विराटनगर भन्सारलाई भारतको पुलको असर

विराटनगर भन्सारलाई भारतको पुलको असर

विराटनगर । दश महिना अगाडी २०७८ पुस २२ गते भारतको मीरगञ्जस्थित प्रमाणा नदीको पुल भासिएको थियो । विराटनगर भन्सार कार्यालयदेखि ६ किलोमिटर दक्षिण भारतीय भूमिमा रहेको पुल भासिएपछि ११६ किलोमिटर रि–रुट हुँदै सुनसरीको भण्टाबारी नाकाबाट मालवस्तु आयात–निर्यात गर्नुपर्ने बाध्यता छ ।

साविक स्थानमै भारतले नयाँ आरसीसी पुल निर्माण गरेको छ । त्यसको सञ्चालनमा भने अहिलेसम्म चासो दिएको छैन । मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं उद्योगी पवनकुमार शारडाले पछिल्लो समय सञ्चालनको आश्वासन पाईरहेको बेला गुजरातमा पुल खसेपछि मीरगञ्जको नयाँ पुलको ‘इन्सेप्शन रिपोर्ट’ बुझाउनु पर्ने नयाँ नियम लगाइएको छ । त्यसले गर्दा सञ्चालनको प्रक्रिया अझै बढ्न सक्ने संभावना देखिएको उद्योगी शारडाको भनाई छ ।

भन्सार कार्यालय नजिकैसम्म आएका मालवस्तु बोकेका सवारी रि–रुट भण्टाबारी हुँदै पुनः भन्सार कार्यालयमा जाँचपास गराउनु पर्ने बाध्यताले राजश्व असुलीमा भने नराम्रो असर परेको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार दश महिनाको अवधीमा मात्रै राजश्व असुलीमा १८ अर्ब ७५ करोडले कमी आएको छ । विराटनगर भन्सार कार्यालयले पुल भासिनु अगाडी दैनिक १४ करोड ५० लाख राजश्व असुली गर्दै आएको थियो । त्यसपछि दैनिक १० करोडमा सिमित भएको विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाको भनाई छ । चालु आर्थिक वर्षमा दैनिक १६ करोड ५० लाख राजश्व संकलनको लक्ष्य छ ।

भन्सार नजिकैको पुल भासिएपछि त्यसले चोरी तस्करीलाई समेत बढावा दिएको छ । पछिल्लो समय मोरङको खुल्ला सीमा नाकाबाट हुने चोरी निकासी–पैठारी नियन्त्रण भन्दा बाहिर रहेको भन्सार अधिकारीहरुको दावी छ । त्यस बाहेक भारतसँगको उधारो व्यापार रोकिनु, अनिवार्य एलसीको प्रावधान आउनु, पुल भासिएपछि अन्य भन्सार नाकामा डाईभर्ट हुनु जस्ता कारण समेत असुली प्रभावितको रुपमा मानिएको छ ।
भन्सार कार्यालयका प्रमुख सापकोटाले पुल भासिएपछि २५ प्रतिशत आयात–निर्यात प्रभावित भएको बताउनुभयो । चार किलोमिटर नजिक आएका मालवहाक सवारी ११६ किलोमिटर रि–रुट भएर पुनः भन्सारमै आउनु पर्दा बढ्ने ढुवानीका भाडाका कारण पनि राजश्व असुली प्रभावित बन्ने गरेको हो । गतवर्ष पुस २२ अगाडी दैनिक ४०० सम्म गाडीले भन्सार जाँचपास गराउँदै आएकामा अहिले २०० को हाराहारी मात्रैको जाँचपास हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्