- केशव भट्टराई
उमेरको उकालोले
चहर्याइरहेको घाउमा
काँचा कलिला
ईश्वरीय वेदाग हातले
मलम लिएर आउँदो रहेछ
र जिम्मेवारीले
थिचिरहेको कपालमा
आमाको हात समातेर
ठुङ मार्न आउँदो रहेछ,
विस्मृति - स्मृतिको दोसाँधमा
कहिले कसो बाल्यकाल ।
वर्षा सकिएर
अभावमा नालीभित्र,कुलोभित्र रोपिएर
काटिएका गाँजको
बाँकी धारिला फेदले
घुँडा मुन्तिर काटिएर
छरछर रगतका
राता धर्साहरू सम्झन्छु ।
रोप्दा हिलोमा गाडिएका
पदचापका डामहरूमा
स्वतन्त्र उड्दा
घुँडा फुस्किएका
काला दागहरू,
आँखा चिम्लिएर
बेपर्बाह कुद्ने
खिरिला खुट्टालाई
लगाम लगाएर
दिनहुँ मर्काउने
खाल्डाखुल्डीहरू र
त्यहीँ दुईचार थप
सिर्कना लगाउने
कठोर अभिभावकत्व सम्झन्छु ।
पैनीमा बाला लाग्ने बेलाका
धानका लचक्क लत्रने बोटहरूभित्र
छिपछिपे पानीमा
हातले होसियारसाथ
सहस्र माछा
स्पर्श गर्दाको आनन्द
सम्झन्छु ।
सम्झन्छु
हिलाम्य भएर
बल प्रयोगले
सिङ भएका जीव
समातेको हर्ष,
लडाईं नै सही
काँडाले हानिएर
रक्ताम्य हातका
औँलाहरू,
धानका पातले
गाला,घाँटी पासिएर
लामालामा बाङ्गाटिङ्गा धर्साहरुमा
निस्फिक्री हाँसेर
हिलोमा पुरिएर
पकडिएका,छोडिएका
अनेकौँ जलचरहरूबाट
प्राप्त दुखाइको परमानन्द सम्झन्छु ।
दिनभरिको निर्बन्ध
लडाईं जितेर
आफ्नो वजन जतिनै
हिलोमाटो
घामले सुकाएर शरीर,
चाउरिएका औँला
एक अर्कामा रगेट्दै
बलेँसीमा उभिँदा
लारको छानोबाट
तप्पतप्त चुहिएका
पानीका थोपाले
कपाललाई बाटो बनाएर
माटोसहित नाकबाट
तल बग्दै गरेका
जीवनका नदी,खोलाहरूको गहिराइ
उसले नाप्यो नापेन !
अविरल यात्राका
घर्षणहरूबाट प्राप्त
दिव्य ज्योति
हिलोधुलो पाप्रैपाप्राको
निर्दोष, निश्कलङ्क
मानव देह !
उसले हृदयमा राखेर
आँखाले देख्यो देखेन
म सम्झन्छु ।
सँगै गएको छिमेकी
उसका आमाबाबुबाट
सुकिलो मुकिलो भएर
ताजा खानेकुरा चपाउँदै
उफ्रिदै नाच्दै आउँदा
आफू चाहिँ
झमक्क साँझ परिसक्दा पनि
अभाव,अपुगले
तिरस्कृत र हेय
गरिब बालक अश्वत्थामा बनेर
आँसुका अजस्र धारा
बहाउँदै
बलेँसीमै रुझिरहेको
म सम्झन्छु ।