विराटनगरका ज्वेलर्समा पुराना गहना पल्टी गर्ने बढे

विराटनगरका ज्वेलर्समा पुराना गहना पल्टी गर्ने बढे

विराटनगर । मंसिर यता विवाह–व्रतबन्ध, गुन्यूचोली जस्ता सामाजिक परम्पराका बाक्लै कार्जे परे । तर, नयाँ सुन खरिद गरेर गहना बनाउने ग्राहक खासै आएनन् । सुनको मूल्य बढेर एकलाख नाघ्यो, सेवाग्राहीले नयाँ सुन किन्न भन्दा पुरानो सुनका गहना पल्टी गरेर नयाँ डिजाइनमा रुपान्तरण गरेर टारे ।

नेपाल सुनचाँदी व्यवसायी संघ मोरङका अध्यक्ष शशिभुषण साहका अनुसार अन्य क्षेत्रमा जस्तै ज्वेलर्सहरुको कारोबार विवाहको सिजनमा निक्कै कम भएको हो । जिल्लामा रहेका १४० साना–ठूला ज्वेलर्समा नयाँ सुन खरिद गरेर गहना बनाउने भन्दा पुराना गहना बोकेर पल्टी गर्नेहरु धेरै आएका हुन् ।

अध्यक्ष साहका अनुसार बैंकबाट सुन ल्याएर सबै ज्वेलर्समा वितरण गर्ने गरिएको छ । यसरी वितरण गर्दा २० देखि ४० ग्राम सुन लिनेहरु छन् । त्यो पनि दैनिक सुन पाईदैन । सुन नपाएको चिन्ता पनि व्यवसायीलाई छैन । पैसाको समेत अभाव भएपछि सुन खरिद गरिरहनु पर्ने चिन्तामा कोहि परेका छैनन् ।
संघका अध्यक्ष साहका अनुसार गतवर्ष २२ केजी नयाँ सुन खपत भएको थियो । यो सालभरीको तथ्यांक हो । चालु आर्थिक वर्षको फागुनसम्मको आठ महिनामा ९ केजी सुन बैंकबाट आएको छ । बैंकबाट सुन ल्याउनका लागि करचुक्ता प्रमाणपत्र अनिवार्य हुन्छ । सबैले वैधानिक कागजातका आधारमा मात्रै सुन पाउछन् ।

राठी गोल्ड सिल्भरका सञ्चालक जुगलकिशोर राठीका अनुसार आर्थिक मन्दी र सुनको मूल्य बृद्धि हुँदाको प्रभाव कारोबारमा देखिएको छ । पुरानो गहना बिक्री गर्नेको संख्या पनि उतिकै रहेको राठीको भनाई छ । गत वर्षको मंसिरयता बैशाखसम्मको सिजन भन्दा चालु वर्षको मंसिरयताको कारोबार ६० प्रतिशतको हाराहारीमा खस्किएको छ ।
कारोबार खस्कदाँ त्यसको असर रोजगारीमा आश्रित कालिगढलाई समेत परेको छ । सुनका गहना बनाउने कालिगढको संख्या ८०० भन्दा बढी रहेको छ । उनीहरु समेत बेरोजगार भएको विजय हाउसका विजय राठी बताउँनु हुन्छ । ‘समस्या यस्तो छ की सुनका गहना बनाउन आउने भन्दा बिक्री गर्ने धेरै छन्, पैसा छैन खरिद गर्न पनि पाईदैन’ राठीले भन्नुभयो–मन्दिको असर निक्कै परेको छ, सुन खरिद गर्ने अवस्थामा पनि छैनौं ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बैंकहरुबाट सुन खरिद गर्दछन् । दैनिक एउटा वा दुईवटा पसलको नाममा सिफारिस जिल्लास्थित संघले गर्दछ । त्यसका आधारमा सुन ज्वेलर्ससम्म पुग्ने गरेको छ । तर, यो सिजनमा विराटनगरका ज्वेलर्सहरुलाई कुनै हतारो नपरेको अध्यक्ष साहले बताउनुभयो । नयाँ सुन खरिद गर्ने नहुँदा पुरानो गहना ‘मोडिफाइ’ गराउँने काम मात्रै भएको छ ।
नयाँ सुन खरिद गर्नेको संख्या निक्कै कम भएको बेला भारतीय रुपिँया सीमा क्षेत्रमा सस्तिएको छ । कतिपयले नेपाल र भारतमा उस्तै मूल्य हुँदा अवैध रुपमा आउने गरेको हुनसक्ने अनुमान समेत गरेका छन् । सीमा क्षेत्रमा एकसय भारतीय रुपिँया १५० नेपाली रुपिँयामा चल्न थालेको छ । भारतीय रुपिँया सस्तो हुनुको कारण सुनको अवैध आयात भईरहेको हुनसक्ने अनुमान गर्न सकिने दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्