सप्तकोशी कटान क्षेत्रमै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्दै

सप्तकोशी कटान क्षेत्रमै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्दै

विराटनगर । सप्तकोशी नदीले धार परिवर्तन गरेर प्रभावित भएको उदयपुरको बेलका नगरपालिकामा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहितको टोलीले त्यहाँ पुगेर स्थलगत निरीक्षण गर्नु भएको हो ।

सप्तकोशी नदी पश्चिमतर्फको बाँध कटान क्षेत्रको स्थलगत निरीक्षणपछि तत्काल त्यहाँ बैठक राखेर नागरिकको उद्धार, राहत र संरक्षणको योजना बनाईने भएको हो । अनुगमनमा मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरु, मोरङ, सुनसरी र उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, स्थानीय तहका प्रमुखहरु सहभागी हुनुहुन्छ ।

कटान क्षेत्रमा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सुनसरीका प्रजिअ इन्द्रदेव यादव र उदयपुरका प्रजिअ विरेन्द्रकुमार यादव, बेलका नगरपालिकाका प्रमुख अशोक कार्की, सप्तकोशी नगरपालिकाका कृष्ण्प्रसाद ढकाल र कञ्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ता तथा सशस्त्र र नेपाल प्रहरीका अधिकारीहरु घटनास्थलमा उपस्थित छ ।

सप्तकोशीबाट बस्ती क्षेत्रमा पसेको पानीले बेलका नगरपालिका तथा सप्तरीका कञ्चनरुप र सप्तकोशी नगरपालिकामासमेत क्षति गर्न सक्ने भएकोले त्यहाँका सर्वसाधारणलाई उचित स्थानमा सार्ने काम भईरहेको छ । स्थानीय तहका प्रमुखहरुले प्रभावित नागरिकको सुरक्षामा सहयोग गर्न सरकारसँग माग गरेका छन् ।

कटान क्षेत्रको स्थलगत निरीक्षण गर्न पुग्नुभएका मन्त्री कार्कीले प्रभावित क्षेत्रमै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको जानकारी दिनुभयो । अनुगमनका क्रममा सप्तरीको कञ्चनरुप र सप्तकोशी नगरपालिकाका प्रमुखहरु ललनप्रसाद गुप्ता र कृष्णप्रसाद ढकालले दुई नगरपालिकाका झण्डै ३२०० परिवार प्रभावित हुने भएकोले उनीहरुलाई सुरक्षित स्थानमा सार्न माग गर्नु भएको छ ।
२०४५ सालमा सप्तकोशी नदी बहने पुरानै भंगालोको स्पर भत्काएर नदीले धार परिवर्तन गरेको हो । त्यहाँ लगाएको बाँध भत्काएर बस्तीमा पसेको छ । निरीक्षणका क्रममा नदीले झण्डै १५० मिटर बाँध कटान गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्