दाल प्रशोधन गर्न पचास करोडको लागतमा उद्योग, भान्सामा फरक स्वाद पस्कने जमर्को

दाल प्रशोधन गर्न पचास करोडको लागतमा उद्योग, भान्सामा फरक स्वाद पस्कने जमर्को

विराटनगर । पाँच किसिमको दाल प्रशोधन गरेर बजारमा बिक्री वितरण गर्ने उद्देश्यसहित मोरङको बुढीगंगा–५ हात्तिमुढामा ५० करोडको लगानीमा नयाँ उद्योग सञ्चालनमा आएको छ । तीनजना साझेदारको संयुक्त लगानीमा जैन फुड्स प्रशोसिङ्ग प्रा.लि. मार्फत गुणस्तरीय दालको उत्पादन सुरु गरिएको हो ।

नेपाली भान्सामा गुणस्तरीय दाल पु¥याउने र नेपालमा बेसन उत्पादन गर्ने लक्ष्यसहित मंगलबार उद्योगको उत्पादन सार्वजानिक गरिएको छ । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र उद्योगी मोतीलाल दुगडले उद्योगले उत्पादन गरेको उपहार ब्राण्डको दाल बजारका लागि बिक्री खुल्ला गरिएको घोषणा गर्नुभएको हो ।

मोरङ व्यापार संघका अध्यक्ष रिजालले सुनसरी–मोरङ औद्योगिक करिडोरमा ठूलो लगानीमा उद्योग स्थापना भएको बताउनुभयो । उहाँले नेपाली भान्सामा गुणस्तरीय दाल पु¥याउने चुनौतीलाई उद्योगले चिर्ने दावी गर्नुभयो ।
उद्योगले मुसुरो, चना, मटर, मास र मुग दाल प्रशोधन गरेर आवश्यकता अनुसारको प्याकेजिङ्गमा बजार पठाउन थालेको सञ्चालक अमितकुमार जैनले जानकारी दिनुभयो । घरायसी प्रयोजनका लागि सानो प्याकेट र सामूहिक खपतका लागि २५ केजीको ठूलो प्याकेटमा दाल बजारमा बिक्री वितरण गरिने भएको छ ।

उद्योगले प्रतिघण्टा २ दशमलव ५ टन क्षमतामा दालको प्रशोधन गर्ने दावी सञ्चालकको छ । गुणस्तर र पोषणयुक्त दालको उत्पादन गरेर प्रदेश १ र २ को बजारमा बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ । उद्योगका सञ्चालक जैनका अनुसार निकट भविष्यमै अटोमेटिक प्याकेजिङ्ग र बेसन प्लान्ट थपिनेछ ।
कच्चाको लागि नेपाली उत्पादन ५० प्रतिशत र आयातित ५० प्रतिशतको भर रहेको अर्का सञ्चालक चन्दन जैनले जानकारी दिनुभयो । कच्चा प्रशोधनका लागि उद्योगले छ प्रकारको विधी अपनाउने छ । ‘हामीले नेपालमै गुणस्तरीय दालको ब्राण्ड बजारमा लैजाने तयारी गरेका छौं’ सञ्चालक जैनले भन्नुभयो–कच्चा दाल धुने, सुकाउने, बोक्रा हटाउने, ग्रेडिङ्ग, सर्टिङ्ग र प्याकेजिङ्गको विधी मेशिनबाटै हुनेछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागबाट स्वीकृति लिएर उत्पादन गरेको दाल थोक, खुद्रा र स्वतन्त्र बिक्रेतामार्फत उपभोक्तासम्म पठाउन लागिएको हो । उद्योगका अर्का साझेदार पंकज दुगडले कुनैपनि प्याकेजिङ्गमा कैफियत रहन नदिने गरि उद्योगमै ध्यान दिने भएका कारण गुणस्तरमा कसैले झुक्किनु नपर्ने दावी गर्नुभयो ।

दाल प्रशोधनसँगै उद्योगले बेसन प्लान्ट समेत लगाउने भएको छ । सुरुमा पाँच प्रकारका दाल बजारमा ल्याएको उद्योगले २२ प्रकारको दाल ल्याउने दावी गरेको छ । दाल उद्योगले बेसन समेत उत्पादन गर्नसक्ने छ । स्थानीय कच्चा बाहेक अष्ट्रेलिया, युक्रेन, म्यानमार, क्यानडाबाट बाँकी कच्चा आयात गरिने अपरेशन मेनेन्जसर अरिहन्त जैनले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्