प्रतिनिधिसभा : नागरिक विधेयकमाथिको छलफल जारी

प्रतिनिधिसभा : नागरिक विधेयकमाथिको छलफल जारी

काठमाडौं । नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथिको छलफलमा सांसदहरुले पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले आ आफ्ना धारणा व्यक्त गर्नुभएको हो ।

सन्देशसहित फिर्ता भएको विधेयकलाई जस्ताको तस्तै पारित गर्नुपर्ने र राष्ट्रिय सहमति कायम गरी पारित गर्नुपर्ने उहाँहरुको तर्क छ । बैठकमा सांसद प्रदीप ज्ञवालीले विधेयकलाई ‘हेडकाउण्ट’का आधारमा नभइ राष्ट्रिय सहमतिका साथ पारित गर्नुपर्ने बताउनुभयो ।

सांसद मीनबहादुर विश्वकर्माले हिजो के बोलेको हो आज त्यही विषय स्मरण गरी विधेयक पारित गर्न आग्रह गर्नुभयो । सांसद कृष्णभक्त पोखरेलले विधेयक पारित गर्न न्यूनतम् सहमति खोज्न आग्रह गर्नुभयो । सांसद सत्य पहाडीले सबै पक्षमा समान छलफल गरेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने जनाउँदै तत्काल सोही रुपमा नै पारित गर्न आग्रह गर्नुभयो ।

सांसद पदम गिरीले यसअघि विधेयक पारित गर्दा राज्य व्यवस्था समितिले छलफल गरी तयार गरेको प्रतिवेदन कार्यान्वयन नभएको आरोप लगाउनुभयो । सांसद यशोदा गुरुङ सुवेदीले संशोधित विधेयक पारित नभए नागरिकता ऐन २०६३ कायम रहने उल्लेख गर्दै यसलाई क्रियाशील हुनबाट रोक्न संशोधित विधेयक पारित हुनु आवश्यक छ भन्नुभयो ।

सांसद डा शिवमाया तुम्बाहाम्फेले संविधानले नै सबै नागरिकलाई नागरिकता दिने व्यवस्था गरेको जनाउँदै विधेयक राष्ट्रिय सहमतिका साथ अगाडि बढाउनुपर्छ भन्नुभयो ।

सांसद भरत कुमार साहले नागरिकता नपाएका कारण लाखौँ नागरिक अनागरिक भएर बसेका उल्लेख गर्दै नागरिकता ऐन ल्याएपछि धेरै कुरा समाधान हुने विश्वास व्यक्त गर्नुभयो । सांसद रामसहायप्रसाद यादवले वर्षौंदेखि नेपाली नागरिक अनागरिक भएर बसेको अवस्थामा तत्काल संशोधित विधेयक पारित गर्नुपर्छ भन्नुभयो ।

सांसद दुर्गा पौडेलले विवाह गर्दैमा तत्काल नागरिकता पाउन योग्य भएको कुनै पनि देशले स्वीकार नगर्ने उल्लेख गर्दै यो विधेयकलाई खारेज गर्न आग्रह गर्नुभयो । सांसद शेरबहादुर तामाङले सबै नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने जनाउँदै मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता मुलुकमा बस्ने नागरिकले नै संरक्षण गर्नुपर्छ भन्नुभयो । सदनमा नागरिकता विधेयकमाथिको छलफल जारी छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्