महान नेताहरूलाई आशनमा राखेर पूजा गर्ने कि कुर्सीमा राखेर काममा लगाउने?

महान नेताहरूलाई आशनमा राखेर पूजा गर्ने कि कुर्सीमा राखेर काममा लगाउने?

- भेषराज पोखरेल
अब त सुन्दा पनि लाज लाग्छ, "म देश र जनताका लागि बर्षौँ जेल बसेँ, ज्यान हत्केलामा राखेर क्रान्ति गरेँ त्यसैले मैले चुनाव जसरी पनि जित्नुपर्छ।"

के व्यवस्था र सत्ता परिवर्तन मात्रै क्रान्तिको अभीष्ट थियो? के व्यक्ति चाहिँ नवीन विचारक अनि युग सापेक्ष हुनु पर्दैन? अहिलेको पुस्ता २४/२५ बर्षकै उमेरमा करोडपति बन्ने सपना देख्छ। के यस्तो सपना देख्नु पाप हो?

सुचनाप्रविधिको चरम विकासबाट संसारले सिङ्गै स्वरुप फेरिरहँदा हामी चाहिँ अहिलेसम्म स्वस्तिक चिन्हको छापमा अल्झिएका छौँ। के वीपीको समाजवाद पुरानो भएन? अब पनि एक हल गोरु र एक फगटो खेतलाई समाजवाद मान्ने? गाउँमा साइकल देखिन छोडिसक्यो। जनआकाँक्षा परिवर्तन भएर ढिँडो खानेले पिजाको स्वाद पाइसक्यो।

अझै पनि तिमी झूटो सपनाको खेती गर्छौ! अलिकति पनि लाज भए बहुराष्ट्रिय कम्पनीहरूलाई नेपाल भित्र्याएर पाँच बर्षभित्र दशौं लाखलाई रोजगारी दिन्छु भन्ने आँट खोइ?
विदेशको भन्दा सुविधासम्पन्न जिन्दगी दिने योजना र कार्ययोजना खोइ?

छि! तिम्रा स्वास्नी छोराछोरीलाई मन्त्री बनाउँन र तिम्रो नकच्चरो रुवाबासी हेर्न हामीले लोकतन्त्र ल्याएको हो र?

पटकपटक नालायक प्रमाणित भइसकेपछि त खुरुक्क ठाउँ छोड्नु नि! अझै दुईचार पटक प्रधानमन्त्री पड्काउने तिम्रो लालचलाई हामीले लोकतन्त्रको विजय मानिदिनु पर्ने? के तिम्रो प्राप्तिलाई गिनिजबुकमा दर्ता गर्न हामीले भोट दिनुपर्ने?

मासु नभई भात नरुच्ने, करोडौंको गाडी नभई हिड्न नसक्ने, अनि दैनिक लाखौं रुपियाँ उडाउने तिम्रो सर्वहारा हैसियत हामीले देखेका छैनौँ र?
हेलिकप्टर चढेर चुनावप्रचार गर्ने तिम्रो आम्दानीको कानुनी स्रोत के हो?

सम्पूर्ण सम्पत्ति ट्रष्टलाई दिएर राजसी भण्डारा लगाउने तिम्रो हैसियतलाई सम्पत्ति शुद्धीकरणले किन कहिले छु सक्दैन?

के हामी तिमीले जूठो खुवाएर पालेका केवल पाल्तु कुकुर हौँ? हामीले तिम्रो इशारामा भुक्नुपर्ने अनि जसलाई टोक भन्छौ त्यसलाई टोक्नुपर्ने?
हामी २१ औँ शताब्दीका स्वाभिमानी युवा हौँ। हामीमा आफैँले नेतृत्व लिन सक्ने अविराम उर्जा छ।

अब तिम्रो थला परेको सुकेको मुढो जस्तो शरीरले हाम्रा आकाँक्षा पूरा गर्न सक्दैन। तिमी हामीले छुट्याइदिएको खाएर आशनमा बस, शासनप्रती र्‍याल नचुहाउ!

तिमीले आफ्नो शरीरलाई यति धेरै दुर्गन्धित बनाइ सक्यौ कि अब गङ्गामा गएर हजार स्नान गर।
तिमी अशक्त भइसक्यौ अब कामको बोझ उठाउने दुस्साहस नगर। हामी बलिया छौँ। देश बनाउँने जिम्मा हामीलाई देऊ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्