बाल्यकालको दशैँ : आमाको रोजाई अन्तिम रोजाई हुन्थ्यो

बाल्यकालको दशैँ : आमाको रोजाई अन्तिम रोजाई हुन्थ्यो

सुजता लिम्बू
दशैँमा कस्तो लुगा सिलाउने ?
अनि दशैँमा कहाँ–कहाँ जाने ?

विद्यालयमा दशैँ विदा हुनुअगाडी साथीहरुसँग यस्ता खालका संवाद खुब हुन्थ्यो । त्यो समय प्रविधिको पहँुच थिएन । एकअर्काबीचको सामिप्यता निक्कै प्रगाढ थियो । विदाको समय दशैँमा घरको भित्ताहरुमा चुन, कमेरोले पोत्न छिमेकी घरका साथीभाईहरुको जमात हुन्थ्यो । माटोले घर पोत्दै गर्दा त्यो माटोको सुगन्धले परदेशमा रहेका आफन्तहरुलाई घर बोलाएको झंै महसुश हुन्थ्यो । त्यो बेला घरका भित्ताहरु काँचो इट्टाले बनेका थिए । तर, सम्बन्धको ईट्टा बलियो थियो । घरहरु पातलो थियो सम्बन्ध बाक्लो थियो ।

अहिले प्रविधिको विकाससँगै आधुनिकिकरण हुँदै गर्दा पक्का इट्टाका घरभित्र सम्बन्ध काँचो हुँदै गएको आभास हुन थालेको छ । घरहरु बाक्लिदै गर्दा सम्बन्ध पातलिदै गएको छ । सबैको हातमा मोबाइल र इन्टरनेटको पहुँचले एकअर्काप्रतिको निकटता धमिलिदै गएको महसुश हुन्छ ।

त्यो समय आमाको रोजाईमा खरिद गरिएको थानको कपडा, दर्जी (लुगा सिलाउने) दाईको डिजाइनमा सिलाउने कपडामै अथाह खुशी मिल्थ्यो । अहिले प्रविधिको विकाससँगै रोजाई आफ्नो स्वतन्त्रताको अधिकार भित्र पर्न थालेको छ । आजभोलि आमाले रोजको थानको कपडा र दर्जी दाईले मन खुशी डिजाइन निकालेर सिलाइदिएको कपडा त सायद कमैले लगाउछन् होला या त लगाउन छाडे ।

त्यो समय अनलाईनमा हेरेको आधारमा डिजाइनको कपडा सिलाउन हातमा मोबाइल., इन्टरनेट कहाँ थियो र ? हामी टिकटक,फेसबुकको पहुँचमा पनि त थिएनौँ । दशैँको कपडा आमाको रोजाई नै अन्तिम रोजाइ हुन्थ्यो, त्यसैमा प्रेमिल भाव महसुस हुन्थ्यो । मेरो हकमा भन्ने हो भने आमाले पेन्ट, भेष्ट लगाउन नदिने भएकाले सँधै आमाको रोजाईमा थानको कपडाबाट कुर्था सुरुवाल सिलाएर लगाउनुपर्ने बाध्यता थियो । घरीघरी त मेरो भाईले जस्तै रेडिमेट कपडा लगाउन पाए कस्तो हुन्थ्यो भन्ने महसुस हन्थ्यो । छोरीले पेन्ट लगाउन हुँदैन भन्ने मेरी आमाको मानसिकतालाई चिर्दै भाईले झैँ पेन्ट किन्दिनुन भन्दै गनगन गर्नुपनि आँट बटुल्थे । तर, आमाको कर्के आँखा नै मेरो इच्छा र विद्रोहको भाव गुमनाम हुन्थ्यो ।

त्यो बाल्यकाल त्यसैमा पनि खुशी थियो , जहाँ भर्खरै सिलाएर ल्याएको कपडामा नयाँपनको सुगन्ध आउथ्यो । त्यो नयाँ कपडाको सुगन्धले दर्शैँको टिका जमरा र अग्रजको आर्शिवाद थाप्न मन आतुर बनाउथ्यो । टिकाको दिन कहिले आउला भन्दै दिन गन्ति गर्दै बस्ने बाल मस्तिष्कमा साथीलाई नयाँ लुगा देखाउने होडबाजी खुब चल्थ्यो ।
तर, अहिले त्यो निकटता, आफ्नोपन सबै प्रविधिमैत्री भएकाले सामाजिक सञ्जालमा नै एकअर्काको खुशी र भावना साटासाट हुन थालेको छ । त्यो बाल्यकालको दशैँ र अहिले फेरिदै गरेको दशैँमा धेरै भिन्नता महसुस हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्