विराटनगरमा सवारी आवागमन छेक्ने सडक, यात्रुदेखि व्यापारीसम्म हैरान

विराटनगरमा सवारी आवागमन छेक्ने सडक, यात्रुदेखि व्यापारीसम्म हैरान

विराटनगर । सडकमा सवारी आवागमन अवरोध भए त्यसलाई हटाएर खुल्ला पारिन्छ । फुटपाथ खाली गराएर पैदलयात्रुका लागि बाटो बनाइन्छ । खुल्ला र चिल्ला सडकले शहरको सुन्दरतालाई झल्काउँछ । सवारी र यात्रुको ओहोरदोहोर सहज हुँदा पनि शहर सडककै कारण शान्त हुन्छ ।

तर, विराटनगर बजारको अतिव्यस्त क्षेत्र महेन्द्रचौक–ट्राफिकचौबीचको १४० मिटर दुरीको हिमालय रोड अहिले सबैभन्दा अस्तव्यस्त बनेको छ । महानगरपालिकाले ंसौन्दर्यकरणको सिक्किमको ‘एमजी रोड’ जस्तै नाममा सडकमै ढिस्का बनाएर अवरोध सिर्जना गरेको हो । शहर सौन्दर्यकरणको नाममा ११.६ मिटर चौडाईको सडक बीच भागमा सिमेन्टका ढिस्का बनाइएपछि अहिले ‘एमजी रोड’को ब्यङ्ग्य ‘भीमजी रोड’ भन्ने गरिएको छ । कारण, तत्कालिन मेयर भीम पराजुलीको पालामा सर्वथा विरोध हुँदाहुँदै योजना अगाडी बडाएको थियो ।

हिमालयरोडमा अवरोध सिर्जना हुँदा दैनिक पाँच हजार सवारी आवागमन प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राजेन्द्र कार्की बताउँछन् । स्थानीय व्यापारीको चिन्ता उस्तै छ । काठमाण्डौंका मेयर बालेन शाहले सडक मापदण्ड मिचेर बनाएका संरचना हटाएर खुल्ला पारिरहेका छन् । तर, विराटनगरमा व्यस्त बजारको व्यस्त सडकमै संस्थागत रुपमा ढिस्का बनाएर अवरोध सिर्जना गरिएको छ ।

महानगरपालिकासँग एक करोड ८३ हजारमा ठेक्का सम्झौता भएर २०७८ मंसिर ३ गतेदेखि कला बिल्डर्सले महेन्द्रचौक–ट्राफिकचौकको १४० मिटर दुरीको सौन्दर्यकरण थालेको थियो । निर्माणको अवधी यहि असोज १३ गते सकिदैछ । एक करोड ६१ लाख लागत अनुमान गरिएको सडकमा ठेकेदारले ३७.५३ प्रतिशत न्यून कबोलमा सम्झौता गरेका थिए । अहिले यसको लागत १ करोड २० लाख पुगेको महानगरपालिकाका इन्जिनियर सुजन श्रेष्ठले जानकारी दिनुभयो । सडकको लागत बढ्नुमा गुरुयोजना निर्माण गर्दा ६० एमएमको ब्लक राख्ने उल्लेख थियो । सवारीलाई पूर्ण निषेध गर्ने लक्ष्य राखिएको थियो । तर, स्थानीय व्यापारीको विरोधपछि एकतर्फी सवारी खोल्ने सहमति अनुसार ब्लकको साइज ८० एमएमको पु¥याइएको इन्जिनियर श्रेष्ठको दावी छ । ठेक्का सम्झौता अनुसारको लागत बढ्दैछ । तर, सडक भत्कँदै पनि गएको छ ।

ठेकेदार कम्पनीले हस्तान्तरण गर्नु अगाडी सडकका ब्लक निकालेर पुनः लगाईरहेको छ । वर्षात्मा पानीको निकास नहुँदा स्थानीय व्यापारीको पसलमा छिरेको पीडा सहनु परेको छ । टालटोलमा बजेट सकिएको देख्दा दिक्क मान्नु बाहेक विकल्प नभएको व्यापारीहरु बताउँछन् । त्यति मात्रै नभई निर्माण प्रयोजन खुल्न नसक्दा स्थानीय व्यवसायी, ट्राफिक प्रहरी, सर्वसाधारणदेखि सुरक्षा संयन्त्रले समेत यसले बाधा सिर्जना गरेको भन्दै आलोचना सुरु गरेका छन् । स्टेसनरी, कपडा, हार्डवेयर, इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स, बैंक तथा वित्तीय संस्था, सैलुन तथा होटल गरेर दुईसय व्यवसाय सडककै कारण प्रभावित बनेका छन् । निर्माणको सुरुवाती चरणमै स्थानीय व्यापारीले विरोध जनाएपनि स्थानीय सरकार महानगरपालिकाले उनीहरुको आवाज सुनेन । जसको परिणाम शहरको मुख्य भाग एकवर्ष नपुग्दै अस्तव्यस्त भएको गुनासो बढ्न थालेको हो । मैनाली पुस्तक पसलका सञ्चालक राकेश मैनालीले मुख्य केन्द्र भागको सडक दाँया र बाँयाका दुईसय व्यवसायी अहिले सामान ल्याएर पसलमा राख्ने अवस्था नहुँदा विस्थापित हुनुपर्ने स्थिति आएको गुनासो गर्नुभयो ।

दैनिक तीन हजार सवारीलाई वारपारका लागि ‘बाईपास’ व्यवस्थापन गर्नुपर्ने बाध्यता ट्राफिक प्रहरीलाई छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कार्कीका अनुसार अहिले सडकको एकातर्फी भागबाट ‘वनवे’मार्फत दुई हजार साना सवारी वारपार गर्ने सुविधा दिईएको छ । चारचक्के मध्यम तथा ठूला सवारीका लागि यो सडक सदाका लागि बन्द भएको छ । निर्माण सम्पन्न भएसँगै कुनैपनि सवारीको आवागमन र पार्किङ गर्ने अवस्था सकिन्छ ।

सडकमा चार सेक्सन छुट्याएर संरचना तयार पार्ने गुरुयोजनामा उल्लेख छ । जसमध्ये ‘ए’सेक्सन खुल्ला, ‘बी’ हरियाली पार्क, ‘सी’ फाउन्टेन पार्क र ‘डी’ पार्किङ क्षेत्र बन्नेछ । निर्माण सम्पन्न हुनुपर्ने अवधी १३ दिनमात्रै बाँकी रहँदा गुरुयोजनामा उल्लेख गरे अनुसार सडकको स्वरुप नदेखिएको कैलास ट्रेडिङका सञ्चालक बताउनुहुन्छ ।

महानगरपालिकाले हिमालय रोडको सौन्दर्यकरण गर्ने निर्णय आर्थिक वर्ष २०७५÷२०७६ मा गरेको थियो । त्यसका लागि २०७८ असारमा डीपीआर तयार गरेर भदौ २४ गते निर्माण सम्झौता भएको थियो । अहिले स्थानीयले काठमाण्डौंका मेयरले सडक मिचेरका संरचना भत्काईरहेकोले विराटनगरका मेयर पनि सडकमै बनाएको संरचना भत्काउने साहस गर्नुपर्ने माग गरिरहेका छन् । तत्कालिन जनप्रतिनिधिको अदुरदर्शीतालाई वहालवाला मेयरले हिम्मत गरेर उल्ट्याउनु पर्ने सुझाव सुरक्षा संयन्त्रको समेत छ । सुरक्षामा समेत व्यस्त बजारको सडकमा खडा गरिएको अवरोधले बाधा पु¥याउने देखिएको चर्चा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्