विराटनगरका सामुदायिक विद्यालय : बाहिर नाम चल्छ, परिसरमा शौचालयको गन्ध

विराटनगरका सामुदायिक विद्यालय : बाहिर नाम चल्छ, परिसरमा शौचालयको गन्ध

विराटनगर । विराटनगरमा नाम चलेका सामुदायिक विद्यालय हुन् पोखरीया, आदर्श, सत्यनारायण, गोग्राहा । शिक्षण सिकाईमा अब्बल र नतिजामा उत्कृष्ट भएपछि यी विद्यालय विराटनगरभरी नाम चलेकामा पर्दछन् ।
राष्ट्रियस्तरमा समेत यी विद्यालयको स्तर गणना सन्तोषजनकमा पर्दछ । तर, शहरभरी नाम चलेका सामुदायिक विद्यालयका शौचालय भने परिसरमा गन्ध फैलाउने किसिमका छन् । सरकारी विद्यालयको पढाई अब्बल भएपनि सरसफाई र व्यवस्थापन कमजोर हुँदा शहरमा चलेको नाम परिसर पुग्दा दुर्गन्धले बिसाईदिन्छ जस्तो हुने गरेको हो ।

विद्यालयमा विद्यार्थीले प्रयोग गर्ने शौचालय फोहोर र दुर्गन्धयुक्त छन् । विद्यालयमा विद्यार्थीले ज्ञान आर्जन गर्ने गर्दछन् । विद्यालय व्यवस्थापनमा प्रशासन र व्यवस्थापन समिति रहने गरेको छ । स्थानीय तह मातहत आएपछि विद्यालय सुधारका योजना पनि उतिकै छन् । तर, पनि विद्यालय परिसरमा शिक्षकले प्रयोग गर्ने शौचालय र विद्यार्थीले प्रयोग गर्ने शौचालयको सरसफाईमा भने फरकपन देखिने गरेको छ ।
सरकारी विद्यालयका शौचालय फोहार र दुर्गन्धयुक्त हुँदा त्यसको असर विद्यार्थीमा देखिने जोखिम उच्च छ । त्यसमाथि विभिन्न सुर्तीजन्य वस्तुका खोल र महिला शौचालयमा प्याड समेत फालिएको हुन्छ ।

विद्यालयमा छात्राले प्रयोग गर्ने प्याड व्यवस्थापन गर्ने र फेर्ने कक्षको समेत सुविधा छैन । फोहोर र दुर्गन्धयुक्त शौचालयमा प्याड फेर्दा उनीहरुको स्वास्थ्य जोखिम बारेको आंकलन कमजोर देखिन्छ ।
पढाईमा उत्कृष्ट विद्यालयको नाम कमाएपनि विद्यालयको शौचालयमा भने एक मिनेटसम्म पनि उभिन सक्ने स्थिति छैन । तर, विद्यालयका प्राचार्यहरुले भने जति नै सरसफाईमा ध्यान दिदाँ समेत कहिल्यै सफा राख्न नसकेको उल्टै गुनासो गरेका छन् ।
विराटनगरको आदर्श र पोखरीया विद्यालयको शौचालय त झन् पसिसक्नु छैन । छात्र र छात्राले प्रयोग गर्ने शौचालयमा सुर्तीजन्य वस्तु खाएर खोलहरु छरिएका छन् । शौचालयमा हात धुने पानी, साबुनको समेत सुविधा नभएको विद्यार्थीहरु बताउँछन् । पोखरीया र आदर्शको तुलनामा सत्यनारायण माध्यमिक विद्यालयको शौचालय भने सरसफाईमा सुधार देखिएको छ । विराटनगरकै उत्कृष्टमा पर्दै आएको पोखरीयामा छात्राका लागि चेन्जिङ रुम व्यवस्थित छैन । प्याड शौचालयमै फालिने गरिएको छ ।

पोखरीयाका सहायक प्रधानध्यापक महेश कुमार गौतमले शौचालयमा कसरी सुर्तीजन्य वस्तु पुग्छ भन्ने जानकारी नै नहुने गरेको बताउनुभयो । उहाँले तीन हजार ६०० विद्यार्थी रहेको विद्यालयमा शौचालयको अभाव हुँदा सरसफाईमा समेत कतिपय कमजोरी देखिएको दावी गर्नुभयो । यद्यपी क्रमशः सुधारउन्मुख गर्दै लैजाने योजना राखिएको गौतमको दावी छ ।
आदर्शको शौचालयमा झ्यालको पल्ला छैन । बाहिरबाट समेत पातपतिङ्गर भित्र पस्ने गर्दा फोहोरको डंगुर लाग्ने गरेको छ । यहाँ प्याड बक्स छ तर यहाँ समेत फोहोरले भरिएको देखिन्छ ।

महानगरपालिका नाम चलेका विद्यालयका आधारमा सत्यनारायण मा.वि.को शौचालय सफा देखिन्छ । प्राचार्य पुरुषोत्तम गुरागाँईले दैनिक तीन पटकसम्म सरसफाई गर्ने गरिएको जानकारी दिनुभयो । यद्यपी शौचालय सरसफाईलाई अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।
शैक्षिक गुणस्तरमा फड्को मार्दै गरेका सरकारी विद्यालयका संरचना पुराना छन् । पुराना संरचनामा बनेका शौचालय व्यवस्थित देखिदैनन् । संरचना भित्रको पुर्नसंरचना र मर्मत गर्न बजेट अभाव हुँदा भईरहेको बाटै चलिरहकै छ भने जस्तो सोच विद्यालय प्रशासनको देखिन्छ । विद्यालय घरपछिको सभ्यता निर्माण गर्ने शैक्षिक केन्द्र भएकोले ज्ञान र व्यवहार परिवर्तनमा शिक्षक र विद्यार्थीको भूमिका उतिकै हुन्छ ।

इन्दु साह प्रशिक्षार्थी पत्रकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्