सुजता लिम्बु
विराटनगर । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने आम युवा पुस्ताहरुको धारणा खासै सकारात्मक भेटिदैन । कोही यहाँका राजनीतिक प्रणालीदेखि दिक्क छन, कोही कहिल्यै नसुध्रिएका नेताहरुप्रति आक्रोस पोख्छन् ।
पढेर पनि नेपालमा काम नपाइने जस्ता गुनासोले भरिएका थुप्रै युवाहरुको दुखेसो नसुनिएको पनि होइन् । देशको विविध परिस्थिति र परिवेशलाई औँल्याउँदै अधिकांश युवाहरुको पढाई र रोजिरोटीको अन्तिम गन्तव्य युरोप, अमेरीका, दुबई, कतार बन्छ ।
त्यसो त नेपालमा अवसर नभेटेका युवाहरुको भीडबाट आफूलाई बाहिर निकालेर आफ्नै देशको माटोमा सम्भावना खोज्दै संघर्ष र सफलताको बाटोमा हिँडिरहेका पनि भेटिन्छन् ।
तीमध्ये व्यवसायिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने दौडमा दौडिरहेका ईलाम सुर्योदय नगरपालिका–१४ ठूलो बर्दुका बुद्धभुषण योन्जन यतिबेला आफू जन्मेर हुर्केको माटोमा स्वर्णिम भविष्य खोजिरहेका छन् । उनी होराइजन बर्दु भ्याली टि इण्डस्ट्रिजका सञ्चालक हुन् । उनको परिचय एउटा उद्योगीले मात्रै पनि पुग्दैन खेलकुद क्षेत्रका लागि फोटो पत्रकारितामा आफ्नो छुट्टै छाप छोडेका छन् ।
इलामको प्राकृतिक सुन्दरता, त्यहाँको उर्बर माटोसँग खेल्दै चियाका पातहरुसँग साउती मार्दैे उनको गाँउमै बाल्यकाल बित्यो । जब उमेरको खुड्किलाले सिँढी थप्दै गयो गाँउ छोडेर प्राविधिक बन्ने सपनाको हुटहुटीले उनलाई शहर तिर तान्यो । घण्टौ दुरीसम्म पैदल हिँडेर स्कुले जीवन विताएका उनी २०५३ सालको एसलसी सके लगत्तै सव–इन्जिनियर पढ्नका लागि विर्तामोड झरे । उनको सपना त्यतिमा मात्रै रोकिएन । सव–इन्जिनियरको पढाई सकेर संगित सिक्ने र गायक बन्ने सपनाको होडबाजीसँगै काठमाडौं टेक्ने निधो गरे । नयाँ ठाँउ, नयाँ परिवेश उनका लागि काठमाडौं शहर मात्रै नयाँ थिएन, त्यहाँको माटो, हावापानी सबै अपरिचित थियो । उनीसँग परिचित थियो त विर्तामोडदेखि मनमा सझाएर ल्याएको कलाकार बन्ने सुन्दर सपना । त्यही सपना पनि उनको मानसपटलबाट कहिलेकाँही बाक्लो शहरमा कतै हराए झैँ अनुभुती नभएको पनि होइन । यद्यपी रहरै रहरले भरिएको शहरमा बाँच्नै पर्ने बाध्यतामा रहेको उनी सुनाउछन् ।
द्धन्द्धको घाउले सपनामा चोट लाग्यो
‘घर छोड्दा गाँउ शान्त थियो, एक्कासी माओवादी द्धन्द्ध चर्किएसँगै म घर फर्किन सकिन ।’ उनी विगत सम्झिदै सुनाउछन् । माओवादी शसस्त्र द्धन्द्धको समय उनको परिवारमा समस्या आईप¥यो । त्यो क्षण चाहेर पनि भुल्न नसक्ने उनी सुनाउछन् । २०५८ सालमा इलामको घरबाट परिवार नै विस्थापित भएर शहर पस्न बाध्य बनेको बताए । उनी भन्छन्,‘द्धन्द्धको समय घर परिवार शहरमा झर्नुपर्ने अवस्था आएपछि मेरो संघर्षको यात्रा सुरु भयो ।’ प्राविधिक शिक्षा अध्ययन सकेर गायक बन्ने सपनाले काठमाण्डौ हान्निएका उनी परिवार गाँउबाट विस्थापित भएसँगै यात्राले अर्कै बाटो मोडिएको सुनाउछन् । परिवारको जिम्मेवारी र आफू बाँच्नका लागि काठमाडौंमा ट्याक्सी चालक भएर यात्रु र तिनको गन्तव्य खोज्दै सपना तुहिएका थुप्रै वटा तिता अनुभव र अनुभूतिहरु उनले संगालेर राखेका छन् । समय र बाध्यताले अप्ठ्यारो परिस्थितिमा पनि जिउन सिकाएको बताउने उनी त्यही शहरले पीडा र खुशी मिलाएर दिएको बताउँछन् । ७ महिनासम्म चालक भएर काम गर्दाका तिता मिठा अनुभूतिसँगै अप्ठ्यारोसँग बाँचेको जीवनलाई सहज बनाउदै धैर्यताका साथ अघि बढेको उनको यात्रा काठमाडौंको एउटा प्रोजेक्टमा जागिर पाएसँगै केही सहज भएको थियो ।
भाईको मृत्युले यात्रा मोडियो
२०६८ साल कात्तिक ३ गते उनको जीवनले अर्कै मोड लिएला भन्ने सोचेका पनि थिएनन् । तर, उनले त्यो समय प्रिय पात्र गुमाउनु परेको थियो । अर्थात उनको कान्छा भाई सवारी दुर्घटनाम परि मृत्यु भएको खबरले उनको परिवार क्षणभरमा शोकमा डुब्यो । भाईको वियोगमा विक्षिप्त बनेका बुबाआमाको खुशी र भाईको तृष्णा मेटाउन जागिर छोडेर आफ्नै माटोमा केही गर्ने भन्ने सोचले पुनः चियासँग साइनो जोड्न सुरु गरेको सुनाए । त्यही दिनबाट उनी आफ्नौ माटोमा पसिना बेचिरहेका छन् ।
‘आप्पाआमा’को त्यो सपना
आफ्नो मान्छे गुमाउनु नियतिको खेल हुँदो हो, आफ्नो मान्छे जन्मेको जमिनसँगै जोडियोस् भन्ने बुवाआमाको सपना रहेको उनी बताउँछन् ।
१९५२ बाट हजुरबुवा थरी जमानसिंह तामाङले सुरु गर्नु भएको चिया खेतीमा आफ्नै सन्तानले मलजल गरोस् भन्ने उनको बुवा आमाको सपना रहेको र त्यही सपना पुरा गर्नु पनि अहिलेसम्म प्रतिवद्ध भएर लागेको उनी सुनाउछन् ।
‘भाई गुमाउदाको पिडा छँदैछ, तर, यही माटोमा बस्न मेरो आपा र आमाको सपना थियो,’ उनले भने ‘आमा त अहिले हामी बीच हुनुहुन्न, आपासाथै हुनुहुन्छ उहाँहरुको सपनालाई मर्न दिनुहुँदैन भन्ने लागेर पनि म यही दु:ख गरिरहेको छु ।’
बाल्यकालदेखिको चियासँगको साइनो व्यवसायसम्म पु¥याउन खोज्दा जीवनमा धेरै संघर्षका जंगार तरेका छन् । २०६९ सालबाट आफ्नै गाँउ फर्किएका उनी सव–इन्जिनियरको विद्यार्थीको हैसियतले काम गरे, कहिले फोटो पत्रकारिता त कहिले सवारी चालक कुनै रहरका त कुनै बाँच्नका लागि जोडिएको पेसा रहेको उनी सुनाउँछन् । ‘पढाई फरक छ, आफूले रोजेको पछिल्लो पेसा फरक छ, समयसँगै दौडिनुपर्ने मान्छेको जीवन रहेछ,’ उनी सुनाउँछन्,‘ तर, म उद्योगी बनेर पनि खुशी नै छु, आपाआमाको सपना पुरा गरेको छु ।’
जीवनमा अनेकन दु:ख वेहोर्दा पनि कहिल्यै विदेशीने सोँच नआएको बताउने उनले अहिले आफ्नो चिया उद्योगमा मात्रै १० जनालाई रोजगार दिएका छन् भने बगानमा गाँउका महिला दिदिबहीनीहरुलाई आत्मनिर्भर बन्न प्रेरित बनाएका छन् ।
उद्योगमा कामदार अभाव
पछिल्लो समय वैदेशिक रोजगारीमा युवाहरुको बढ्दो आकार्षणसँगै उद्योगमा कामदार अभाव हुने गरेको उनी सुनाउँछन् । कामदारको अभावले उद्योग सञ्चालमा केही चुनौती बढ्दै गएको समेत उनको अनुभव छ । गाँउका युवाहरु वैदेशिक रोजगारीमा जाने क्रेज बढेसँगै उद्योगमा कामदार अभाव हुन थालेको छ, उनी भन्छन्, रेडियो एफएमको विज्ञापनले पनि युवाहरुलाई विदेशीन प्रेरित गर्ने रहेछ, गर्न सके यहीँ राम्रो कमाई छ ।´
नेपाली चिया विश्वबजारमा चिनाउन सकस
नेपालको चियालाई विश्वबजारमा परिचित गराउन निक्कै सकस हुने गरेको उनी सुनाउँछन् । विश्वबजारमा दार्जिलिङ चियाले नेपालको चियालाई असर गरेको बताउने उनी यसका लागि नेपाल सरकारले ठोस कदम चाल्नु पर्नेमा जोड दिन्छन् । उत्कृष्ट हावापानी, उर्बर माटोमा उम्रिएको चियालाई नेपालले विश्वबजारीकरण गर्न नसक्नु कतै राज्य पक्षबाट पनि केही कमीकमजोरी भएको उनी बताउँछन् ।
‘दार्जिलिङको चिया भन्दा नेपालको चिया उत्कृष्ट हुन्छ, उचित हावापानी उत्पादनको हिसाबले ३० देखि ४० वर्षसम्मको छ दार्जिलिङमा २ सय देखि डेढ सय वर्षको बोट छ,‘उनी भन्छन्,‘नेपालमा विषादी प्रयोग गर्दैनौ तर विश्वबजारमा हामी डोमिनेट छौँ, यसमा जबसम्म सरकारको तर्फबाट नितिगतरुपमा ठोस निर्णय हुँदैन तबसम्म चुनौती छ ।’
नेपालको चियालाई सस्तोमा खरिद गरेर दार्जिलिङ ब्राण्ड दिने गरेको बताउँदै उनले नेपालको चियामा स्वाद, क्वालिटी उत्कृष्ट हुने गरेको दाबी छ । उनी भन्छन्,‘नेपालमा प्रतिवर्ष ६५ लाख केजी चिया उत्पादन हुन्छ त्यो कहाँ जान्छ त ?’ उनी आफूले उत्पादन गरेको चिया भारतीय बजारमा बिक्री वितरण गर्दै आइरहेका छन् भने कोभिड अगाडी अमेरिकामा पनि आफ्नो ब्राण्ड बिक्री गर्न सफल भएको दावी गर्दछन् । कोभिड पछि विस्तारै लयमा फर्किदै गरेको चिया व्यवसाय आफ्नो ब्राण्ड विश्वबजारमा पु¥याउने लक्ष्य उनको छ ।
परिवारको बलियो साथ
आफ्नो काम प्रति उत्तरदायित्व लगाव भए जिरोबाट पनि उठ्न सकिने बताउने उनी परिवारको दर्बिलो साथ नहुँदो हो सफलता प्राप्त गर्न नसक्ने बताउछन् । आफू शुन्य हुँदा पनि आपाआमा र श्रीमतीको बलियो साथले थप हौसला मिलेको उनी सुनाउछन् ।
‘मलाई दुःख पर्दा आपाआमा, श्रीमतीको साथ पाए अहिले जेठा छोराले पनि व्यापारमा साथ दिँदै आएको छ, सानो छोरा पढ्दैछ, परिवारको साथले पनि म केही गर्न सकेको हो, उनी सुनाउँछन्,‘ थप झै केही गर्ने योजनाहरु त छँदै छ ।’