छैन गहुँ, उद्योगको उत्पादन कटौती

छैन गहुँ, उद्योगको उत्पादन कटौती

विराटनगर । भारतबाट गहुँ आयातमा कडाई गरिएपछि त्यसको असर आँटा र मैदा मिलसँगै त्यसको कच्चामा निर्भर रहेका उद्योगमा परेको छ । भारतले दश महिना अगाडीदेखि गहुँ निर्यातमा रोक लगाएपछि भण्डारण रित्तिदै गएर मिल तथा आश्रित उद्योग समस्यामा परेका हुन् ।
गहुँको अभावमा ३० प्रतिशत उत्पादन क्षमतामा मात्रै उद्योगहरु चलिरहेको गौमती आँटा उद्योगका सञ्चालक हरिबंश राठीले जानकारी दिनुभयो । पाक्ने सिजन नजिक आएकोले भण्डारण गरिएको गहुँबाट केहि परिपूर्ति भएपनि माग अनुसार नभएको राठीको भनाई छ । जसको असर उत्पादित वस्तुको मूल्यमा समेत बृद्धि भएको छ ।

भारतले निर्यातमा रोक लगाएपछि पैठारीकर्ताले गत बैशाख अगाडी आयात गरेर भण्डारण गरेको गहुँमा मूल्य बार्गेनिङ्ग गरेका थिए । त्यसको असर उपभोक्तासम्मलाई परेको थियो । भारतले कोटा तोकेर ५० हजार मेट्रिक टन गहुँ नेपाललाई दिने बताएको थियो । कोटा बाँडफाँडमा समय लागेपछि कच्चा अभाव झेल्न बाध्य हुनु परेको उद्योगी राठीले बताउनुभयो ।

गहुँको नयाँ सिजन पर्खेर बसेका छौं, राठीले भन्नुभयो–सिजन नजिकिँदा मूल्य बार्गेनिङ्ग गरेर बसेका पैठारीकर्ताले क्विन्टलमा ५०० रुपिँया घटाएका छन् । नेपालमा वार्षिक नौलाख टन गहुँको माग रहेको छ । त्यसमध्ये एकतिहाई माग आन्तरिक उत्पादनले धान्दै आएको छ ।
गहुँ नपाउँदा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका ६ मैदा र २० आँटा उद्योगसँगै ती उद्योगबाट उत्पादनमा आधारित बाँकी प्रभावित भएका छन् । मैदा र आँटा प्रयोग गर्ने चाउचाउ, बिस्कुट, पास्ता, नुडल्, प्लाई, बेकरी जस्ता उद्योगको उत्पादन कटौती गरिएको छ ।

मैदा र आँटामा आधारित चारवटा चाउचाउ उद्योग, तीन बिस्कुटका ठूला र आधा दर्जन साना उद्योग, प्लाईका ३० उद्योग, एकसयको हाराहारीका बेकरी, एकसयकै हाराहारीमा नुडल्स र चिप्स, फिंगर्स, पास्ता लगायताका ४० उद्योग छन् ।
यसैगरी होटल, रेष्टुरेन्टको परिकारमा खपत र मिठाई उद्योगमा आवश्यक पर्ने कच्चा समेत गहुँकै प्रयोग हुने गरेको छ । विशाल मैदा मिलका सञ्चालक एवं मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले भारतले कोटा तोकेर दिएको ५० हजार टनमध्ये ३० हजार टन गहुँको कोटा २४ उद्योगलाई दिइएको छ । तर, कोटा बाँडफाँड गरिएको गहुँ पनि अझै आईसकेको छैन ।

आँटा सर्वसाधारणको घर–घरमा दैनिक प्रयोगमा आउने भएपनि आँटा भने औद्योगिक प्रयोजनमै बढी खपत हुने गरेको छ । मैदाबाट बन्ने चाउचाउ, बिस्कुट, बेकरी मात्रै नभई प्लाई उद्योगमा समेत यसको प्रशस्त खपत हुने गरेको छ । त्यस्तै होटल तथा रेष्टुरेन्टमा बन्ने परिकारमा समेत मैदा धेरै प्रयोग हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्