नेतृत्व जन्माएको इतिहास बोकेको मोरङ क्याम्पसमा कसले मार्ला बाजी

नेतृत्व जन्माएको इतिहास बोकेको मोरङ क्याम्पसमा कसले मार्ला बाजी

विराटनगर । स्ववियु निर्वाचन नजिकिँदै गर्दा विराटनगरस्थित महेन्द्र आदर्श बहुमुखी क्याम्पसको इतिहास सम्झनै पर्ने हुन्छ । देशभरजस्तै यही चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । निर्वाचनले महेन्द्र मोरङ क्याम्पसलाई पनि उत्तिकै छोएको छ । देशका शिर्ष नेताको विद्यार्थी राजनीतिको उद्धगम स्थलका रुपमा रहेको यो क्याम्पस विगतका दिनहरुमा चुनावी रौनकता र विवाद पनि उत्तिकै हुन्थ्यो । तर, अहिलेको निर्वाचनमा भने रौनकता कम सँगै शान्तिपूर्ण भएको जानकारहरु बताउछन् ।

महेन्द्र मोरङ क्याम्पसले देशका ठूला राजनीतिक दलका नेता जन्माएका छ । यसै क्याम्पसबाट विद्यार्थी राजीतिमा नेतृत्व सम्हालेकाहरु पूर्व राष्ट्रपति देखि प्रदेशका पूर्वमन्त्री समेत भएका छन् भने कोही राजनीति देखि विश्राम लिइसकेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष पदमा निर्वाचित भएकी विद्यादेवी भण्डारी मुलुकको राष्ट्रपति बनिन् । उनी दुई कार्यकाल पूरा गरी भण्डारीले भर्खरै पदीय जिम्मेवारीबाट विश्राम लिएकी छिन् । उनी ०४० सालमा अनेरास्ववियुबाट महेन्द्र मोरङ क्याम्पसमा स्ववियु कोषाध्यक्ष बनेकी थिइन् ।

०३८ मा फडिन्द्र तिम्सिनाको हत्यापछि मोरङ क्याम्पसमा अनेरास्ववियु पाँचौँ र छैटौँ निर्वाचनमा होमिएका स्ववियुका पूर्वसभापति महेश रेग्मीले जानकारी दिए । त्यसबेला भरतराज पोखरेल सभापतिमा निर्वाचित भए थिए , त्यही कार्यसमितिमा भण्डारी कोषाध्यक्ष बनेकी थिइन् ।
विद्यार्थी आन्दोलनकै माध्यमबाट राजनीतिक गतिविधि गर्नुपर्ने कारण पनि स्ववियुको छुट्टै महत्त्व रहेका पूर्व विद्यार्थी नेताहरु बताउछन् ।
उनीहरुका अनुसार बहुदल आएपछि दलहरूको भूमिका बढी देखिएको र शैक्षिक आन्दोलन केही फितलो भएजस्तो हुन थाल्यो ।
मोरङ क्याम्पसकै स्ववियु सभापति भएर राजनीतिमा होमिएका विजयकुमार गच्छदार देशको उपप्रधानमन्त्रीसम्म बने । उनले राजनीतिको केन्द्रमा छाइरहने नेताको परिचय समेत बनाएका छन् । पछिल्लो संसदीय निर्वाचनमा पराजित भएपछि गच्छदार राजनीतिक रूपमा निष्क्रियजस्तै बनेका छन् ।

मोरङ क्याम्पसमा नेतृत्वदायी भूमिकामा रहेका कतिपय नेता अहिले केन्द्रीय राजनीतिमा सक्रिय छन् । कतिपय प्रदेशसभा र प्रतिनिधिसभा सदस्य छन् ।

कसको इतिहास कस्तो ?
०३६ सालमा पहिलोपटक ध्रुवनारायण श्रेष्ठ स्ववियु सभापति बनेका थिए । ०३८ सालको निर्वाचन विवादित बन्यो । तत्कालीन नेविसंघका नेता विजयकुमार गच्छदारको टिमले स्ववियु कब्जा गरेको थियो । त्यही वर्षको मंसिर ९ गते फणिन्द्र तिम्सिनाको हत्या भयो । स्ववियुमा लामो समय तालाबन्दी भएको थियो । यस्तै मोरङ क्याम्पसका स्ववियु सभापतिमा निर्वाचित नेविसंघका नेता गुरुराज घिमिरे पार्टी राजनीतिमा सक्रिय छन् । तत्कालीन स्ववियु सभापतिमा निर्वाचित नेविसंघकै नेता भीम पराजुलीले विराटनगर महागनरपालिकाको मेयरका रूपमा एक कार्यकाल पूरा गरेर अहिले उनी प्रदेशसभा सदस्य छन् ।
तत्कालीन स्ववियु सभापति ऋषिकेश पोखरेल दुईपटक संघीय सांसद बनेका उनी उनी एमाले मोरङ अध्यक्षको जिम्मेवारीमा छन्  अनेरास्ववियुबाट विद्यार्थी राजनीति गरेका विराटनगरका सागरकुमार थापा अहिले एमालेका महानगर कमिटी अध्यक्ष छन् ।

को–को भए स्ववियु सभापति ?
मोरङ क्याम्पसमा ०४१ सालमा रमेश भट्टराई स्ववियु सभापतिमा निर्वाचित भए । ०४३ सालमा भूराज राई सभापति बने । उनी जनता समाजवादी पार्टी (जसपा) हुँदै फेरि नेकपा (एमाले)को राजनीतिमा फर्किएका छन् ।

०४५ देखि ०४९ फागुनसम्म महेश रेग्मीले नेतृत्व गरे । ०४९ देखि ०५१ सालसम्म नेविसंघका यदु विष्ट, ०५१ देखि ०५३ सम्म नेविसंघकै गुरुराज घिमिरे, ०५३ सालमा अनेरास्ववियुका ऋषिकेश पोखरेल, ०५५ मा नेविसंघका उपेन्द्र गच्छदार, ०५७ र ०६० मा अनेरास्ववियुका सागरकुमार थापा, ०६२ मा भीम पराजुली र ०६५ सालमा जयराम सुन्दास सभापति बने । सुन्दासको नृतत्वदेखि यता हालसम्म महेन्द्र मोरङ
क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । करिब १४ वर्ष पछि हुन लागेको निर्वाचन पहिलेको भन्दो अहिले निक्कै शान्तिपूर्ण ढंगबाट हुन लागेको सोही क्याम्पसका पूर्व विद्यार्थी नेताहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्