सन १९९३ मा नेपाल सरकारद्वारा स्थापना गरिएको पूर्वाञ्चल विश्वाविद्यालय विद्यार्थी संख्याको हिसाबले नेपालको पुरानो त्रिभुवन बिश्वविद्यालयपछिको दोस्रोमा पर्छ शिक्षामा आम मानिसको सरल पहँुच पुग्नुपर्छ, गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने उद्देश्यले यो विश्वविद्यालयको स्थापना भएको थियो । विश्वविद्यालय अहिले ५ वटा आङ्गिक क्याम्पस र १२३ भन्दा बढी सम्बन्ध प्राप्त शैक्षिक संस्थाबाट आफ्नो शैक्षिक कार्यक्रम चलाइरहेको छ ।
मन्त्रीपरिषदको बैठक बाट विश्वविद्यालयलाई मेडिकल कलेज संचालन गर्ने बाटोका लागि कोसीलाई टिचिङ्ग अस्पतालको रुपमा सहकार्य गर्न अनुमती दिइएको सार्वजानिक भएको छ । प्रदेश १ मा विश्वविद्यालयले मेडिकल कलेज चलाउने अनुमती पाउनु आंफैमा एउटा सकारात्मक विषय हो । तर, मेडिकल कलेज चलाउन पाउने न्युनतम मापदण्ड विश्वविद्यालयले पूरा गरेको छ की छैन, त्यो महत्वपूर्ण कुरा हो ।
कोसी अस्पताललाई अभ्यास शिक्षण अस्पताल बनाउन स्वीकृति पाएको पूर्वाञ्चल विश्वविद्यालयको तयारी छ । त्यस्को लागि कोसी अस्पतालको अवस्था बारे बिश्वविद्यालय जानकार छ कि छैन त्यो पनि अर्को महत्त्वपूर्ण पक्ष हो । यदि आँखामा पट्टि नलगाएको भए बिश्वविद्यालयले अहिले संचालन गरिरहेको शैक्षिक कार्यक्रम बारे मन्त्रीपरिषद पनि पक्कै जानकार नै होला। इन्जिनियरिङ सङ्काय सबैभन्दा बढी भद्रगोल छ । परीक्षा समयमा हुन सक्दैन । परीक्षाफल आउन सक्दैन । दुइदुई पटक ‘प्रवेश परीक्षा’ लिएर खोरमा बाख्रा कोचे जस्तो विद्यार्थी कोच्ने बिश्वबिद्धालयलाई भर्ना भएका विद्यार्थीहरु बारे कुनै चासो हुदैन या भनौ बिश्वविश्वविद्यालयले आफ्नो विद्यार्थीको अभिभावकत्व ग्रहण गर्न चाहदैन । उसको लक्ष्य केवल सम्बन्ध प्राप्त कलेजहरुमा बढी भन्दा बढी विद्यार्थी कोच्नुमै सिमित हुन्छ ।
उपकुलपति नियुक्त गर्नुपर्दा त्रि.वि. का कर्मचारी ल्याइन्छ जस्लाइ आफ्नो कार्यकाल विश्वविद्यालय बारे बुझ्दैमा जान्छ । झन राजनीतिक भागबन्डा बाट आएपछि राजनीति पनि गर्नै पर्यो । यस्तो रवैयाबाट बिद्यार्थीहरुले विश्वविद्यालयलाई आफ्नो प्राथमिकतामा राख्नै छाडे । फलस्वरूप अहिले प्रतिष्ठित निजी कलेजहरुलाइ समेत बिद्यार्थी पाउन मुस्किल भैरहेको छ भने अरु कलेजको अवस्था बारे भनिराख्नै परेन ।
अहिले भईरहेको शैक्षिक कार्यक्रम राम्रोसँग चलाउन नसकेर लथालिङ्ग भएको बिश्वविश्वविद्यालयलाई मेडिकल कलेजको त्यत्रो भार सुम्पिदा कसरी अगाडि बढ्ने हो ? लाखौं खर्च गरेर दक्ष चिकित्सक बन्न आएका ती विद्यार्थीहरुको भविष्यमाथि कुनै कुठाराघात त हुने हैन ? ठुलो प्रश्न चिन्ह खडा भएको छ । अन्त्यमा स्थानीयहरुको आवाजले आफ्नै गाउँठाउमा मेडिकल कलेज त आयो तर नामको मात्र आयो कि काम को आयो, आगामि दिनमा प्रष्ट हुँदै जाने नै छ ।
लेखक : पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी एवम् अनेरास्ववियू स्थायी कमिटी सदस्य हुन् ।