इलामका किसानले दिन्छन् ‘ओभर टाइम’ रोजगारी

इलामका किसानले दिन्छन् ‘ओभर टाइम’ रोजगारी

विराटनगर । झापा बुद्धशान्ति गाउँपालिका–४ का महेश लिम्बु साउन अन्मितदेखि भदौभर रोजगारीका लागि इलाम पुग्नुहुन्छ । इलाममा उत्पादित अलैंची टिप्ने समय आएपछि पछिल्लो पाँच वर्षयता कृषि मजदुरको रुपमा लिम्बुले किसानबाट रोजगारी पाउँदै आउनु भएको हो ।

रोजगारीका लागि मलेसिया र दुबई बसेर फर्कनु भएका लिम्बुलाई इलामका किसानले दिनभरको रोजगारीसँगै ‘ओभर टाइम’ काम समेत दिने गरेका छन् । बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म अलैंची टिपेको रकम बाहेक एककेजी अलैंची छोडाउँदा ५ रुपिँया थप पाउने सुविधा समेत छ । ‘बिहान ७ बजेदेखि ४ बजेसम्म अलैंची टिप्छौं’ लिम्बुले भन्नुभयो–मेलाको कामपछि घरमै बसेर छोडाउँदा प्रतिकेजी ५ रुपिँया समेत कमाईहुन्छ ।

महेश जस्तै पुरानो थातथलो ताप्लेजुङ छोडेर झापा स्थान्तरण हुनु भएका भगेश्वर इदिङ्बोको दैनिकी पनि जस्तै छ । धान रोपाँई सकिएपछि बाल्यकालमा अलैंची टिप्न सिकेको सीप इलामका किसानलाई बेचेर आम्दानी लिदैं आउनु भएको छ । झापामा साउनपछि कार्तिकसम्म काम हुँदैन, भगेश्वरले भन्नुभयो–इलाम आएपछि यो अवधीभर काम पाइन्छ ।
खोल्साको कालो सुन भनेर चिनिने अलैंची अहिले खेतबारीमा रोप्न थालिएको छ । चिसो र ओसिलो जमिनमा मात्रै हुन्छ भन्ने मान्यता तोड्दै पहाडका बेंसी र फाँटमा अलैंची फल्न थालेको छ । लेकमा पाक्ने समय भईनसकेपनि बेंसी (औल) का किसानलाई अहिले अलैंची भित्र्याउने हतारो छ ।

इलामको रोङ गाउँपालिका–३ का किसान राम आचार्यका अनुसार पहाडको पुरानो बेंसीमा धान र मकै विस्थापित गरेर अलैंची खेती लगाइएको छ । बहुसंख्यक किसानका खेतमा अलैंची पाक्ने भएपछि कृषि मजदुरको अभाव हुने गरेको छ । थोरै खेतबारी र धेरै पाखो भएका स्थानीयले अहिले खेतबारीसँगै पाखामा अलैंची लगाएका छन् । किसानले लगाएको अलैंची भित्र्याउने समय आएसँगै प्रत्येक घरका लागि कृषि मजदुरको जरुरी पर्छ ।
जनशक्ति अभाव भएपछि झापाबाट खेताला झिकाउने चलन सुरु भएको हो । पुरानो थातथलो पाँथचर र ताप्लेजुङ भएर झापा बसाँई झरेकाहरुले अलैंची टिप्ने सीप राख्दछन् । उनीहरुको सीपलाई इलामका किसानले फलाएको अलैंची बारीमा सदुपयोग गर्ने अवसर सिर्जना भएको हो ।

रोङ गाउँपालिका–३ सिम्लेमा अलैंची टिप्न जानु भएका श्याम लिम्बुले एक महिनाभर इलामका किसानबाट रोजगारी पाउने गरेको सुनाउनुभयो । उहाँका अनुसार खाना र बस्ने सुविधा दिएर दैनिक ६ सय रुपिँया र ओभर टाइमको छुट्टै पैसा पाइने गरेको छ ।
रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबोका अनुसार अलैंची रोप्न थालेपछि किसानको दैनिकी सहज हुँदै गएको छ । अलैंची उत्पादनका लागि निश्चित अवधी मात्रै काम गर्नुपर्ने भएकोले किसानको दैनिक जीवनमा परिवर्तन ल्याएको उहाँको दावी छ । रोङ गाउँपालिकामा मात्रै वार्षिक एकलाख २३ हजार ७०८ केजी (३ हजार मन) अलैंची उत्पादन हुने गरेको तथ्यांक छ ।

अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सुवास भट्टराईका अनुसार गत आर्थिक वर्ष पाँच अर्ब बराबरको अलैंची निकासी भएको थियो । उत्पादनमा केहि कमी र मूल्य न्यून भएका कारण अघिल्लो आर्थिक वर्ष २०७७÷२०७८ भन्दा झण्डै एक अर्ब कमको निकासी भएको थियो । उपाध्यक्ष भट्टराईका अनुसार अहिले अलैंचीको मूल्य ३२ हजार प्रतिमन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्