विराटनगर । तराईको चर्को घाम होस वा झरी नै किन न होस, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरो नै किन न होस ५३ वर्षीय तुलाराम मोची सडक पेटीमा सधैं आफ्नै काममा व्यस्त भेटिन्छन् । पुराना र फाटेका चुत्ता–चप्पल र छाता सिलाउन व्यस्त हुन्छन् । जस्तो सुकै दुःख पीडामा भएपनि उनी मुसुक्क मुस्कुराउदै आफ्नो काममा ध्यान दिन्छन् ।
बुढीगंगा गाउँपालिका–१ स्थित टंकिसिनुवारी चोकको सडक पेटी छेउमा बसेर विगत २५ वर्षदेखि जुत्ता–चप्पल सिलाउने र पोलिस लगाउने काम गरेर उनको दिन बित्ने गरेको छ । “यो आफ्नो पुर्ख्यौली पेसा हो, बुबाबाट हेर्दाहेर्दै सिकियो, अहिले यही पेसाले मेरो घर चलेको छ ”, उनले भने, “दुःखमा जीवन धान्ने सीप नै रहेछ ।” बुढीगंगा–४ स्थित कामत टोलमा उनको घर छ । तुलाराम र उनका दाजु दुवैजनाले आफ्नो पुर्ख्यौली पेशा अपनाएका हुन् । दुवै दाजुभईको यही पेशाबाट घर चल्ने गरेको तुलाराम बताउँछन् । उनको चार जना छोरा छन् । दुईजना छोराहरुको विवाह भैसकेको छ । चारजना छोरामध्ये तीन जना छोरा राजमिस्त्री र कान्छा छोरा होलसेल पसलमा काम गर्छन् । तुलाराम भन्छन् ‘अहिलेको नयाँ पुस्ताले हाम्रो पुर्ख्यौली पेशाको सम्मान नगर्ने हुँदा विस्तारै यो पेसा लोप हुँदै जान्छ ।’
घरको आर्थिक अवस्थाको कारणले गर्दा म पढ्न पाइन तर बुबासँग सीप सिक्न पाए अहिले तेही सीपले मेरो जीवन चलिरहेको छ । उनीकहाँ जुत्ता–चप्पल सिलाउनेको भीड नै लाग्ने गर्छ । जुत्ता–चप्पल सिलाएबापत उनले ग्राहकले आफ्नो काम अनुसार आफ्नै मनले पैसा दिने गर्छन । “यही सीपले पेट पालेका छु ”, उनले भने, “यो पेसा अहिले आम्दानीका एउटा भरपर्दो माध्यम बनेको छ ।” कुनै तालिम नलिएका तुलारामसँग पेसाका लागि पुग्ने सीप छ । त्यही सीप आफ्नो परिवारको भविष्य निर्माणमा खर्चिन सडक पेटीमै बसेर उनी काम गर्छन् । उनले यो पेसाबाट दैनिक कम्तीमा ८ सय कमाउने गरेको बताए । तर कुनै बेला एक हजार ५ सय पनि हुन्छ, कुनै दिन २ सय पनि हुने तुलाराम बताउछन् । “प्रचण्ड गर्मी होस् वा बर्सात् वा हिउँदले मलाई केही प्रभाव पर्दैन”, उनले भने, “म एउटा छाता झुन्ड्याउँछु र आफ्नो काममा व्यस्त हुने गर्दछु ।”
हातमा सीप र मनमा जोस–जाँगर भए, यसै व्यवसायबाट मनग्य कमाउन सकिने र पैसा कमाउन विदेश जानु नपर्ने उनको भनाइ छ । “गर्न सक्नेलाई यहीँ पैसा छ । हातमा सीप र मनमा जोस–जाँगर भए यसै व्यवसायबाट राम्रो कमाउन सकिन्छ”, उनले भने ।
उनले भने, “सडकपेटी नै मेरो घर भएको छ, बिहान ८ बजे आएर आफ्नो पसल लगाउँछु र राति अबेरसम्म काम गरेर घर फर्कने गरेको छु !” “म आफ्नो कामप्रति समर्पित छु, मैले बनाएको जुत्ताचप्पलमा ग्राहकले सन्तुष्टि व्यक्त गर्दा निकै खुशी लाग्ने गरेको छ”, उनले भने, “यो पेसामा धेरै पूँजी लगाउनु पर्दैन, मिहिनेत कम छ र आम्दानी पनि ठिकै हुन्छ ।”
उनको काम राम्रो देखेर ग्राहकले “लोहागरम” उपनाम समेत दिएका छन् । बुढीगंगामा उनी आफ्नो नामले भन्दा पनि उपनामले चिनिने गर्दछन् ।
बुबाले यही पेसा अपनाएका थिए, बुबापछि अहिले म यो पेसा अपनाएको छु र यो परम्परा कहिलेसम्म चल्ने हो आफूलाई थाहा नभएको बताउने तुलारामले भने, “अरू बेला जेजस्तो पीडा भोग्नु परे पनि कोरोना महामारीका कारण सरकारले घोषणा गरेको लकडाउनको बेला मेरो जीवन निकै कष्टप्रद बन्नपुग्यो ।” लकडाउनमा व्यापार बन्द भएपछि कति खेर राहत आउँछ र जीवनयापन सहज हुन्छ भन्ने चिन्तामा बस्नुपर्यो । उनले भने “बुबाबाजेको पेसाले जीवन त चल्छ तर धन आर्जन गर्न सकिन्न ।”