विराटनगर । मनसुन सुरु भएसँगै विराटनगरलाई डुबानको चिन्ता सुरु भएको छ । वर्षेनी डुबानको चपेटामा पर्ने विराटनगरका लागि केशलिया र सिंघिया पीडा फर्काउने र खुशी बगाउने खोलाको रुपमा सूचिकृत छन् ।
जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य समितिले विराटनगर महानगरलाई घेरेर बग्ने दुई खोलालाई प्रमुख जोखिममा सूचिकृत गरेको छ । बुढी÷केशलिया सिंघियाले विगतमा सुन्दरपुर, दुलारी, सिनवनी बडहरा, मुरेरी, बौरहा, हात्तिमुढा, दुहबी, टंकीसिनवारी र विराटनगर, बुधनगर, ड्रग्राहा, सिसवनी, तेतरिया, बैजनाथपुर, लखन्तरी र कटहरीलाई प्रभावित बनाएको थियो ।
संभाव्य प्रकापको आंकलन तथा संभावित प्रभाव क्षेत्रको नक्साङकनमा विराटनगरका १, २, ४, ५, ६, ७ ८, ११, १२, १४, १६, १८, १९ नम्बर वडा डुबान प्रभावित क्षेत्रमा पर्दछन् । यी वडालाई डुबाउन केशलिया र सिंघियामा आएको बाढी बढी जोखिम देखिएको छ । डुबानको उच्च जोखिम रहेका क्षेत्रमा पछिल्लो पाँचवर्षमा व्यक्तिको निधन नभएपनि धनको क्षति भने धेरै हुँदै आएको छ ।
जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार महानगरपालिकामा सिंघिया खोलाको बाढीबाट प्रभावित हुनसक्ने वडा र टोलका घरधुरीलाई सुरक्षित व्यवस्थापनमा राख्नका लागि आश्रयस्थलहरुको यकिन गरिएको छ । विराटनगरमा चार हजार ३५० घर परिवार बाढी र डुबानको जोखिममा रहेको तथ्यांक छ । यी घरधुरी प्रभावित भए अल्पकालिन आश्रयस्थलको रुपमा विभिन्न स्थान तोकिएका छन् ।
जिल्ला प्रशासन कार्यालय विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्पर्क व्यक्ति परमेश्वर भट्टराईका अनुसार मोरङमा मनसुनजन्य विपद्बाट नागरिकको सुरक्षाका लागि पूर्व तयारीको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाका १७ स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक परेको अवस्थामा उद्धार तथा व्यवस्थापनमा खटिने छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य समितिले सबै सुरक्षा संयन्त्रलाई आवश्यक पर्दा एकिकृत परिचालन गर्ने गरि तयारी गरेको छ ।