लघुकथा : आमाको माया

लघुकथा : आमाको माया

-शान्ता पौडेल भट्टराई
"आमा ! यी हेर्नुहोस् त मैले आज कविता प्रतियोगितामा प्रथम भएर पुरस्कार पाएँ नि!" विद्यालयबाट फर्किने क्रममा सुनिताले परैबाट प्रमाणपत्र र पाँच हजार रुपैयाँ देखाउँदै भनिन्।

यो सुन्नेबित्तिकै गोठमा भकारो सोहोर्दै गरेकी राधाले खुशी हुँदै छोरीलाई गम्लङ्ग अङ्गालो हालेर हर्षाश्रु खसालिन् , आफ्नो हातमा गोबर छ भन्ने कुराको भेउ पाइनन्। खुशीका आँशु पुछ्दै राधाले भनिन् , "छोरी! सधैँ यसरी नै अगाडि बढ्नू, म तिम्रो सफलतामा धेरै खुशी छु। आफूले पढ्न नपाएकामा पनि खासै गुनासो रहेन अब। यसबेला तिम्रो बाबा अनि दाजु जिउँदो हुन्थे भने कति खुशी हुन्थेहोलान् , तिम्रो यो सफलता देखेर। के गर्नु ! दिन छोटो रहेछ, बाउ छोरा कै।" विगत सम्झिँदै राधाले भनिन्, "भोक लाग्यो होला, भित्र भान्सामा तिमीलाई मन पर्ने खाजा( दही, चिउरा, काँक्राको अचार) राखिदिएकी छु। झिकेर खानू है ! म गैह्री खेतमा पुगेर दुई चार मुठा घाँस काटेर‌ ल्याउँछु।"

"आमा! हजुर मात्रै कति दु:ख गर्नुहुन्छ? फुर्सदको समयमा त म पनि हजुरलाई सघाउँछु नि! आज म पनि घाँस काट्न जान्छु है।" सुनिताको कुरा सुनेर राधाले भनिन्, "हुन्न नानू तिम्रो परीक्षा आउँदै छ, पढ्नुपर्छ। दुई वटा गाईलाई चार मुठा घाँस मै काटिहाल्छु नि। बरु भरे दुई बजेतिर गाईलाई पानी दिन चैँ नबिर्सिनू नि। किलामा बाँधेको पशुको भोक तिर्खा हामीले देख्नैपर्छ। अँ साँच्ची, त्यो माली गाईलाई पानी दिँदा अलि परैबाट भाँडो राख्दिनू है, ब्यहोरा छैन त्यस्को त हान्छ नि ।"

सुनितालाई घरको काम अह्राईपह्राई गरेर राधा घाँस काट्न गैह्री खेततिर लागिन्। खडेरीले होला, खेतमा खासै घाँस थिएन। तरपनि खोजखाज पारेर चार मुठा पारिन्। किलामा बाँधेका पशुलाई भोकै राख्न पनि त भएन। मनमनै यिनै कुरा खेलाउँदै घर फर्किँदा झमक्क भैसकेछ। घाँसको भारी बलेसीमा मिल्काएर राधा हतारिँदै सुनिताको छेउमा पुगिन्। सुनिता ज्वरोले इन्तु न चिन्तु भएर ओछ्यानमा पल्टिएकी। हत्त पत्त पानीपट्टी लगाइदिइन्। आमाको न्यानो स्पर्शले सुनिताले केही हल्का महशुस गरिन् ।

दुई चारपटक पानीपट्टी फेरेपछि ज्वरो केही ओर्लियो। सुनितालाई त केही खान मन थिएन, आमाको करबलले अलिकति जाउलो खाइन्।‌ आफूले पनि खाइन् । बिहान खुशीको खबरले खाना रुचेको थिएन। यो कुरा उनले सुनितालाई भनेकै थिईनन्। छोरी पिरोलिन्छे भनेर । यसबिचमा उनले घरको थान्कोमुन्को पनि भ्याइसकेकी थिइन्। अब सुत्ने तरखरमा लाग्दैगर्दा राधाले भनिन् , "कविताको शिर्षक के थियो नानू ? मैले त खुशी खुशीमै यो कुरा सोध्नै बिर्सिएँछु।"
सुनिताले आल्हादित हुँदै भनिन् । "आमाको माया".....

समाप्त।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्