चाडपर्व आयो : विराटनगर बजारमा तस्करीका सामान, लक्ष्य नपुगेर हैरान भन्सार

चाडपर्व आयो : विराटनगर बजारमा तस्करीका सामान, लक्ष्य नपुगेर हैरान भन्सार

विराटनगर । चाडपर्व नजिकिएसँगै सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न प्रहरीले निगरानीमा कडाई गरेको छ । आठ महिना अगाडी भारतको मीरगञ्ज पुल भत्केपछि वैधानिक पैठारीका लागि रि–रुट भन्टाबारी गर्नुपर्ने अवस्थाले खुल्ला सीमानाकाबाट तस्करी बढ्दै गएपछि प्रहरीले निगरानी बढाएको दावी गरेको हो ।

मीरगञ्ज पुल गतवर्षको पुस २२ गतेदेखि बन्द रहेको छ । भारतीय पक्षले केहि समयमा यो पुल सञ्चालन हुने आश्वासन दिएको छ । तर, पुल सञ्चालन नहुँदा प्रमुख भन्सार नाका विराटनगरको राजश्व लक्ष्यको तुलनामा कम संकलन भईरहेको छ ।
चाडपर्वको मुख्य सिजन साउन, भदौ र असोजमा भन्सारको राजश्व लक्ष्य अनुसार संकलन हुने गरेको थियो । तर, चालु वर्षको साउन र भदौमा लक्ष्य अनुसारको संकलन हुन सकेको देखिदैन । चालु आर्थिक वर्षको साउनमा ८१ प्रतिशत र भदौको दोस्रो हप्तासम्म लक्ष्यको ६५ प्रतिशत मात्रै राजश्व संकलन भएको देखिन्छ । चालु आर्थिक वर्षका लागि विराटनगर भन्सारको लक्ष्य ६० अर्ब ३ करोडको छ । यसमा सुनसरीको भन्टाबारीबाट रि–रुट पैठारी गर्नुपर्ने बाध्यताले प्रभाव पारिरहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाको दावी छ । मीरगञ्ज पुल भत्केपछि विराटनगर भन्सारबाट हुने वैधानिक पैठारीको २४ प्रतिशत ‘डाइभर्ट’ भएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्ष ४९ अर्बको लक्ष्यमा ४० अर्ब मात्रै राजश्व संकलन भएको थियो ।

साउनमा तीन अर्ब ६४ करोड लक्ष्यमा २ अर्ब ९५ करोड राजश्व संकलन भएको छ । भदौमा ४ अर्ब ७६ करोडको लक्ष्य छ । चालु अवधीसम्म ६५ प्रतिशत मात्रै राजश्व संकलन हुने अनुमान गरिएको छ । असोजमा ५ अर्ब ५ करोडको लक्ष्य रहेको छ । दैनिक १६ करोड ५ लाख राजश्व संकलन गर्नुपर्ने भन्सार कार्यालयले भदौमा ८ करोडको हाराहारीमा मात्रै संकलन गरिरहेको छ ।
खुल्ला सीमानाकाबाट हुने अवैध पैठारीले समेत भन्सार राजश्वलाई प्रभावित बनाईरहेको भन्सार प्रमुख सापकोटा बताउनुहुन्छ । भारतसँग एलसी खोलेर मात्रै सामान ल्याउन पाउने प्रावधानका कारण वैधानिक बाटोबाट हुने व्यापार बन्द जस्तै भएको उहाँको भनाई छ ।

प्रहरीले खुल्ला सीमाबाट हुने अवैध व्यापारमा निगरानी बढाएको दावी गरेको छ । मोरङ प्रहरीको तथ्यांक अनुसार चालु वर्षको साउन र भदौ २० गतेसम्म भन्सार कार्यालयमा ३८ लाख ८३ हजार ४०५ रुपिँया बराबरको अवैध सामान दाखिला भएको छ । नेपाल प्रहरीले साउन महिनामा २८ वटा मुद्दामा २५ लाख ७१ हजार मूल्य बराबर सामान दाखिला गरेको छ । यस्तै भदौमा ४ वटा मुद्दामा ९ लाख ७६ हजार मूल्य बराबरको सामान बुझाएको छ । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार भन्सार बाहेक राजश्व अनुसन्धान इकाई कार्यालयमा १७ वटा ट्रक र ४ वटा ट्याक्टरसहित ८ करोड ६ लाख नौ हजार ९०६ रुपिँया बराबरको सामान अनुसन्धानका लागि बुझाइएको छ । गत आर्थिक वर्ष २०७८-२०७९ मा मोरङ प्रहरीले ३९७ वटा मुद्दामा ३ करोड ५५ लाख ४७ हजार मूल्य बराबरको सामान भन्सारमा दाखिला गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

सीमा सुरक्षामा चासो देखाउनु पर्ने सशस्त्र प्रहरी भन्दा नेपाल प्रहरीले अवैध सामान नियन्त्रणमा लिन सफलता बढी पाएको तथ्यांकले देखाउँछ । विराटनगर भन्सारमा चालु आर्थिक वर्षको साउनमा २६ वटा मुद्दामा २३ लाख ११ हजार मूल्य बराबरको सामान दाखिला गरेको छ । भदौको हालसम्मको अवधीमा १२ वटा मुद्दामा ५ लाख ४७ हजार मूल्य बराबरको सामान दाखिला गरेको छ । गत आर्थिक वर्ष सशस्त्र प्रहरीले २३८ वटा मुद्दामा २ करोड ६८ लाख ९७ हजार मूल्य बराबरको सामान दाखिला गरेको तथ्यांक छ ।

तर, भन्सार कार्यालयका प्रमुख सापकोटाले भने नेपाल प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएको सामान जाँचपास भईसकेको मात्रै रहेको आरोप लगाउनुभयो । प्रहरीले अवैध पैठारीलाई सहयोग गरेर वैध पठारीलाई असजिलो पारिरहेको उहाँले बताउनुभयो । भारतबाट आउने सामान भन्सारको बाटोबाट प्रवेश भएका छैनन्, भन्सार प्रमुख सापकोटाले भन्नुभयो–विराटनगरका बजारमा भारतमा उत्पादन भएका सामानको अभाव पनि छैन । उहाँले सीमाबाट हुने अवैध कारोबारमा सुरक्षा संयन्त्रको मिलेमतो भएको आशंका रहेको आरोप लगाउनुभयो ।
मीरगञ्ज पुल भत्केपछि वैधानिक व्यापार गर्दै आएका व्यापारीले समेत अवैध रुपमा मालवस्तु भित्र्याउने गरेको प्रहरीको बुझाई छ । भन्सार नाकादेखि छ किलोमिटरमा भारतको मीरगञ्ज पुल पर्दछ । मीरगञ्ज पुलसम्म आएको सामान त्यहि अनलोड गरेर अन्य ढुवानीका सवारीमार्फत सीमा कटाउने गरिएको दावी प्रहरीको छ ।

औद्योगिक कच्चा पैठारीकर्ताले अवैध रुपमा वस्तु वारपार गर्न नसक्ने भएपनि व्यापारीले मालवस्तु क्यारिङ्ग गर्ने संभावना धेरैछ । लत्ताकपडा, खाद्यन्न, कन्फेसनरीका आईटम, रेजिनका सामाग्री, स्टेशनसरी र औषधी समेतको अवैध आयात बढेको व्यापारीहरुको गुनासो छ । अवैध आयात भएका सामानले बजारमा पकड जमाउँदा वैधानिक रुपमा आयात भएका सामानको व्यापारमा मन्दि आउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्