विराटनगरका परीक्षा केन्द्रमा भारतीय शैक्षिक एजेन्टको भीड, नेपालको मान्यता प्राप्त शैक्षिक संस्था दावी

विराटनगरका परीक्षा केन्द्रमा भारतीय शैक्षिक एजेन्टको भीड, नेपालको मान्यता प्राप्त शैक्षिक संस्था दावी

विराटनगर । विराटनगरमा शनिबार सिटीईभिटीई अन्तर्गत स्वास्थ्य प्राविधिक स्फाट नर्स, एचए, फार्मेसीको प्रवेश परीक्षा सम्पन्न भएको छ । परीक्षा दिनका लागि यहाँका आदर्श, जनता, जनपथ, पोखरीया, महेन्द्र र सरस्वती मा.वि.मा परीक्षा केन्द्रहरु तोकिएका थिए । विराटनगरमा तोकिएका यी केन्द्रमा परीक्षा लेख्न आउने विद्यार्थीका लागि भारतीय विश्वविद्यालयहरुको गजबका अफरसहितका ‘ब्रोसर’ वितरण गर्ने एजेन्टको बाक्लो उपस्थिति रहेको थियो ।

विरानगरसहित कोशी प्रदेशका शहरहरुमा अहिले भारतीय शैक्षिक संस्थाका ‘शैक्षिक परामर्श’ केन्द्रहरुका एजेन्टको भीड नै लाग्ने गरेको हो । नेपाली विद्यार्थीलाई भारतका शैक्षिक संस्थामा अध्ययन गर्न निम्ता दिने एजेन्टहरुले नेपालको सिटीईभिटीई र नर्सिङ काउन्सिलको नाम समेत उल्लेख गर्न थालेका छन् । नेपालको सिटीईभिटीई र नर्सिङ काउन्सिलको मान्यता प्राप्त भारतीय शैक्षिक संस्था भनेर उल्लेख भएका ब्रोसर वितरण हुँदा पनि कसैले चासो नदिएको भन्दै नेपालमा स्वास्थ्य प्राविधिक विषय अध्ययन गराउँदै आएका कलेजका सञ्चालकहरुले गुनासो गरेका छन् ।

विराटनगरका परीक्षा केन्द्रमा भारतको हैदरावादस्थित परुल विश्वविद्यालयको समेत पर्चा बोकेर एजेन्टहरुले आएका थिए । भारतीय शैक्षिक संस्थाहरुले अहिले विराटनगरमा आफ्नो सम्पर्क कार्यालय खोलेर एजेन्ट समेत नियुक्त गरेका छन् ।
सरकारको नीतिले कोशी प्रदेशमा सञ्चालित सबैजसो स्वास्थ्य प्राविधिक विषय अध्यापन गराउँदै आएका कलेज बन्द भएका छन्, कोशी हेल्थ इन्स्टिच्यूट एण्ड साइन्स क्याम्पसका सञ्चालक विकास अधिकारीले भन्नुभयो–पिसिएल नर्सिङ फेजआउट भयो, स्टाफ नर्स पढाउने कलेजले बिएन नर्सिङ पढाउन नपाउने नियम बन्यो त्यसको फाइदा सीमामार भारतमा खुलेका विद्यालयहरुले लिन थालेका छन् । अधिकारीका अनुसार भारतमा अध्यापन गराउने शैक्षिक संस्थाले त्यहाँ अध्ययन गर्दा नेपालको सिटीईभिटीई र नर्सिङ काउन्सिलको मान्यता छ भन्नु सरासर गलत छ ।
सरकारले तीनवर्ष अगाडी ब्याचलर अफ नर्सिङ पढ्ने बिद्यार्थी र स्टाफ नर्स पढ्ने विद्यार्थीले एउटै अस्पतालमा प्राक्टिस गर्न नपाउने ऐन ल्यायो । चिकित्सा शिक्षा ऐनमा सुधार गर्दै गर्दा कर्मचारीतन्त्रको स्वार्थ हावी हुँदा स्टाफ नर्स, बिएन र बिएसी नर्सिङ अध्यापन हुने कलेज बन्द गर्नु परेको अधिकारीको गुनासो छ । जसको फाइदा हेरेर सीमापार भारतीय शहरहरुमा नर्सिङ तथा प्रि–डिप्लोमा अध्ययन हुने कलेजहरु खोलिएपछि त्यसको प्रचार नेपालमा बढ्दै गएको छ ।

सरकारले चिकित्सा शिक्षा ऐनमा ब्याचलर वा डिप्लोमा तह पढाउने कलेजहरुले अनिवार्य रुपमा एक सय बेडको अस्पताल बनाउनुपर्ने व्यवस्था गरेको छ । त्यसपछि ती कलेजहरु बीएन कार्यक्रम हटाउन बाध्य भएका थिए ।
विराटनगरमा विराट हेल्थ कलेज, कोशी हेल्थ कलेज र नर्सिङ कलेज विराटनगरले बीएन कार्यक्रम सञ्चालन गर्दै आएको थियो । प्रवीणता प्रमाणपत्र तह (पीसीएल) र स्नातक तह (ब्याचलर)मा नर्सिङ पढ्ने विद्यार्थीले एउटै अस्पतालमा इन्टर्न गर्न नपाएपछि बीएन कार्यक्रम बन्द गरेका कलेजका सञ्चालकले नेपालको नीतिका कारण नेपाली विद्यार्थी भारत जान बाध्य भएको बताएका छन् ।

विराट हेल्थ कलेजका प्रवन्ध निर्देशक राजन खत्रीले नेपाली विद्यार्थीलाई जर्बरजस्ती एजेन्ट लगाएर भन्सार कटाउने काम चिकित्सा शिक्षा ऐनमा उल्लेखित प्रावधानले गरेको भन्दै त्यसलाई सरकारले पुनः सच्याउनु पर्ने माग गर्नुभयो । नेपालमा मेडिकल शिक्षामाथि माफियातन्त्र हावी हुनुमा भारतीय शैक्षिक लगानीकर्ताहरुको हात रहेको आरोप समेत खत्रीको छ । ४० जना विद्यार्थी अध्ययन गराउनका लागि एक अर्ब लगानी गरेर अस्पताल खोल्नुपर्ने नियम लगाएर नेपालका शैक्षिक संस्था बन्द गरेपछि भारतका शहरमा शैक्षिक संस्थाहरु खुलेको खत्रीको भनाई छ ।
स्टाफ नर्स पढेका विद्यार्थीहरुले बिएन नर्सिङ पढ्ने गर्दछन् । साइन्समा बायलोजी लिएर कक्षा १२ गरेका विद्यार्थीले बिएसी नर्सिङ पढ्ने गरेका छन् । सरकारको नीतिले स्फाट नर्स पढेका विद्यार्थीलाई बिएन पढ्न छेकेको छ, जसले गर्दा शैक्षिक क्षेत्रका लगानीकर्ता मात्रै नभई विद्यार्थी समेत असजिलोमा परेपछि भारत जान थालेका हुन् ।

कोशी प्रदेशमा अहिले विराट हेल्थ कलेज विराटनगर, न्युरो हेल्थ कलेज, लाइफ गार्ड अस्पताल र सीटीईभीटीअन्तर्गतको शैलजा गुठीले मात्रै स्टाफ नर्सको कक्षा सञ्चालन गर्दै आएका छन् । यी कलेजहरुले बिएन फेज आउट गर्नुपर्ने बाध्यता सहनु परेको हो ।
कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज विराटनगर र विराट टिचिङ कलेज विराटनगरले बीएस्सी नर्सिङ पढाउने गरेका छन् । बीएस्सी नर्सिङ बायोलोजी लिएर प्लस टु पढेका विद्यार्थीहरूले पढ्न पाउँछन् ।

यता बन्द भए, उता खुले
नेपालका कलेजमा अध्यापन बन्द भएसँगै भारतीय सीमा क्षेत्रका शहरमा १६३ वटा कलेजहरु खुलेको दावी गरिएको छ । बोर्डरबाट ३४ किलोमिटर दुरीको शहरमा खुलेका नेपाली विद्यार्थी लक्षित कलेजमा अहिले एसईई सकाएर भर्ना हुन पाइने सुविधा तोकिएको छ ।
तीन वर्ष अगाडीसम्म भारतमा जनरल नर्सिङ एण्ड मिड्फ्री (सिएनएम) कोर्ष पढाई हुँदै आएको थियो । यसका लागि कक्षा १२ अध्ययनपछि पढन पाइन्थ्यो । नेपालमा स्फाट नर्स पढाउने शैक्षिक संस्था बन्द भएपछि शैक्षिक कार्यक्रम परिवर्तन गरेर अहिले एसईई दिएका विद्यार्थीले समेत पढ्न पाउने अवसर सिर्जना गरिएको दावी छ । नर्सिङ, पारामेडिकल र इन्जिनियरिङ लक्षित गरेर नेपालका डिप्लोमा तहका पाठ्यक्रमलाई आधार बनाएर भारतमा नयाँ खुलेका शैक्षिक संस्थाहरुले एसईईपछि अध्ययन गर्ने पाठ्यक्रम तयार पारेर पढाउन थालेको विराट हेल्थका खत्रीको दावी छ ।

ऐनले पारेको असर

चिकित्सा शिक्षा ऐनअनुसार अनिवार्य एक सय बेडको अस्पताल भएका कलेजले मात्रै पिसिएल नर्सिङ पढाउन पाउने प्रावधान ल्याइयो । यसले देशभरका सञ्चालित ७३ कलेज बन्द गराएको कोशी हेल्थका अधिकारीको भनाई छ । नर्सिङ कलेजहरु धमाधम बन्द हुने अवस्थामा पुग्नुको कारण चिकित्सा शिक्षा ऐन नै भएको बताउँदै अधिकारीले भने २०७५ सालमा ल्याइएको चिकित्सा शिक्षा ऐनमा नर्सिङ पढाउन कम्तीमा एक सय बेडको अस्पताल सञ्चालन हुनुपर्ने व्यवस्था गरियो, अस्पताल नहुँदा कलेज बन्द भए, अस्पताल हुनेको क्षमता बृद्धि पनि गरिएन ।
ऐनको दफा ४४ मा भनिएको छ, ‘यो ऐन प्रारम्भ हुनुभन्दा अघि आफ्नो अस्पताल सञ्चालन नभए पनि शैक्षिक कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थाले यो ऐन प्रारम्भ भएको दुई वर्षभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डबमोजिम अस्पताल सञ्चालनमा ल्याउनुपर्नेछ ।’
विश्वविद्यालय र सीटीईभीटीको नर्सिङ कलेजमा भर्ना खुलाउन एक सय बेडको आफ्नै अस्पताल अनिवार्य गरिएपछि कलेजहरु बन्द भएका थिए । तर, अस्पताल भएका कलेजहरुले समेत स्फाट नर्स र बिएन पढाउन नपाउने अर्को प्रावधान ल्याएर नेपालको शिक्षाका घाँटी निचोरिएको आरोप छ ।

ऐन आउनुअघि सीटीईभीटी र विश्वविद्यालयबाट सम्बन्धनमा चलेका नर्सिङ कलेजहरुमध्ये केहीले आफ्नै ५० बेडको अस्पताल सञ्चालन गरेका थिए । केहीले अन्य अस्पतालहरुसँग सम्झौता गरेर पठनपाठन गराइरहेका थिए । ऐनले नर्सिङ, पारामेडिकल नर्सिङ, ल्याब, रेडियोग्राफीलगायतका स्वास्थ्य कार्यक्रम चलाउन शिक्षण संस्थाहरुमा कम्तीमा एक सय बेडको आफ्नै अस्पताल सञ्चालन गर्नुपर्ने व्यवस्था गरेपछि धेरै सञ्चालकको सातो उडेको थियो ।

आयोगले ऐनअनुसार एक सय बेडको अस्पताल नहुने स्नातक र सीटीईभीटीका नर्सिङ पढाइ हुने कलेजलाई भर्नाको स्वीकृति दिन छोड्यो । यसअघि एक सय बेडको अस्पताल भएका कलेजहरुले स्नातक र पीसीएल नर्सिङको दुबै कार्यक्रम चलाइरहेका थिए । ऐनमा विश्वविद्यालय र सीटीईभीटीका कार्यक्रम एउटै शिक्षण संस्थाले सञ्चालन गर्न नपाउने प्रावधान राखियो । जसअनुसार नर्सिङ कलेजले एक सय बेडको अस्पताल बनाए पनि स्नातक र पीसीएल नर्सिङ कार्यक्रममध्ये एउटा मात्र कार्यक्रम चलाउन पाउने भए ।

‘मापदण्ड पूरा भएपनि एउटा विद्यालयले कक्षा १ पढाएपछि कक्षा २ पढाउन नपाउने जस्तो नियम लगाईयो’ अधिकारी भन्छन्–जसरी भएपनि भारतीय शैक्षिक लगानीकर्ताहरुको सञ्जालमा चिकित्सा शिक्षा ऐन बनाउनेहरु फसेको देखिन्छ । जसको असर अहिले शिक्षा लिन जाने युवाहरुबाट मात्रै अर्बौं रुपिँया बाहिीने अवस्था आएको छ । दुई वटा कार्यक्रममध्ये पीसीएल नर्सिङ पढाएर ब्याचलर बन्द गर्नुपर्ने वा ब्याचलर पढाएर पीसीएल नर्सिङ बन्द गर्नुपर्ने व्यवस्था सुधार नगर्ने हो भने नेपाली विद्यार्थीे नर्सिङ एजुकेशन डामाडोल हुने अवस्थामा पुगेको बुझाई अभिभावकको पनि छ ।

एउटै कलेजले स्फाट नर्स र बिएन पढाउँने अनुमति लिन एक÷एक सयका छुट्टाछुट्टै दुई अस्पताल चाहिने भन्ने प्रावधाननै पूर्वाग्रहपूर्ण र भारतीय शैक्षिक माफियासँगको मिलेमतोमा ल्याइएको आरोप छ । अहिले भारतमा खुलेका कलेजहरुमा नेपालका शैक्षिक संस्थाको समेत मापदण्ड पूरा नभएकोले त्यहाँ पढेर आएका विद्यार्थीले नेपाली आवश्यकता पूरा गर्न नसक्ने बुझाई छ ।
स्फाट नर्स र बिएन एउटै कलेजले पढाउन दुई अस्पताल अनिवार्य गरिएपछि कोशी प्रदेशमा चारवटा कलेजले बिएन पढाउन छोडेका छन् । विराट हेल्थ कलेजका प्रवन्ध निर्देशक खत्रीका अनुसार नेपाली शैक्षिक संस्थालाई अंकुश लगाएर भारतमा पढ्न बाध्य बनाउने ऐन सरकारले तत्काल सर्वपक्षिय अध्ययनद्वारा सुधार गर्नुपर्ने हुन्छ । उनका अनुसार सय बेडको अस्पतालको प्रावधानले देशभरका १३१ मध्ये ७३ कलेजले पिसिएल नर्सिङ कार्यक्रम बन्द गर्नुपरो । त्यसपछि स्फाट नर्स र बिएन नर्सिङलाई छुट्टाछुट्टै अस्पताल चाहिने वा एउटै अस्पतालमा प्राक्टिस गर्न नपाईने भन्ने नियम लगाइयो, जसले नेपाली विद्यार्थीका लागि सीमापारी कलेजका च्याँखे थापिए । त्यहाँ पछिल्लो पाँच वर्ष भित्र खुलेका सबै कलेज मापदण्ड अनुसार छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्