विराटनगरसहित प्रदेश १ का चार राजस्व कार्यालयले लक्ष्य भेट्टाएनन्

विराटनगरसहित प्रदेश १ का चार राजस्व कार्यालयले लक्ष्य भेट्टाएनन्

विराटनगर । प्रदेश १ का चार राजस्व कार्यालयले पुस मसान्तसम्मको लक्ष्य भेट्न सकेनन् । विराटनगर, सुनसरीको इटहरी र धरान तथा झापाको चन्द्रगढीस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको अर्धवार्षिक लक्ष्य हाँसिल गर्न नसकेका हुन् ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले पुस मसान्तसम्मको ४ अर्ब ४८ करोड रुपैयाँको लक्ष्यमा ३ अर्ब ३९ करोड मात्र संकलन गर्न सफल भएको छ । मूल्य अभिबृद्धि करतर्फ १ अर्ब १६ करोड ७३ लाखको लक्ष्यमा १ अर्ब १८ करोड ६२ लाख र आयकरतर्फ १ अर्ब ६५ करोड ८२ लाखको लक्ष्यमा १ अर्ब ३६ करोड ११ लाख संकलन गरेको छ । त्यस्तै अन्तःशुल्कको १ अर्ब ५६ करोड १४ लाखको लक्ष्यमा ७५ करोड २ लाख रुँपिया मात्र असुली भएको छ ।

त्यस्तै झापाको चन्द्रगढीस्थित राजस्व कार्यालयले ६ महिनामा राखेको असुली लक्ष्य १ अर्ब ६५ करोड १७ लाखमा १ अर्ब ३२ करोड ६ लाख रुपिँया मात्रै असुली गरेको छ । कार्यालयका सूचना अधिकारी भीमप्रसाद आचार्यका अनुसार मूल्य अभिबृद्धि करतर्फ ६१ करोड ७४ लाखको लक्ष्यमा ४६ करोड ४ लाख तथा आयकरको ७२ करोड ८० लाखको लक्ष्यमा ६१ करोड ५२ लाख संकलन भएको छ । त्यस्तै अन्तःशुल्कतर्फ २५ करोड ८४ लाखको लक्ष्यमा १९ करोड ५४ लाख असुली भएको जानकारी दिइएको छ ।

आन्तरिक राजस्व धरानले पुस मसान्तसम्मको लक्ष्य १ अर्ब ८ करोडमा ७९ करोड २८ लाख मात्र संकलन गरेको छ । कार्यालयले मूल्य अभिबृद्धि करतर्फको २५ करोड ४७ को लक्ष्यमा १९ करोड ५१ लाख र आयकरको ३७ करोड ५६ लाखको लक्ष्यमा ३० करोड ३५ लाख असुली गरेको जनाएको छ । त्यस्तै अन्तःशुल्कतर्फ ८ करोड ९२ लाखको लक्ष्यमा ३ करोड १० लाख संकलन भएको छ ।

आन्तरिक राजस्व कार्यालय इटहरीले अर्धवार्षिक अवधिमा २ अर्ब १७ करोड २० लाखको कुल लक्ष्यमा २ अर्ब १ करोड ७२ लाख असुली गरेको छ । कार्यालयले आयकरको ७२ करोड १८ लाखको लक्ष्यमा ५३ करोड ९६ लाख र मूअकरको ६५ करोड ८ लाखको लक्ष्यमा ५८ करोड ९४ लाख संकलन गरेको हो । कार्यालयले अन्तःशुल्कको लक्ष्य ७६ करोड ३६ लाखमा ८५ करोड ७३ लाख असुल गरी ११२ प्रतिशतले प्रगति गरेको जानकारी दिइएको छ ।

आयातमा कडाई, खुल्ला सीमा क्षेत्रबाट चोरी निकासी र पैठारीमा बढोत्तरीका कारण औपचारिक कारोबार कमजोर हुँदा बजारमा माग र आपूर्तिबीचको श्रृंखला प्रभावित हुँदा आयकरतर्फको राजस्व संकलन खस्केको छ । अर्कोतर्फ खाद्यान्न, लत्ताकपडादेखि सबैजसो उपभोग्य वस्तुको बिक्री २० देखि ७० प्रतिशतले घटेको व्यापारीहरुको तर्कछ । बैंक ब्याजदरको प्रभावले बिक्री भएको मालवस्तुको भुक्तानी पनि समयमा हुन नसकेको र उधारो उठाउन नसकिएका कारण प्रभाव परेको बताइएको छ ।

व्यवसायीले मूअकरको रकम समयमा नबुझाए तिर्नुपर्ने करमा थप दस्तुर १० प्रतिशत र ब्याज १५ प्रतिशत लाग्छ । त्यस्तै अन्तःशुल्कको रकम समयमा दाखिला नगरे प्रति बिल प्रति दिन शून्य दशमलव शून्य पाँच प्रतिशत विलम्ब शुल्क तिर्नुपर्छ । आयकर समयमा नबुझाउनेले १५ प्रतिशत जरिबाना तिर्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्