विराटनगर । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेको उदयपुरको बेलका नगरपालिका–८, ९, १, २, ३ नम्बर वडाको क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको छ । वस्तीमा नदी पस्दा दुई हजार घरपरिवार प्रभावित बनेका छन् । मानवीय क्षति रोक्नका लागि बाँध फुटेको स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अहिले बेलका–८ लाहुरे खोंच डुम्रीबोट क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । बुधबार बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । जसको असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा सतर्कता अपनाइएको छ ।
हामीले सुनसरी र सप्तरीको प्रशासनिक तथा सुरक्षा संयन्त्रसँग समन्वय गरिरहेका छौं, प्रमुख जिल्ला अधिकारी यादवले भन्नुभयो–जोखिम बढ्दै गएकोले सतकर्तामा जोड दिएका छौं ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ डुबानमा परिसकेको छ । नदीको धार पुरानो ठाउँमा फर्कने संभावना देखिएको छ । जसको असरमा धेरै परिवार पर्नेछन् । प्रमुख जिल्ला अधिकारी यादवले भन्नुभयो–मानवीय क्षति रोक्न निषेधित क्षेत्र घोषणा गरेर उद्धारको काम भईरहेको छ । त्यहाँका वासिन्दालाई स्थान्तरण गराउने कार्य भईरहेको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा लागेका छन् । पानीको सतह बढ्दै गएकोले जोखिम देखिएको छ ।
नदी कटानले बहाव गाँउतिर पसेको हो । यदि पानीका सतह बढ्दै गए चार हजार घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ । जोखिम क्षेत्रको रेखाङ्कनसँगै त्यहाँका नागरिकलाई सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो । अहिले सतर्क रहनका लागि र अतिआवश्यक सामान तथा चौपायलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न आग्रह गर्दै माइकिङ गरिएको छ ।