‘मान्छेले मान्छेलाई दिएको चोटले पनि बाँच्न सिके’

‘मान्छेले मान्छेलाई दिएको चोटले पनि बाँच्न सिके’

सुजता लिम्बु
विराटनगर । कोशी अस्पतालको शै्यामा प्रसव पिडाले आमा छटपटाइरहँदा परिवार भने छोरा जन्मेला भन्ने आशमा थिए । नभन्दै जब ‘लेभर रुम’ बाट निस्किएको स्वास्थ्यकर्मीले छोरा जन्मेको खबर सुनाए, त्यो समय परिवारमा खुशीको छाल छल्किएर गाँउसम्म पुग्यो ।
त्यो बेला चारजना दिदीहरुले एउटा माइती पाउँदा थेगिनसक्नुको खुशी र छोरा जन्मेला भन्दाभन्दै चारवटी छोरी जन्माएकी आमाको पाठेघरले बल्ल विश्रामको महसुस गर्दाको क्षण ।

त्यसो त उनका बुबाले छोरा जन्मेको खुशीयालीमा गाँउभरका आफन्त बोलाएर मासु भात नै खुवाएका थिए । तर, समयसँगै त्यो खुशीको स्वरुप बदलिदै गयो । जब चन्चला लिम्बू (नुमा) को उमेरको खुड्किलाले संख्या थप्दै गयो उनले बाँचेको जीवन र स्वभावमा परिवर्तन हुन सुरु गरेको थियो ।
जन्मिदा पुरुष भएर जन्मेका उनलाई नौ वर्षको हुँदा आफूलाई छोरा होइन भन्ने महसुसले दिनरात सताउन थालेको थियो ।
तत्कालिन समय मोरङको रंगेलीमा बस्दै आएका उनको परिवार मधेश आन्दोलनको त्रासले केराबारी बसाई सरे । तर उनी अहिले झापाको दमक बस्दै आइरहेकी छिन् । उनी लिड नेपाल संस्थाको झापा जिल्लाको कार्यक्रम संयोजक समेत हुन् ।

बाल्य अवस्थामा आफ्नो पहिचान लुकाएर विद्यालय जानुको पिडा परिवार भित्र आफ्नो वास्तविकता लुकाएर सँगै बाँच्नुको पिडाले उनी जीवनमा धेरै पटक टुटेकी छिन् । यद्यपी जीवन जिउनै पर्छ भन्ने सोचले दोधारे परिचय बोकेर जसोतसो बाँचेकी उनी विस्तारै आफूलाई समाजमा खुलाउदै लगिन् । १६ वर्षको उमेर देखि पूर्णरुपले छोरीको आभास हुन थालेको उनलाई समाजले खुलेर बाँच्न दिने अवस्था थिएन । साथीभाईहरुको खिसिट्युरी, परिवारको हेलाहोचोका चेपुवामा बाँचेको उनको जीवन यात्रालाई जसोतसो अगाडी बढाइन् ।
‘म छोरा भएर जन्मिदा परिवार धेरै खुशी हुनुहुन्थ्यो, जब उमेर बढ्दै गयो मेरा रहर, चाहानाहरु छोरीको जस्तै हुन थाल्यो समाजको साँघुरो सोचसँग जुध्दै आफूलाई बचाउन निक्कै सकस थियो,’ उनले भनिन्,‘तर, खुलेर बाँच्नु थियो, सायद मोरङमा परिचय खुलाएर अगाडी आउने मा म नै पहिलो हो जस्तो लाग्छ ।’

बाटोमा हिँड्दा ढुङ्गा हान्थ्यो
कुनै समय उनी र उनी जस्तै साथीहरु विराटनगरको सडकमा आफूलाई छोरी हुँ भनेर हिँड्दै गर्दा अपशब्द बोल्दै ढुङ्गा प्रहार नभएको पनि होइन । मान्छेको गाली र अपमान सहनु आफूहरुको बाध्यता रहेको बताउने उनी घरकै मान्छेले साथ नदिएको अवस्थामा पराईबाट साथ पाइन्छ भन्ने अपेक्षा नभएको सुनाउछिन् । ‘हामी हाम्रो वास्तविक परिचयसहित खुलेर हिँड्दा मान्छेहरुले ढुङ्गा हान्थे,’ उनी भन्छिन्,‘ हुन त परिवारले नस्वीकारेको हाम्रो पहिचान पराईबाट के अपेक्षा राख्नु जस्तो पनि लाग्थ्यो, मान्छेले मान्छेलाई दिएको चोटले पनि बाँच्न सिके जस्तो लाग्छ ।’

कपाल पाल्नु हुँदैन भनेपछि कलेज छोडे
अनेकन इच्छा, चहाना र परिचयलाई बढाएर कक्षा १२ सम्मको अध्ययन गरेकी उनी स्कुल पढ्दा ताका केटाको पहिरनमा स्कुल जाने गर्थिन् । जब उच्च शिक्षा अध्ययनका लागि उनी कपाल पालेर क्याम्पस जान सुरु गरिन उनलाई शिक्षकले कपाल काट्न लगाए त्यही दिनदेखि यता पढाई छोडेकी उनी अहिले पनि पढाईको भोक नमेटिएको बताउछिन् । ‘उमेर बढेसँगै मलाई कपाल पाल्ने रहर जाग्न थाल्यो, म कपाल पालेर क्याम्पस जाँदा सर ले कपाल काट्नु भन्नुभयो,’ उनले विगत स्मरण गर्दै सुनाइन्,‘म छोरी हुँ नि त किन कपाल काट्नु भन्ने लाग्यो त्यो दिन देखि क्याम्पस नै जान छोडिदिए ।’ उनी लामो स्वास तान्दै थप्छिन्,‘अहिले पनि उच्च शिक्षा हाँसिल गर्ने रहर छ नि ।’

धेरै पटक हिँसामा परे
२०१४ मा थाइल्याण्डमा पुगेर शल्याक्रिया मार्फत महिलाको शरिर बनाएर फर्किएकी उनी संघर्षको दौडानमा धेरैपटक यौन हिंसाको सिकार बन्न पुगेको तितो विगत सुनाइन् ।
छोराले बाच्ने समाज र छोरीले बाँच्ने समाज फरक हुँदो हो उनी हाँस्दै भन्छिन्,‘मेरो इच्छा नफेरिएर छोरा थिए भने सायद हिंसा बेहोर्नु पर्दैन थियो होला है ?’
कहिले मनसिक त कहिले शारिरीक हिँसा बेहोरेर पनि कहिल्यै समाजसँग नहारेकी उनी आफू सफल हुनमा पनि यही समाजमा बाँचेको मानिस रहेको बताउछिन् ।
संघर्षको समय कहिले भोकसँगै अपमान खेप्दै हिँडेकी उनलाई आफ्नो समुदायको नेतृत्वदायी भूमिकामा पुग्छु जस्तो कहिल्यै लागेको थिएन । तर, पनि आत्मबल र आत्मविश्वासले आफूलाई यो स्थानमा पु¥याएको बताउने उनी पहिले भन्दा अहिले जीवन बाँच्न निक्कै सहज भएको सुनाउछिन् । हिजो अपमान गर्नेहरुले नै अहिले सम्मानजनक ठाँउ दिँदा संघर्षको दौडानमा पाइला डगमगाउन नदिनुनै महत्वपूर्ण रहेको उनी सुनाउछिन् ।

राजनीतिमा प्रयोग मात्रै हुन्छ
निर्वाचनको समय यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्रचारप्रसारका लागि प्रयोग मात्रै गर्ने गरेको उनी सुनाउँछिन् । आफूहरुलाई पनि कुनै राजनीतिक पाहुँचसम्म पुग्ने चाहाना भए पनि निर्वाचन सकिएपछि कुनै पनि राजनीतिक दलहरुले सोधिखोजि नगर्ने गरेको उनले गुनासो सुनाइन् । ‘हामीलाई पनि राजनीतिक पहुँचमा पुग्ने इच्छा छ, तर हाम्रो समुदयालाई निर्वाचनको समय खाली प्रचारप्रसारमा प्रयोग मात्रै गर्छन्,’उनी भन्छिन्,‘हाम्रो समुदायलाई निर्वाचन सकिएपछि राजनीतिक दलहरुले बेवास्ता गर्छन् ।’

सीपमुलक काम दिनुप¥यो
लामो समयदेखि यौनिक तथा लैङ्गिक अल्पसंख्य समुदायको हकहित र अधिकारका लागि काम गर्दै आइरहेकी उनी तीनै तहको सरकारले यो समुदायलाई आत्मनिर्भर बन्ने दिर्घकालिन योजना तर्जुमा गर्नुपर्नेमा जोड दिन्छिन् । कोही आफू पालिनुकै लागि देह व्यापारमा फसेका छन त कोही नाचेर जीविकोपार्जन चलाइरहेको समेत उनले बताइन् । ्,‘हाम्रो संस्थाले समुदायको दिदीबहीनिहरुलाई विभिन्न तालिमहरु दिँदै आइरहेका छौँ, त्यति मात्रैले पनि नपुग्ने रहेछ हामीलाई नाच्ने भन्छन्, कोही देह व्यापारले जीवन चलाइरहनु भएको छ,’उनी भन्छिन्,‘ तीन तहको सरकारले अब हाम्रो समुदायलाई पनि सहज र सम्मानित ढंगले बाँच्न दिगो योजना ल्याउनु जरुरी छ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्