा २०१४ साल चैत १३ गते जन्मिएका आचार्यले त्यहिं कक्षा ८ सम्मको अध्ययन गरेका हुन् । कक्षा ८ सम्मको पढाई सकाएर उनी पढाईका लागि नागाल्याण्ड गएका थिए । त्यहिं उनी कृषि पेसामा आवद्ध भए । १४०० बिघा जमिन लिजमा लिएर १७३ बिघामा खेति बसाएका थिए । उनी गएपछि त्यहाँ नेपालीको संख्या बढ्यो ।
नागाल्याण्डको चारआली भन्ने ठाउमा ५–७ वटा दोकान थिए । जसमा एउटा पसल मारवाडीको थियो । उनले त्यहिं व्यापार सिकेका थिए । खेतिको समय बाहेक उनले मारवाडीको पसलमा सित्तैमा काम गरेर व्यापारको ज्ञान लिएको सुनाउँछन् । नागाल्याण्डमा व्यवस्थित बसाईमा रहेका आचार्य नेपाल फर्कनुमा आमाको हात थियो । पैसा भन्दा ठुलो मातृभूमि र आफ्ना आफन्त हुन् भन्ने ज्ञान आमाले दिएपछि नेपाल २०४० सालमा नेपाल फर्केको सुनाए ।
त्यसपछि पहाडबाट मधेशको यात्रा
पहाडबाट मधेस झरेका बुवाआमासँग मोरङको जहदा गा.बि.स.मा बसाइ सुरु गरे । जहदाको आइतबारेमा पसल खोले । त्यसबेला पसल खोल्दा सबैले हाँसेर उडाई दिए । जहदा आएको डेढ महिना भित्र किराना पसल र धान खरिद बिक्री सुरु भयो । पहिलो दिन २१ रुपैँयाको बिक्री पनि भयो । क्रमशः ६ ठाउँमा काँटाहरु विस्तार गर्दै दैनिक ३० ट्रक धानको खरिद बिक्री सुरुभयो । आसपासका पाँच गाविसमा किसानले उत्पादन गरेको धान आचार्यले नै खरिद बिक्री गर्न थाले । यसरी सुरु गरेको व्यापार अहिले डिपार्टमेन्टल स्टोरमा परिणत भएको छ । उनलाई अहिले परिवारले पनि साथ दिएको छ ।