मुन्दुम पदमार्ग र साल्पा क्षेत्रको बृहत्तर विकासमा जोड

मुन्दुम पदमार्ग र साल्पा क्षेत्रको बृहत्तर विकासमा जोड

भोजपुर । यहाँको पर्यटनमा जोड दिन मुन्दुम पदमार्ग र साल्पा क्षेत्रको बृहत्तर विकास गरिने भएको छ । यो पदमार्गको विकास गर्दै जिल्लाको सबैभन्दा अग्लो सिलिछो चुचुरो र साल्पा पोखरीको विकासका लागि पहल थालिएको हो । विस्तार भइरहेको मुन्दुम पदमार्गलाई ‘ग्रेटर मुन्दुम ट्रेल’का रूपमा विस्तार गर्दै साल्पा क्षेत्रलाई आर्कषक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न लागिएको हो ।

नेपाल सरकारले छनोट गरेको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गले साल्पा क्षेत्रलाई समेटेको छ । यो पदमार्गको विकाससँगै साल्पा क्षेत्रलाई यहाँको मुख्य पर्यटकीय स्थल बनाउन साल्पासिलिछो गाउँपालिकाले अगुवाइ थालेको हो ।

धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको साल्पा क्षेत्रको विकास गर्दै यसलाई गाउँपालिकाको आर्थिक स्रोतको रूपमा जोड्न विकास तथा संरक्षणमा पहल थालिएको हो । गाउँपालिकाले ‘मुन्दुम ट्रेल–साल्पा सिलिछो विकास तथा प्रवर्द्धधन सम्मेलन २०८०’ आयोजना गरेर सीमा जोडिएका अन्य स्थानीय तहहरूसँग साझेदारी विस्तार गरेको हो ।

साल्पासिलिछोको पहलमा मुन्दुम पदमार्ग तथा साल्पा–सिलिछो क्षेत्रको विकासमा यहाँका स्थानीय तहरूले २४ बुँदे साझा सङ्कल्प पत्र जारी गरेका हुन् । यो क्षेत्रलाई नेपालको एक पर्यटकीय सम्पतिका रूपमा विकास गर्नका लागि मुन्दुम पदमार्ग र साल्पा क्षेत्रसँग जोडिएका स्थानीय तहहरू साझारूपमा विकास गर्न जुटेका हुन् ।

पर्यटकलाई लक्षित गरेर ८८ किलोमिटर मुन्दुम पदमार्गको निर्माण भइरहेको छ । सोमध्ये हालसम्म ६२ किलोमिटरभन्दा बढीले पूर्णतासमेत पाएको छ । योे गाँउपालिकासहित चार ओटा र खोटाङका दुई ओटा स्थानीय तहलाई लक्षित गरेर पदमार्ग निर्माण भइरहेको छ । पदमार्ग टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र खोटाङको साकेला र केपीलासगढी गाउँपालिकामा विस्तार गरिएको छ ।

‘जलवायु परिवर्तन न्यूनीकरणका लागि जैविक विविधता एवं वातावरण संरक्षणमा प्रतिबद्धता, स्थानीय जनताको जीविकोपार्जनमा सुधारका लागि पर्यापर्यटन प्रवर्द्धनमा सामुहिक ऐक्यबद्धता’ भन्ने मूल नारासहित तीन हजार चार सय ४३ मिटर उचाइमा रहेको साल्पा पोखरीमा अन्तरपालिका बैठकसमेत गरिएको छ ।

साल्पासिलिछो गाउँपालिकाको आयोजना तथा जि फाउन्डेसनको साझेदारीमा भएको अन्तरपालिकाको बैठकले यो क्षेत्रलाई विकास गर्न एकजुट हुन सहमति गरेका हुन् ।

साल्पा क्षेत्रमा रहेका प्राकृतिक सम्पदासँगै यहाँका जैविक विविधताको विकासमा पहल थालिने भएको छ । यसको विकासले साल्पा क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु रेड पाण्डा, कस्तुरी मृग, भीरमाहुरी लगायतको संंरक्षण गरिने साल्पासलिछो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाको हिमाली जङ्गली जडीबुटी र वनस्पतिको संवर्द्धन तथा प्रवर्द्धनमार्फत जैविक विविधताको संरक्षणमा योगदान पुर्याउने लक्ष्य रहेको उहाँको भनाइ छ । जलवायु परिवर्तनले पारेका नकारात्मक प्रभावलाई कम गर्न भूमिका खेल्ने उहाँले बताउनुभयो ।

“हामीले मुन्दुम पदमार्ग र साल्पा क्षेत्रको विकासमा पहल थालेका छौँ”, प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, “हाम्रो पहलमा साल्पासिलिछो क्षेत्रमा सीमा जोडिएका स्थानीय तहसँग सहकार्यको वातारवरण बनाएका छौँ । यो क्षेत्रलाई विकास गरेर नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन जुटेका छौँ ।”

वातावरण तथा जैविक विविधता संरक्षण र साल्पासिलिछो क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावका बारेमा नेपाललगायत विश्वभर चेतना जगाउने उद्देश्य रहेकोसमेत उहाँले बताउनुभयो । “यो पर्याप्त संरक्षण तथा प्रचार प्रसार नहुँदा ओझेलमा परेको क्षेत्र हो”, उहाँले भन्नुभयो, “नेपालमा यस्ता पर्यटकीय क्षेत्र कमै मात्र छन् । साल्पा क्षेत्र विश्वमा दुर्लभ मानिने रेड पाण्डा पाइने स्थल पनि हो । यहाँको विषेशतालाई विश्वमा चिनाउने हाम्रो लक्ष्य हो ।”

जङ्गली कुकुर, मृग, घोरल, बाघ, भालुका बासस्थान क्षेत्रलाई पनि संरक्षित गरेर लैजाने उहाँको भनाइ छ । सन् २०२५ मा मुन्दुम पदमार्गमा कम्तीमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

साल्पा क्षेत्रले छोएको सोलुखुम्बुको महाकुलुङ गाउँपालिका, सङ्खुभासभाको सिलिचोङ र भोजपुरको साल्पासिलिछो गाउँपालिकासँगै मुन्दुम पदमार्गसँग जोडिएका भोजपुर, खोटाङ, सोलुखुम्बु र सङ्खुवासभाका स्थानीय तहहरूको सहभागितामा यसको विकासमा जोड दिइने भएको हो ।

‘मुन्दुम ट्रेल–साल्पा सिलिछो विकास तथा प्रवर्द्धन सम्मेलन २०८०’ ले यहाँको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलत कुलुङले बताउनुभयो । साझारूपमा गरिएका सङ्कल्पपत्र कार्यान्वयन हुने उहाँको भनाइ छ । “साल्पा क्षेत्र र मुन्दुम पदमार्ग हाम्रो गाउँपालिकाको मात्र नभएर यो देशको सम्पत्ति हो”, अध्यक्ष कुलुङले भन्नुभयो, “हामीले यस क्षेत्रको विकासको लागि २४ बुँदे संयुक्त सङ्कल्पपत्र जारी गरेका छौँ । साल्पा क्षेत्रले जिल्लाको पर्यटकीय क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्नेमा हामी ढुक्क छौँ । सङ्कल्पपत्रमा उल्लेख गरिएका विषयवस्तु पूरा गर्न हामी प्रतिबद्ध छौँ ।”

यहाँको विकासका लागि साझारूपमा पहलकदमी थालेर बजेटको व्यवस्थापन गर्दै मुन्दुम पदमार्गको ६० प्रतिशत खण्ड स्तरोन्नति भइसकेको भए पनि बाँकी ४० प्रतिशत खण्डलाई सम्पन्न गर्न पहल थालिने भएको छ । सप्तकोशी खुवालुङदेखि चोमोलुङसम्म ‘ग्रेटर मुन्दुम ट्रेल’ विस्तार गर्न बजेटको लागि पहल गरिने भएको हो । साल्पापोखरीदेखि हुँगाखोला महाकुलुङ, आम्फुलाप्चा पास हुँदै सगरमाथा आधार शिविर जाने भागको खोज तथा अनुसन्धान गर्ने बताइएको छ ।

सप्तकोशी खुवालुङ उपत्यकालाई ग्रेटर मुन्दुम ट्रेलको पदैलमार्गका रूपमा विकास गर्दै सगरमाथा क्षेत्र पुग्ने पर्यटकसमेत खुवालुङ हुँदै कोशीटप्पुसम्म आइपुग्ने पदमार्गलाई ग्रेट मुन्दुम ट्रेलका रूपमा विकास गर्ने सङ्कल्पपत्रमा उल्लेख गरिएको छ ।

मुन्दुम पदमार्गसँग जोडिएको साल्पा, सिलिछो डाँडा समुन्द्री सतहबाट चार हजार एक सय ५५ मिटर उचाइमा रहेको छ । यो चुचुरो भोजपुरको अग्लो स्थान पनि हो । चुचुरोको काखैमा रहेको पोखरीमा आन्तरिक पर्यटकहरू आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वासले पूजाआजा गर्नका लागि पुग्ने गर्छन् ।

खास गरेर साल्पा क्षेत्रमा वर्षमा चार पटक मेलासमेत लाग्ने गरेको छ । वैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्ने गरेको स्थानीयवासीको भनाइ छ । यहाँ भोजपुर, खोटाङ, सङ्खुवासभा, धनकुटा, खोलुखुम्बुलगायत देशका विभिन्न ठाउँबाट भक्तजनहरू पुग्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्