जोगबनीमा नेपाली चाडपर्व रौनक, विराटनगरमा चिन्ता

जोगबनीमा नेपाली चाडपर्व रौनक, विराटनगरमा चिन्ता

विराटनगर । दशैं–तिहार नजिकिएसँगै विराटनगर बजारमा आर्थिक मन्दिको हल्ला छ । व्यापारीहरु ग्राहक पर्खेर बसेका छन् । उनीहरु व्यापार घटेको भन्दै चिन्तामा देखिन्छन् । कपडा, भाडावर्तन, जुत्ता–चप्पल, कस्मेटिक पसलमै ग्राहक आएका छैनन् भन्ने मात्रै गुनासो सुनिन्छ । नेपाली बजारलाई आर्थिक मन्दिले छोएको राजनीतिक हल्ला छ । उपभोक्ताले मूल्य बढेर केहि छोईनसक्नु छ भन्छन् ।

तर, नेपाली उपभोक्ताको ताँतीले सिमापार भारतीय बजार भने दैनिक जसो भरिभराउ हुँदै आएको छ । उहि ग्राहक नेपालमा सामान खरिद गर्न नसक्ने भन्दै भारतीय बजार पुग्दा व्यापारी भने आर्थिक मन्दिले हैरान पारेको छ भन्दै सरकारलाई गाली गरिरहेका छन् । अझैं विराटनगरका कतिपय व्यापारीले यो गुनासो पार्किङ व्यवस्थापन गरिएका कारण भन्न समेत छुटाएका छैनन् ।

दशैं बजारमा विराटनगर सुनसान हुँदा जोगबनी गुल्जार छ । सीमावारी मोटरसाइकल रोकेर सीमापार जोगबनी पुग्नेहरुले सामान बोकेर आउँने गरेका छन् । विराटनगरमा चाडपर्व लक्षित गर्दै पार्किङ खुल्ला गरिएको छ । तर, मोटरसाइकल तथा सवारी रोकेर राख्नेहरु पसलमा पुगेर केहि किन्न गरेको चर्चा व्यापारीबाट सुनिदैन ।

विराटनगरका व्यापारीको आग्रहमा विराटनगर महानगरपालिकाले समन्वय गरेर केहि महिना अगाडी भन्सारमा कडाई गरेको थियो । भन्सार नाकाको कडाइ लामो समय टिक्न सकेन । कारण, जोगबनीबाट सामान क्यारिङ गरेर विराटनगरका पसलसम्म ल्याएर कारोबार गर्नेहरुको पनि उतिकै ठूलो संख्या यहाँ छ । विराटनगरका पसलहरुले समेत अवैध रुपमा आयत गरिएका वस्तु क्यारिङमार्फत भित्र्याउने गरेका छन् । यसरी अवैध भित्र्याएका सामानमा समेत भन्सारबाटै कर बुझाएर ल्याएको सरह रकम लिएर बिक्री गर्ने गरेका छन् ।

विराटनगर रानीमा साउन १ गतेदेखि कडाई गरिएको थियो । तर, त्यो कडाईका विरोधमा समेत आवाज उठ्यो । त्यति मात्रै नभई अर्थमन्त्रीसम्म पुगेर कतिपय सांसदहरुले नै सीमाको कडाई हटाई दिन माग समेत गरेको गुनासो विराटनगरका मेयर नागेश कोइरालाले यस अगाडीको एउटा कार्यक्रममा खोलेका थिए ।

सीमा नाका खुला गरिएपछि सीमावर्ती जोगबनी बजारमा नेपाली उपभोक्ताहरूको अत्यधिक भीड लागेको छ । जोगबनीका व्यापारीलाई नेपाली चाडपर्व लागेको छ । उता भरिभराउ हुँदा यता विारटनगरमा गुनासो मात्रै छ । जोगबनीमा चिनी, मसला, भाँडाकुँडा, लत्ताकपडा, फलफूल र फेन्सी सामानहरू नेपाली बजारमा भन्दा १५ देखि २५ प्रति सस्तोमा पाइने भएकाले ग्राहकहरूले खाद्यान्नसँगै यस्ता वस्तुहरू खरिद गर्ने गरेका छन् ।

नेपाली उपभोक्ताहरूका कारण जोगबनीमा दैनिक पाँच करोड पेरिफेरीको व्यापार हुने गरेको छ । त्यहाँ मोटरसाइकल पार्किङ गर्ने ठाँउ पनि छैन । तर, असोज लागेपछि सीमानाका खुल्ला भयो, त्यसपछि जोगबनीका दिन सुरु भए । त्यहाँका व्यापारी सन्तोषकुमार साहका अनुसार असोज लागेपछि ६० प्रतिशतले बजारमा कारोबार बृद्धि भएको हो ।

सरकारी नीतिका कारण स्वदेशी बजारको प्रवर्द्धन हुन नसकेको व्यापारीहरुको बुझाई छ । खाद्यन्नसहितका दैनिक उपभोग्य वस्तुको आयातमा भन्सार छुट दिनुपर्ने उनीहरुको सुझाव छ । आयातमा उच्च भन्सार लाग्दा जोगबनीसित यहाँका व्यापारीले प्रतिस्पर्धा गर्न सक्दैनन् । तर, सरकारमा भएकाहरु सीमापार बजारलाई फाइदा हुने नीति परिमार्जन गर्नेतर्फ देखिदैनन् ।

विराटनगर भन्सार कार्यालयले भदौ महिनामा लक्ष्यको करिब ५७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०८०/८१ को भदौमा ५६.८१ प्रतिशत मात्रै राजस्व असुली गरेको हो । कार्यालयको तथ्यांकअनुसार भदौ महिनाका लागि ४ अर्ब ४५ करोड ६६ लाख राजस्व असुलीको लक्ष्य तोकिएकोमा २ अर्ब ५३ करोड १९ लाखमात्रै राजस्व असुली गरेको छ ।

साउनमा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ८१.५७ प्रतिशत राजस्व असुली गरेको थियो । साउन महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ लक्ष्य तोकिएकोमा २ अर्ब ८५ करोड २९ लाख असुली गरेको थियो । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा संकलन गरेको राजस्व अघिल्लो आर्थिक वर्षको दुई महिनाको तुलनामा कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्