विराटनगरमा औद्योगिक सर्वेक्षण नतिजा सार्वजानिक, कोरोनाकालपछिको छैन तथ्यांक

विराटनगरमा औद्योगिक सर्वेक्षण नतिजा सार्वजानिक, कोरोनाकालपछिको छैन तथ्यांक

विराटनगर । राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने औद्योगिक सर्वेक्षणको हालसालको तथ्यांक नहुँदा कोरोनाकालपछिको औद्योगिक अवस्था बारे जानकारी लिन असजिलो हुने गरेको छ । राष्ट्रिय तथ्यांक विभागले औद्योगिक सर्वेक्षण–२०७६ को विवरण भर्खर मात्र सार्वजानिक गर्दैछ । तथ्यांक विभागले बुधबार विराटनगरमा राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को प्रदेशस्तरीय नतिजा सार्वजानिक गरेको हो ।

यसमा खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, बिद्युत ग्याँस, बाफ तथा वातानुकूलित सेवा र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्षेत्र समेटिएका छन् । तथ्यांक विभागका निर्देशक बिनोदशरण आचार्यले कोरोनाकालपछिको औद्योगिक अवस्था बारे सार्वजानिक नतिजाले कुनै सूचक प्रस्तुत गर्न नसक्ने त्यस क्रममा जानकारी दिनुभयो ।
तथ्यांक विभागले सार्वजानिक गरेको नतिजा आर्थिक वर्ष २०७५÷२०७६ मा औपचारिक प्रणालीमा जोडिएका (दर्ता भएका) उद्योग प्रतिष्ठानको लेखा प्रतिवेदनको आधारमा तयार पारेको हो । जुन तथ्यांकले कोरोनाकालपछि औद्योगिक स्थितिको बारेमा जानकारी दिनसक्दैन ।

‘कोरोना अगाडी ३० प्रतिशत तथ्यांक संकलन गरिएको थियो, लकडाउनका कारण त्यसलाई पूर्ण बनाृउन नसक्दा अहिले सार्वजानिक गरेका हौं’ निर्देशक आचार्यले भन्नुभयो–तीनवर्ष अगाडीको अवस्था मात्रै नतिजामा समेटिएको छ । विभागले २०७६ फागुन २१ गतेदेखि तथ्यांक संकलन सुरु गरेको थियो । २०७६ चैत ११ गतेबाट लकडाउन लागेपछि २०७६÷२०७७ मा स्थलगतकार्य स्थगीत गरिएको थियो । पुनः २०७७ असोजमा यसको काम थालिएपनि स्थानीय तहहरुले निषेधाज्ञा लगाएका कारण तथ्यांक संकलन प्रभावित बनेको निर्देशक आचार्यको भनाई छ ।

तथ्यांक विभागले विराटनगरमा सार्वजानिक गरेको प्रदेशस्तरीय नतिजा अनुसार प्रदेश १ मा उद्योग १२ हजार २२५ उद्योग प्रतिष्ठान थिए । यी प्रतिष्ठानमा संलग्न व्यक्ति ९५ हजार ९६४ रहेका थिए । एउटा उद्योगमा ७.८ जना व्यक्ति संलग्न रहेको तथ्यांकमा उल्लेख छ । यी उद्योगहरुमा ७३ हजार ९१८ जनाले रोजगारी पाएका थिए, जुन प्रतिउद्योग ६ जना संलग्न रहेको देखाइएको छ ।

तथ्यांक संकलनको सन्दर्भ अवधीमा प्रदेश १ मा उद्योगहरुको वार्षिक उत्पादन मूल्य २ खर्ब ४८ अर्ब ५६ करोड १७ लाख ४६ हजार रहेको थियो । यसैगरी वार्षिक लागत मूल्य भने १ खर्ब ७७ अर्ब १६ करोड एकलाख ७९ हजार, वार्षिक मूल्य अभिबृद्धि ७१ अर्ब ४१ करोड ५६ लाख ७ हजार रहेको थियो । यसैगरी तथ्यांकको सन्दर्भ अवधीमा स्थायी सम्पति १२ खर्ब ५ अर्ब १५ करोड ५२ लाख ५ हजार र सन्दर्भ अवधीको अन्त्यमा स्थायी सम्पति १३ खर्ब ३४ अर्ब ६४ करोड ४१ लाख ३५ हजार रहेको तथ्यांकमा उल्लेख छ । उद्योगहरुले २१ अर्ब ५ करोड १० लाख ६९ हजार रुपिँया तलव÷ज्याला र सुविधामा खर्च गर्दै आएको उल्लेख छ ।
नतिजा सार्वजानिकीकरण कार्यक्रममा प्रदेश योजना आयोगका सचिव जयकुमार घिमिरे, उद्योग मन्त्रालयका उपसचिव रामकृष्ण श्रेष्ठ र केन्द्रीय तथ्यांक विभागका निर्देशक राजेश धितालको उपस्थिति रहेको थियो । सहभागीहरुले तीनवर्ष अगाडी तथ्यांकले कोरोनाकालपछिको अवस्था बुझाउन नसक्ने सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्