विराटनगर । नेपाल प्रहरीको तथ्यांक अनुसार प्रदेश १ मा वितेका पाँच वर्षमा ७ हजार ५६ जनाले आत्महत्या गरिसकेका छन् । देशभरी नै यसको तथ्यांक कहाली लाग्दो छ । दैनिक वा महिनामा संकलन हुने प्रहरीे तथ्यांक वा समाजमा व्याप्त आत्महत्या घटनाको सतही मूल्यांकन र विश्लेषण हुने गर्दै आएको थियो ।
घटनामा मात्रै केन्द्रीत भएर ए ! हो ! ला ! नगरेको भए हुन्थ्यो भन्ने सोच, एकाएक घटना हुनुको परिबेससँग जोडेर व्याख्या गर्न थालिएको छ । घटनालाई नियाल्ने र त्यसलाई समाजमा उठाउने शैली समेत पछिल्ला दिनमा एकाएक फेरिएका हुन् ।
गत बुधबार बिहान आफ्नै घरभित्र मृत भेटिएका व्यापारी मोहन न्यौपानेको स्मृतिमा मोरङ व्यापार संघले शुक्रबार दिउँसो श्रद्धाञ्जलीसभा आयोजना गरेको छ । विराटनगरका उद्योगी–व्यापारीसँग सम्वद्ध संघसंस्थाले न्यौपानेको मृत्यु बैंकको ब्याजदर र दवावका कारण भएको यकिन गर्दै आत्माहत्या दुरुत्साहनको आरोपमा लगाउनु पर्ने बहस सुरु गरेका छन् । कारोबारमा लिइएको ऋण के कसरी फिर्ता हुन सकेन भन्ने यकिन भईसकेको छैन । तर, काठमाण्डौंमा इलामका प्रेमप्रसाद आचार्यले कारोबार झमेला सहन नसक्दा आत्मदाह गर्ने प्रयास गरेसँगै ‘आत्माहत्या’को घटना हुनुको परिबेशको चर्चा शहरका औद्योगिक घरानामा प्रवेश गरेको हो ।
बैंक ब्याज विरुद्धको आवाज उठाई रहेका उद्योगी–व्यपारीको आवाजलाई आचार्य आत्मादाहा सन्दर्भले कडिको रुपमा काम गरेको छ । आचार्य मृत्यु प्रकरणको चर्चा चलेकै समयमा न्यौपानेले त्यहिं अवस्थाको सुसाईड नोट छोडेपछि आधार झन् बलियो बनेको छ । त्यहि आधारमा टेकेर मोरङ व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ लगायतले औद्योगिक तथा व्यवसायिक वातावरणलाई सहज बनाउन माग गर्दै विज्ञप्ती जारी गरेका छन् ।
विराटनगर महानगरपालिका–३ निवासी ५७ वर्षीय न्यौपानेको सुसाइड नोटमा बैंकको ऋण र त्यहाँबाट दिइने तनावले हैरानी पारेको उल्लेख गरिएपनि, बैंकबाट झिकेको ऋण लगानीको अवस्था व्याख्या गरिएको छैन । इलामका आचार्य आर्थिक तनाबकै कारणले आत्मदाहसम्मको बाटो रोजेको कुरा देशकै लागि चुनौती बनेको छ । मृतक आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा सबै कारण र परिणाम उल्लेख गरेका छन् ।
प्रहरीको अनुसन्धान प्रतिवेदनमा नेपालमा आत्महत्याको मुख्य कारणका रूपमा प्रेममा असफलता, ऋणको किस्ता वा व्याजको भार, जूवा तासको लत, मिटरब्याजीको चक्कर र पारिवारिक कलह रहेका छन् । आजसम्मका आत्माहत्याका कारणको रुपमा यिनै विषय उठ्दै आएका थिए । तर, पछिल्लो समय मात्रै ऋणको भारले थिचेर आत्महत्या गरिएको परिवेसलाई निक्कै मजबुत ढंगबाट उठाउन थालिएको छ ।
प्रदेश १ का उद्योगी व्यवसायी सम्बद्ध संघसंगठनहरू देशमै उद्यम व्यवसाय गरी आत्मसम्मानका साथ जीवनयापन गर्ने वातावरण बन्द हुँदै गएकोले आत्माहत्याको बाटो रोज्नु परेको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले कोभिडको महामारी, युक्रेन र रुसको युद्ध, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण देशको आर्थिक अवस्था भयावह रहेको भन्दै यस्तो अवस्थामा व्यवसायीहरूको आत्महत्याका घटनाले थप चिन्तित बनाएको उल्लेख गर्दै विज्ञप्ती जारी गरेका छन् । उत्पादन कटौती गर्न बाध्य भइरहेको, बजारबाट उधारो उठ्न नसकेको, व्यवसायको प्रशासनिक खर्च धान्न धौ–धौ परेको, बैंक ब्याज लगायतका कारणले कारोबारमा समस्या भोग्नुपरेको उल्लेख गरिएको विज्ञप्तीमा विराटनगरका व्यवसायी मोहन न्यौपानेले बैंकको ब्याजकै कारण आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आउनु दुखद् भएको उल्लेख छ ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले व्यवसायीको आत्मदाह र आत्महत्याको घटनाले राज्य र राज्यका सञ्चालक, नीति नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याइरहेको भन्दै टिप्पणी गरेका छन् । उनले कुनैपनि व्यवसायिक असफलताबाट हतोत्साहित हुने र अप्रिय निर्णय लिने भन्दा आफूले भोग्नु परेका समस्यालाई आफ्ना पेशागत संघसंगठनमार्फत व्यक्त गर्न र पद्धति सुधारमा दवाव दिन आग्रह गरेका छन् ।
उद्योग संगठनले विराटनगरका व्यवसायी मोहन न्यौपानेको आत्महत्याको घटनाले देशभरका उद्योगी व्यवसायीहरू नै स्तब्ध भएको भन्दै उद्योगी व्यवसायीहरूले बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । यस्ता घटना नदोहोरिने वातावरण बनाउन उद्योगी व्यवसायीहरूको उचित गुनासो, मर्का र समस्यालाई सरकारले गम्भीरतापूर्वक सुन्नुपर्नेमा उद्योग संगठन मोरङले अपिलमार्फत जोड दिएको छ ।
मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बैंकले दिएको मानसिक तनाबले विराटनगरका व्यवसायी न्यौपानेले आत्महत्या गरेको दाबी गरेका छन् । उनले मुलुककै अर्थतन्त्र प्रभावित भएको बेलामा बैंकहरू मात्रै मोटाउने गरी राष्ट्रबैंकबाट गरिएको योजनावद्ध संरक्षण भएको भन्दै आक्रोस पोख्दै आएका छन् ।