लघुकथाः २१औं शताब्दी

लघुकथाः २१औं शताब्दी

-ऋषि तिवारी 'लखन्तरे'
उनी ज्योतिषी बा ! धर्म कर्ममा बढी बिश्वास । गाउँघरकै विशिष्ट । उनको धर्म भनेको नै मानव जातको कल्याण गर्ने । उनी अधिक समय चिना टिपोटमा ध्यान केन्द्रित गर्थे । समय आफ्नो पक्षमा हुँदा साइकल लिएर छर छिमेकी तथा सहरी क्षेत्र सम्म पुग्थे । समयले पर्खाल नाघ्न थाल्यो । उनी बुढा हुँदै गए । घरमै चिना टिपोट बनाउँन थाले ।

मेरो चिना पनि केरमेट थियो । थोत्रो भैसकेको थियो । नयां चिना बनाउँनु पर्यो भन्दै पत्नीसंग सल्लाह गर्दै गाउँ जाने हैं भन्न थाले । उनि पनि हुन्छ जाउँला भन्न थालिन् । बाइकमा गाउँघरतिर हुइक्किइदै लाग्यौं दुवै दम्पती ।

गाउँ हो । सुन्दर वातावरणको गाउँ । लोभ लाग्दो भैसकेको थियो मेरो गाउँ । नहर कुलोमा सललल बगेको पानी । वरिपरि वर पिपलको चौतारी । खेतमा हरियाली फाँटहरु । कतै उखु बारी त, कतै पटुवा बाली । कतै धानका बीऊका हरियाली सिरिरर हावाले हल्लाएको । आहा कति राम्रो । पत्नी पनि मुग्ध भएकी थिइन् ।

रमणीय दृश्य हेर्दै जाँदा उनै ज्योतिषी बाको आँगनमा टक्क अडियौं । उनि बुढा भैसकेका थिए । मलाई चिनें चिनेन । त्यो म भन्न सक्तिन । तर दमाई काका, दले कामी दाई, सार्की काका थुप्री भाउज्यु, राई कान्छा दाई सबैले चिनिसकेका थिए । यिनी भाष्कर बाबु हुन् । म मनमनै खुशी थिए । यो २१औं शताब्दीमा पनि ज्योतिषी आचार्य बा ! को आँगनमा कुनै दलित रहेनछन् । सबै मान्छे जातका रहेछन् ।

कोही आइमाइ जातका थिए, कोही पुरुष जातका । सबै आ-आफ्नो भुक्त भोगीको भविष्य चिना टिप्पणी हेराउन आँगनमा पालो पर्खि बसेका थिए । म पनि उहाँहरुको बिचमै पसें । किन न पस्नु ? यो एउटा २१औं शताब्दीको युगान्तर हो । मान्छे जात भित्र म एउटा मान्छे जात मिसिन पुगेको थिए । आफ्नो चिना टिपोटको भविष्य हेर्ने पालो कुरिरहेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्