इटहरी । सुनसरीको इटहरी–४ का २० वर्षीय सुमन तामाङको हत्यामा संलग्न आरोपी डम्बरबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ ५ गते राती बुढीखोलाको छेउमा तामाङलाई सख्त घाईते हुनेगरि आक्रमण गरिएको थियो । उपचारका क्रममा तामाङको मृत्यु भएपछि घटनामा संलग्न अन्यलाई प्रहरीले पक्राउ गरेको थियो ।
यस अगाडी घटनामा संलग्न अभियुक्तहरु राज मगर, ववि नारायण चौधरी, अर्जुन बि.क.लाई प्रहरीले पक्राउ गरेर अनुसन्धानपछि अदालतमा मुद्दा दर्ता गरिएको थियो । उनीहरु विरुद्ध पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो ।
घटनाको मुख्य योजनाकार बिर्ख भन्ने भुजेल भने फरार रहेका थिए । उनलाई शुक्रबार प्रहरीले घर नजिकैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिइएका छन् ।
तामाङलाई इटाले हिर्काएर उनीहरको समूहले घाइते बनाएका थिए । प्रहरीले उनको उपचारका लागि कोसी अस्पताल विराटनगरमा पठाएको थियो । उपचारका क्रममा तामाङको मृत्यु भएपछि घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिइएको थियो । संलग्न मध्ये भुजेल फरार रहेका थिए ।