विराटनगर । सरकारले समर्थन मूल्य निर्धारण गरेपनि कृषकले उत्पादन गरेको धानमा बिचौलिया व्यापारी हावी भएको भन्दै खरिदका लागि आग्रह गरिएको छ । समर्थन मूल्य निर्धारण गरेर सरकारले खरिद नगर्दा किसानको उत्पादनमा व्यापारीले मनलाग्दी मूल्यमा खरिद गर्ने गरेका हुन् ।
किसानसँग सम्बन्धित राजनीतिक दलका भातृ संस्थाहरु नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ मोरङले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्ने प्रक्रिया नबढाएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । सरकारले गत कार्तिक १६ गते धानको समर्थन मूल्य निर्धारणको निर्णय गरेको थियो । मोटा धानको मूल्य दुईहजार ९६७, मध्यम धानको तीन हजार १२८ तोकिएको छ । गतवर्षभन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ र मध्यम धानमा २२६ रुपिँया बढी हो ।
विराटनगरमा दुई संगठनले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै धान बालि भित्र्याईसक्दा समेत सरकारी संयन्त्रले खरिदको काम थालनी नगर्दा तोकेको मूल्य किसानको हातमा नपरेको गुनासो गरेका छन् । अखिल नेपाल किसान महासंघ मोरङका अध्यक्ष देवेन्द्र पौडेलले समर्थन मूल्य भन्दा कममा धार बिक्री गरे सरकारले सोधभर्ना गर्ने नीति रहेको बताउनुभयो । तर, उत्पादन गरेको धान समयमै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद नगर्दा बाध्य भएर कम मूल्यमा बिक्री गर्नुपर्ने स्थिति आएको उहाँको भनाई छ ।
यसैगरी नेपाल किसान महासंघका अध्यक्ष केदार थापाले सरकारी संयन्त्रले खरिद गर्नुपर्ने धान दुईदिनभित्र सुरु नगरे आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले मङ्सिर ३० गतेसम्ममा धान खरिदको काम थालनी नगरे खाद्य व्यवस्था तथा व्यापार कम्पनीको देशैभरका कार्यालयमा तालाबन्दी गर्ने बताउनुभयो ।
प्रदेश १ मा गतवर्ष भन्दा १६ हजार २०० मेट्रिकटनले धान उत्पादनमा बृद्धि भएको छ । प्रदेश १ मा चालु आर्थिक वर्ष ३ लाख ३१ हजार ८८.९४ हेक्टरमा धान खेती गरिएको थियो । जसमा १२ लाख ९८ हजार ८५५ मेट्रिकटन धान उत्पादन भएको प्रदेश १ कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ । प्रदेशमा ३ लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफल धानखेती योग्य मानिन्छ ।
गत वर्ष १२ लाख ८२ जहार ५७३ मेट्रिकटन धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष ३.९२ प्रतिहेक्टर उत्पादकत्व रहेको छ । गतवर्ष ३.८२ मात्रै थियो । प्रदेश १ का ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा २३ हजार ७६३ हेक्टरमा २ दशमलव ६५ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको छ । तीनवटा हिमाली जिल्लामा चालु वर्षमा ६३ हजार ४ दशमलव ६६ मेट्रिकटन धान उत्पादन भएको हो ।
यसैगरी पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुंगा र खोटाङमा ८७ हजार ९३२ हेक्टरमा धान खेती लगाइएको थियो । पहाडी जिल्लामा २.९२ प्रतिहेक्टरका दरले २ लाख ५७ हजार १९१ मेट्रिकटन धान उत्पादन भएको मन्त्रालयका अभिमन्यु अधिकारीले जानकारी दिनुभयो ।
तराईका जिल्ला सुनसरी, मोरङ र झापामा २ लाख १९ हजार ३९३ हेक्टरमा धान खेति भएकोमा ४.४६ मेट्रिकटन प्रतिहेक्टर उत्पादन भएको छ । यी तीन जिल्लामा ९ लाख ७८ हजार ६५८ मेट्रिकटन धान उत्पादन भएको हो ।