-ऋषि तिवारी
सधैं जसो उही टालेको चोलो आफ्नो शरिरको भाग ढाकेर यमुना घर धन्दामै सिमित हुन्थिन् । आराम भनेको केवल रातको खाना समापनपछि मात्रै थियो ।
यमुना आफ्नो श्रीमान् संग भलाकुसारी गर्थिन्, जब सुत्ने बेला हुन्थ्यो, यमुना फेरि झस्काउँथिन् र भन्थिन् । "हजुर यहाँ केहि हुनेवाला छैन ।" विदेशतिर जानु , न यहाँ तपाईले न जागिरै पाउन सक्नु भएको छ न खेतबारीमै फसल । किसानको जीन्दगी पनि उँभो लाग्ला जस्तो छैन् । मिहिनेत जति गरे पनि खडेरी नै खडेरी न खाँदमलको व्यवस्था । न सिँचाई पानीको व्यवस्था फसल पनि सप्रिन्छ जस्तो छैन बरु विदेश गएपछि मेरो यो फाँटेको चोली पनि फेरिन्थ्यो कि ? श्रीमतीको अति मार्मिक शब्दले निकै बेर घोत्लिए यमुनाको श्रीमान ।
यमुनाको श्रीमान तुलसी पनि भन्न थाले । " म पनि त्यही तिमीसंग सल्लाह गरौला भन्दै थिए, तिमीले भनि हाल्यौं ।" तिमीले त्यहि फाँटेको चोलो मै काम धन्दा गरेको देखेर आफैँ लजाउँथे । "कहिले तिम्रो चोली फेरि दिऊँ ?"
यमुना खुशी भइन् । आफ्नो श्रीमानले पनि विदेश जाने सपना देखेकोमा । उनी त्यहि रात कल्पनामा हराउन पुग्छिन, र मनमनै भन्थिन् । "मेरो श्रीमान विदेश गएपछि यो फाँटेको चोलीमा हैन् ? फेरिएको चोलीमा सबैले मलाई देख्नेछन् ।"
यी कल्पनामा हराउँदा हराउँदै कुनबेला यमुना आफ्नो श्रीमानको अङ्गालोमा भुसुक्कै निदाउन पुग्थिन् ।