विराटनगर । एक दर्जन उद्योग स्थापना गरेर त्यसको सफल सञ्चालन गरिसकेका दीनबन्धु गोयल अहिले उद्योगी भन्दा सामाजिक अगुवाको रुपमा परिचित छन् । औद्योगिक जीवनबाट ‘रिटायर्ड’ घोषणा गरेर उनले समाजसेवाको यात्रा समाएका हुन् ।
उद्योग–व्यापारबाट बिश्राम लिएपनि सामाजिक क्षेत्रमा क्रियाशिल गोयल दुःख मा साथ दिने उद्योगीको रुपमा चिनिन्छन् । झापाको भद्रपुरमा २००५ बैशाख १८ गते जन्मिएका उनले २०२६ सालमा दार्जिलिङ्गको सरकारी कलेजबाट बीएससी गरेका थिए । त्यसपछि डाक्टर बन्ने सपना थियो । सामान्य आयआर्जन भएको गोयल परिवारसँग किराना पसलको भरथेग थियो । डाक्टर बन्ने सपना रोकियो र उद्योग–व्यापारमा बढ्यो ।
उनी २०२६ सालदेखि विराटनगरमा बसोबास गर्दै आएका छन् । विराटनगर–११ मा बसोबास गर्दै आएका उनी अहिले सामाजिक क्षेत्रमा कहलिएका अगुवा मानिन्छन् ।
उद्योग व्यापार सुरु गरेको अवधीभर झापाकै पहिलो मेची पेट्रोलपम्म(हनुमान पम्प) विर्तामोडमा सञ्चालनदेखि सुरु भएको यात्रा साबुन, बिस्कुट, मिश्री, कन्स्ट्रक्सन, पोलिथिन, कोरोगेटेट कार्टुन, मैनबत्ति, टेक्सटाइल, आइरन, गार्मेन्ट, सिमेन्ट र कोशी पेट्रोकेमिकल्स समेत सञ्चालन गरिसकेको अनुभव छ । तर, अहिले ती उद्योगसँगको सम्बन्ध यथावत् छैन । आफूले स्थापना गरेको बाहेकको सम्बम्ध नराखेरै उद्योगी गोयलले मुनाफासँग जोडिएको दैनिकीलाई सेवासँग गाँसेर आनन्द लिने गरेका छन् ।
‘सामाजिक जीवनले मलाई ईज्जत दियो’ उद्योगी गोयलले आफ्नो घरको ¥याकमा राखेका सम्मानपत्र देखाउँदै भने–जहिल्यै मुनाफामुखी दैनिकी हुनुपर्छ भन्ने छैन । उद्योगी गोयललाई अहिलेसम्म दुईसय संघसंस्थाले कदरस्वरुप सम्मान गरिसकेका छन् । जसको प्रमाण उनले आफ्नो घरमा सजाएर राखेका छन् । ‘मलाई माया साट्दै दिइएको सम्मानपत्र नै अहिलेको लागि मेरो खुशी साँट्ने माध्यम हुन्’ गोयल भावुक हुँदै भने–जीवन दौडधुप मात्रै हैन, आनन्द र आराम पनि हो ।
गोयल ३२ वटा संघसंस्थामा अहिले पनि आवद्ध छन् । ती संस्थामा कुनै न कुनै भूमिका निर्वाह गरिरहेका छन् । त्यस बाहेक एकसय बढी संस्थालाई सहयोग गर्दै आएका छन् । यीमध्ये धेरै विद्यालयमा अध्ययनरत विद्यार्थी छन् ।
दाजुको नाममा समाजसेवा
जन्मदिने आमा र कर्मदिने बाबु सधैं सबैका लागि सर्वोपरी हुन्छन् । उद्योगी गोयल बुबा स्व.जुगलकिशोर र आमा स्व.नारायणीका साइंला छोरा हुन् । तर, उनको जीवनमा आमा–बुबा भन्दा बढी प्रेरणा माइला दाजु ओमप्रकाश गोयलबाट प्राप्त भएको छ । दाजुको निधनपछि उनकै स्मृतिमा सामाजिक कार्य गर्दै आएका छन् ।
सामान्य आर्थिक अवस्थाबाट सुधारिएको आर्थिक अवस्थाको स्तर प्राप्त गर्नुमा समाजको कुनै र कुनै योगदान हुने बुझाई उद्योगी गोयलको छ । समाज भित्रैबाट आर्जन गरेको सम्पति समाजतर्फ फर्काउन सक्दा मात्रै आफ्नो जीवनले सार्थकता पाउने उनको भनाई छ । झापाको भद्रपुरमा हुर्कनु भएका गोयलले अहिले पनि आफ्नो जन्मथलोलाई बढी माया गर्दै आउनु भएको छ ।
घरका एक्ला, समाजका अगुवा
उद्योगी गोयलको घरायसी जीवन अहिले एक्लो छ । श्रीमती उषादेवी अग्रवाललाई ब्रेनहेमरेज भएपछि पाँचौं पटकको शल्याक्रियाबाट जीवन फर्केको छ । उहाँ छोरी जुहीसँग जयपुरमा बस्दै आउनु भएको छ । दुई छोरा अनुराग र अभिषेकले नेपालको नागरिकता समेत त्याग गरिसकेका छन् ।
श्रीमती बाहेक व्यक्तिगत र घरायसी दायित्व अर्को छैन, उद्योगी गोयलले भने–समाज विराटनगमा छ, माया जयपुरमा । उद्योगी गोयल आवश्यक पर्दा जयपुर जाने र त्यहाँको काम सकेपछि पुनः विराटनगर फर्कने गरेको सुनाउनुहुन्छ ।