दशैंमा विराटनगरवासीलाई महंगो तरकारी

दशैंमा विराटनगरवासीलाई महंगो तरकारी

विराटनगर । दैनिक भान्सामा पाक्ने तरकारी दशैंमा पाहुनाको स्वागतका लागि विशेष परिकारसहित पाक्छ । भान्सामा मूलतः बढी प्रयोग हुने आलु, प्याज, टमाटर र हरियो तरकारीको मूल्यले भने खरिदकै प्रक्रियामा धेरैको टाउको भने तात्छ । कारण, तरकारी मूल्य बृद्धि हुँदा उपभोक्ताको भान्सा झन् महंगिने भएको हो ।

मूल्य बढेसँगै मागमा केहि मथ्थर स्थिति देखिएको तरकारी व्यापारीहरुको दावी छ । आन्तरिक उत्पादनपछि भारतबाट समेत तरकारी आयात हुँदै आएको थियो । भारतले अहिले तरकारी निर्यातमा निकासी कर लगाउँदा व्यापारी अलमलमा परेका छन् । नेपालमा भन्सार बुझाएर तरकारी भित्र्याउने आयातकर्ताले अब भारतको भन्सारमा समेत राजस्व बुझाउनु परेको उनीहरुको भनाई छ । त्यहि भएर अहिले तरकारीको मूल्य आकासिएको विराटनगर सब्जि–मण्डिका व्यापारीहरु बताउँछन् ।

मूल्य आकासिएपछि औपचारिक तवरबाट तरकारी आयात गर्ने व्यापारीहरुको आफ्नै गुनासो छ । उनीहरुले भन्सार बुझाएर भित्र्याएको तयारी चोरी पैठारी गर्नेहरुका कारण बिक्रीमा असजिलो भएको बताउँछन् । विराटनगरका विभिन्न खुद्रा तरकारी पसललेहरुले अवैध रुपमा भारतबाट तरकारी भित्र्याउने गरेपनि त्यसको नियन्त्रणमा कसैको ध्यान नगएको गुद्रीका व्यापारीहरुको गुनासो छ ।
विराटनगर गुद्री बजार सञ्चालक समिति सचिव अहमद साहेब गुड्डु मियाँले सीमा क्षेत्रको नियमन कमजोर छ । भन्सार गस्ती समेत छैन । भएपनि सेटिङ भईदिन्छ । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको सेटिङ रहेको उनको आरोप छ । उनका अनुसार उपभोक्ताले विराटनगरमा दुई मूल्यको तरकारी खरिद गर्न पाउने गरेका छन् । एउटा भन्सारबाट राजस्व बुझाएर भित्र्याएको महंगो र अर्को अवैध रुपमा तस्करी भएर आएको केहि कम मूल्य पर्छ ।

विराटनगरमा १९ वर्षदेखि तरकारीको व्यापार गर्दै आएका गैरीशंकर मल्लले भन्सार शुल्कका कारण वैधानिक बाटोबाट आउने तरकारी महंगो हुने गरेको बताए । उनले दैनिक दश देखि १५ टनसम्म खुद्रा व्यापारीलाई तरकारी बेच्दै आएका छन् । त्यस्तै सन्तोषकुमारले आलु र प्याजको व्यापार गरेको १५ वर्ष बित्यो । तर, अहिले आलुको मूल्यमा अघिल्ला वर्ष झैं स्थिर रहेपनि प्याजको मूल्यको अन्तर फराकिलो भएको बताए । उनका अनुसार गतवर्ष ३० रुपैँया प्रतिकिलोको प्याज यो वर्ष ७५ रुपैँया पुगेको छ ।

यसैगरी त्रिलोक भगतले तरकारीमा लगाइएको भन्सार करले उपभोक्ताको भान्सालाई असर गरेको बताए । उनले कसैले सहजीकरण नगरेका कारण दशैंमा महंगो तरकारी खरिद गर्नुपर्ने स्थिति सिर्जना भएको बताए । उपभोक्रा रमा कार्कीले सिजन नसकिदै भिन्डीको मूल्य ८० रुपैँया प्रतिकिलो रहेको गुनासो गरिन् । उनले आलु र प्याजको मूल्य समेत गतवर्ष भन्दा बृद्धि भएको बताइन् । अर्की सोनि मुखियाले तरकारीको मूल्य बृद्धि हुँदा खानै नसक्ने स्थिति आएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्