फिफा महिला विश्वकप आजदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा प्रारम्भ हुँदै

फिफा महिला विश्वकप आजदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा प्रारम्भ हुँदै

बहुप्रतिक्षित फिफा महिला विश्वकप आजदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा प्रारम्भ हुँदै छ। दुई देशका नौ सहरमा एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६४ खेल हुने छन् ।

एक महिना अघि नै १० लाखभन्दा बढी टिकट बिक्री भइसकेको थियो । अस्ट्रेलियाको तुलनामा न्युजिल्यान्डमा भने टिकट बिक्री न्यून रहेकोमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले चिन्ता व्यक्त गरेका छन् । अघिल्लो साता फिफाले न्युजिल्यान्डमा २० हजार नि:शुल्क टिकट दिने बताएको थियो । नवौँ संस्करणको विश्वकपको उद्घाटन खेल अकल्यान्डस्थित इडेन पार्कमा हुनेछ ।

समूह ‘ए’ मा रहेको घरेलु टोलीले पहिलो खेलमा नर्वेसँग खेल्नेछ । यो खेल नेपाली समयअनुसार दिउँसो पौने एक बजे सुरु हुनेछ । सन् २००७ देखि विश्वकपमा सहभागी न्युजिल्यान्ड अहिलेसम्म उपाधिविहीन छ । नर्वे पछिल्लो पटक सन् १९९५ मा च्याम्पियन बनेको थियो ।

आजै हुने अर्को खेलमा सहआयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्यान्ड आमनेसामने हुनेछन् । समूह ‘बी’ को यो खेल अपराह्न पौने ४ बजे सिड्नीस्थित स्टेडियममा हुनेछ। घरेलु टोलीको अहिलेसम्मको उच्च प्रदर्शन क्वाटरफाइनलसम्म पुग्नु हो । आयरल्यान्डको भने यो डेब्यु विश्वकप हो। पहिलो पटक महिला विश्वकप एकभन्दा बढी राष्ट्रमा हुन लागेको हो ।

सर्वाधिक सफल अमेरिकाले चार पटक उपाधि जितेको छ । साविक विजेता अमेरिकाले यो पटक फाइनल जिते समग्रमा महिला र पुरुष दुवैतर्फ लगातार तीन विश्वकप च्याम्पियन बन्ने पहिलो राष्ट्र बन्नेछ ।

विश्वकपको पूर्व सन्ध्यामा सिड्नीमा रहेको फिफा संग्रहालयमा फ्यान फेस्टिबल प्रारम्भ भएको छ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पछिल्लो दशकमा महिला फुटबलले अविश्वसनीय विकास गरेको बताएका छन् । महिलाको खेलप्रति अझै शंका गर्नेहरुको पनि यो विश्वकपले मन जित्ने उनको भनाइ छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा आज सुरु हुने विश्वकपको पूर्वसन्ध्यामा अध्यक्ष इन्फान्टिनोले २० लाखभन्दा बढी समर्थकले खेल हेर्ने अपेक्षा गरेको जनाए।

सिड्नीको टुम्बालंगमास्थित फिफा संग्रहालयमा विश्वकप भरी आयोजना हुने फ्यान फेस्टिबलमा गत संस्करणहरुका महत्वपूर्ण सामग्रीहरु राखिने छन्। महिला विश्वकपको नवौँ संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा आजदेखि (जुलाई २०-अगस्ट २०) सम्म एक महिना चल्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्