सरकार साहसिक तरिकाले अगाडि बढेको छ : प्रधानमन्त्री प्रचण्ड

सरकार साहसिक तरिकाले अगाडि बढेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै कामलाई अगाडि बढाएको बताउनुभएको छ ।

सरकारले इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम अघि बढाएको उल्लेख गर्दै उहाँले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै आएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको बताउनुभयो ।

नेकपा(माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको तीनमहिने जनतासँग रुपान्तरण अभियानको उद्घाटन गर्दै उहाँले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास बढेर गएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “हामीले आफैँले गरेका राम्रा काम पनि जनतासम्म पु¥याउन सकेका छैनौँ, यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीचको एकता सुदृढ गर्नेछ ।”

सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिन जस्ता कामले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

यस्तै मिटरब्याज पीडितका पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षामा ल्याइएको उहाँको भनाइ छ ।

राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क श्ययाको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र सामाजिक न्यायका क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

यस्तै जनयुद्धका सहिद घोषणालाई राजपत्रमा प्रकाशन गर्नु र बाँकी रहेकालाई सहिद घोषणा, जनयुद्ध दिवसमा दिइएको सार्वजनिक बिदालगायतका निर्णयले राजनीतिक आन्दोलन र परिवर्तनमा योगदान गर्नेको सम्मान भएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।

उहाँले लघुवित्त पीडितको आन्दोलनलाई सरकारले सम्बोधन गर्न पहल गरेको, इतिहासमा पहिलो पटक पाठ्यपुस्तक समयमै विद्यालयमा पठाइएको, किसानलाई रासायनिक मल समयमा उपलब्ध गराइएको, विपन्न र असहायका निम्ति निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी तुल्याइएको, आर्थिक सुधारलगायतका कामले सरकारको सङ्कल्प र प्रतिबद्धता व्यवहारमा रूपान्तरण भएको बताउनुभयो ।

वित्तीय तथा मौद्रिक नीतिको सन्तुलनमार्फत निजी क्षेत्रलाई समेत विश्वासमा लिइ सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किन सुरु गरेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो । उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च, दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील रहेको उहाँले जानकारी दिनभयो ।

उहाँले नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फउन्मुख रहेको तथ्याङ्क पेस गर्नुभयो । गत असार मसान्तसम्म शोधनान्तर स्थिति रु दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ ।

यस्तै विदेशी विनिमय सञ्चिति गत वर्षको सोही अवधिको तुलनामा २६ दशमलव छ प्रतिशतले वृद्धि भई रु १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको र यसले करिब १० महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्था रहेको छ ।

त्यस्तै विप्रेषण आयमा २१ दशमलव दुई प्रतिशतले वृद्धि भई रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । जग्गाको कित्ताकाट पूर्णरुपमा खुलाउने निर्णय भएको जानकारी दिँदै प्रधानमन्त्रीले यही भदौ ११ गते मात्रै नेपाल राष्ट्र बैंकले लचिलो बजार नीतिअनुसार चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको र त्यसबाट उद्योग, व्यवसाय क्षेत्रलाई प्रत्यक्ष लाभ हुनुका साथै आन्तरिक लगानी, उत्पादन वृद्धि र बजारमा आर्थिक गतिविधि बढ्नमा सहयोग पुग्ने विश्वास गरिएको बताउनुभयो ।

सरकारले चालेका जनमुखी कदमले जनतामा परिवर्तनप्रति असन्तोष बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने तथा प्रमुख राजनीतिक दल र नेताहरूलाई बदनाम गरी राष्ट्रलाई नै असफल बनाउने षडयन्त्रहरूलाई गतिलो जवाफ दिएर जनतामा आशा जगाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जनतामा अब चाहिँ केही हुन्छ भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार भएको छ, यो आजको कामको परिणाम मात्र नभई नेपाली जनताको न्याय र मुक्तिको उद्देश्यमा आधारित महान जनयुद्ध र जनआन्दोलनका क्रममा खाएको मुक्ति या मृत्युको सपथ र नयाँ परिवेशमा हामीबाट गरिएको सङ्कल्पको निरन्तरता हो ।”

‘दृढ इच्छाशक्तिका साथ अभेद्य सङ्कल्प गरे के हुँदैन र’ भन्ने मान्यता आज व्यवहारमा पुष्टि भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा वर्तमान सरकारले गरेका कामहरूले पार्टीको आन्तरिक जीवनमा देखिएका आशङ्का र अविश्वासहरू पनि मेटाउँदै एकतालाई सुदृढ गर्न सहयोग पु¥याएको बताउनुभयो ।

देशभरिका जनता र पार्टी कार्यकर्तामा आशा तथा उत्साह बढेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले अभियानका क्रममा यी सबै विषय जनतामाझ सम्प्रेषण गर्ने र जनताका आशा, अपेक्षा, आलोचना, सुझाव तथा प्रतिक्रियालाई ग्रहण गर्दै सुशासन र सामाजिक न्यायका पक्षमा सरकारले चालेको अभियानलाई अझै सशक्त बनाउने उल्लेख गर्नुभयो ।

“सरकारलाई काम गर्न नदिन विभिन्न कोणबाट भइरहेका यी हर्ककतहरू गलत त छन् नै, तर, यो घेराबन्दीले झनै जिम्मेवार ढङ्गले सबल, सक्षम भएर क्रान्तिकारी आन्दोलनमा अविचलितरूपमा अघि बढ्नैपर्ने कार्यभारसमेत हाम्रोसामु थपिदिएको छ”, उहाँले भन्नुभयो ।

उहाँले तमाम् उपलब्धिका बाबजुद परिवर्तनलाई नरूचाउने, इतिहासको रथलाई उल्टो दिशामा लैजान खोज्ने र सरकारको लोकप्रियताबाट अत्तालिएका तत्वले सरकारविरूद्ध घेराबन्दी गर्ने, भ्रम छर्ने, यो वा त्योरूपमा सरकारका कामको प्रशंसा र चर्चाबाट जनताको ध्यान विमुख गर्ने षड्यन्त्रहरू गरिरहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो अस्तित्व हामीमा नै निर्भर छ भन्ने कुरा विर्सिनु हुँदैन, हामीले कस्तो विचार विकास गर्छौं, हामीले कस्तो सङ्गठन निर्माण गर्छौं, हामीले जनताका मुद्दाहरूलाई केकसरी र कुन स्तरमा उठान गर्छौं, हामीले आफ्ना कमजोरीप्रति कस्तो आत्मालोचना र आत्मसमीक्षा गर्छौं, हामीले हाम्रा राम्रा कामको प्रचार के कसरी गर्न सक्छौँ भन्ने जस्ता कुराले हाम्रो र सिङ्गो कम्युनिस्ट आन्दोलन एवं समाजवादी क्रान्तिको आधार तयार पार्ने आन्दोलनको भविष्य निर्भर गर्दछ ।”

वर्तमान सरकारले गरेका लोकप्रिय तथा जनमुखी कामबारेमा आमपार्टी पङ्क्ति र जनतामाझ व्यवस्थित प्रचारप्रसार गर्न नसक्दा भ्रमपूर्ण प्रचार गर्नेले ठाउँ पाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारबाट भएका कामलाई एकीकृत माध्यमबाट जनताका बीचमा पु¥याउन सिङ्गो पार्टी एकजुट भएर लाग्न जरूरी रहेको बताउनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्