विराटनगर–१८ मा आउँदैफर्कदै गर्छ रेल, डिसेम्बरको तयारी

विराटनगर–१८ मा आउँदैफर्कदै गर्छ रेल, डिसेम्बरको तयारी

विराटनगर । भारतको सीमावर्ती रेल–स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आइसिपीको कस्टम यार्डसम्म आगामी डिसेम्बर १५ देखि रेल सञ्चालनमा ल्याईने भएको छ । कोलकाता बन्दरगाहबाट विराटनगर–१८ बुधनगरस्थित आईसिपीसम्म डिसेम्बर १५ सम्ममा कार्गोरेल ल्याउन अन्तिम प्रक्रिया अगाडी बढाइएको हो ।

भारतको रेल विभागले आईसिपीसम्म काम सम्पन्न भएको क्षेत्रमा कार्गोरेल ल्याउनसक्ने जनाउन बुधबार स्थलगत निरीक्षण गरेर फर्केको छ । भारतीय रेल–वे विभाग अन्तर्गत एनएफ रेलवे कटिहार मण्डलका कर्नलसहितको टोलि बुधबार रेलमै आएर कस्टम यार्डको निरीक्षण गरेर फर्केको छ ।

रेल–वे विभाग अन्तर्गत बथनाहा–कटहरी रेलवेका साइड इन्जिनियर रोशनकुमार देवले भारतीय रेल–वे विभागका अधिकारीहरु अन्तिम तयारीमा जुटिरहेको बताउनुभयो । उहाँले नेपाल कस्टम यार्डको तयारीका लागि आवश्यक पर्ने सामान लिएर आउने जाने कामका लागि उनीहरुले रेल लिएरै आउने गरेको बताउनुभयो । भारतीय रेल–वे अधिकारीहरुले आफ्नो प्रयोजनका लागि रेल लिएर आउने विषय जानकारीमा नभएपनि आगामी डेढ महिनाको अवधीमा कार्गो रेल सञ्चालनको प्रक्रियामा रहेको इन्जिनियर देवले जानकारी दिनुभयो ।
आईसिपीको नेपाल कष्टम यार्डसम्म कार्गोरेल ल्याउनका लागि आवश्यक पूर्वाधार तयारी गर्ने विषय समेत अगाडी बढाइएको छ । ‘हेन्ड ओभरको कुरा चलिरहेको छ’ त्यसका लागि आवश्यक तयारीमा दुवैतर्फको टिम लागेको छ ।

‘भारतीय रेल–वे विभागले कष्टम यार्डसम्म काम सम्पन्न भएको पत्र पठाईसकेको छ’ इन्जिनियर देवले भन्नुभयो–रेल विभाग नेपाल र भारतको इर्कोनले सुझावसहितको अन्तिम परीक्षण प्रतिवेदन पठाएको छ । सुझावका आधारमा त्यसको अन्तिम प्रक्रिया समेत भारतीय रेल–वे विभागले गरिसकेको छ ।
इन्जिनियर देवका अनुसार भारत सरकारले नेपालको भौतिक पूर्वाधार मन्त्रालयले रेल–वे हस्तान्तरण गर्नेछ । त्यसपछि यसको सञ्चालन प्रक्रिया अगाडी बढ्ने छ । त्यसका लागि आईसिपीसँग ‘लिंकअप वे’ निर्माणको काम समेत अगाडी बढाईसकिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्गर्तत नेपाल इन्टरमोडल यातायात विकास समितिले कष्टम यार्ड र आईसीपीबीचको ‘लिंकअप वे’ को टेण्डर आह्वान गरिसकेको छ ।

विराटनगरका उद्योगी–व्यवसायीले आईसिपीसम्म परीक्षण गरिसकिएको रेलमार्ग प्रयोगमा चाँडो ल्याउन सके त्यसको फाइदा नेपाललाई पुग्ने बताउँदै आएका छन् । रेलवे मार्गमा नेपाली कष्टम यार्ड आईसिपीसँगै नभएका कारण नेपाली पक्षले रेलको कन्टेनर यार्ड र पहुँच मार्ग निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसको लागि अहिले भईरहेको दुईसय मिटर सडकको स्तरोन्नती गरिने छ ।

भारत सरकारले भारतको सीमावर्ती रेलवे स्टेसन बथनाहाबाट मोरङको कटहरी गाउँपालिकासम्म १८ दशमलव ७ किलोमिटर रेलमार्ग बनाइदिने सहमति अनुसार काम भईरहेको छ । कटहरी गाउँपालिकामा मुआबजा विवादले भारत सरकारलाई नेपालले जमिन हस्तान्तरण गर्न नसक्दा अन्तिम स्टेसनमा काम रोकिएको छ । बथनाहादेखि आइसिपीसम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य भएको छ । विराटनगरको आइसिपीदेखि थप १० किलोमिटरमा समेत काम धमाधम भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्