मिसन ‘दिमाग खराब’

मिसन ‘दिमाग खराब’

सन्तोष पोखरेल
मंसिर ६ गते वैवाहिक वार्षिकोत्सवको दिन । कसरी मनाउने त ? श्रीमतीसँग सल्लाह गर्दा सपरिवार फिल्म हेर्न जाने निधो भो । कुन फिल्म ? उही त हो नि, हिजोआजको बडो चर्चामा रहेको ‘दिमाग खराब’ ।

घरमा ताल्चा मारेर लागियो हलतिर सपरिवार । अर्थात् बुबा, आमा, आफू, श्रीमती र सानी छोरी । ३ः०० बजेको सो हेर्न जिल्ला सदरमुकामकै एकमात्र सिनेमा हल ‘सीबी सिनेमा’ पुगियो ।
हलमा पुग्दा पूरै सुनसान थियो । मान्छे(दर्शक) नै छैनन् । हल रुँघेर बसेका जम्मा एकजना कर्मचारी साना भाइ रहेछन् । कुरा गर्दै जाँदा थाहा भोः ‘टाइगर ३ देखाउने भनेको तर दर्शकको अभावमा आज १२ बजेको सो पनि चलेन ।’
अब चैं फिल्म चल्छ त ? सोधें । उनले भनेः ‘तपाईंहरु चारजना मात्रै हुनुभो । कम्तीमा ७ जना नभै चलाउन सकिंदैन ।’
परेन त फसाद् !

अब कम्तिमा अरू तीनजना दर्शक कहाँबाट ल्याउनू ? ३ बजिसकेको थियो । ‘अरू आउलान्, एकछिन पर्खनू न’ उसले भन्यो । ‘घरमा साँचो लगाएर हिँडिएको छ । भरे साँझ÷बत्ती बाल्न ढिलो हुने भो’ भन्दै आमा आत्तिन थालिसक्नु भो ।
कर्मचारी भाइलाई अनुरोध गरियो ।
‘आज फिल्म हेर्न नपाए फेरि कहिल्यै यो हलमा आइँदैन नि !’ भनेर घुर्की लाइयो । पार लागेन । ‘एकचोटि हल मालिकलाई सोध्नु न, फिल्म देखाइदिनू भनेर भन्दिनुहुन्छ कि ?’ पनि भनियो । निष्ठुरी ! किन मान्थ्यो र ।
सवा ३ भइसक्यो । अहँ, अरु दर्शक आएनन् ।

फिल्म हेर्न कत्रो रहर बोकेर आइएको छ । समाचार र सामाजिक सञ्जालभरि त्यत्रो चर्चा चलेको फिल्म । कतिखेर
हेर्नु जस्तो भइराख्या छ । फिल्म हलमा पुगेपछि पनि पर्खनुपर्दा कसलाई पो छटपटी हुन्न र ?
तर हामी चैं हलसम्म आएर पनि फिल्म हेर्न नपाई घर फर्किने जोखिम बढ्दै थियो ।
आ ! आइसकेपछि नहेरी त के फर्कनू ? जे त पर्ला भन्ने सोची हलवाला भाइसँग एउटा प्रस्ताव राखें ।
हेर भाइ, हामी चार जना भए पनि सात जना बराबरकै पैसा तिर्छौं । तर पछि हलमा अरु मान्छे आए भने बढीमा
तीन जनाको पैसा चैं फिर्ता दिनुपर्छ । हुन्छ ?
भाइले ओके भन्यो ।

‘त्यसो भा लु छिटो टिकट ल्याऊ ।’ कर्मचारी भाइले हलको सेक्युरिटी भाइलाई बोलायो । ऊ आफू चैं कतै अलप भयो ।
सेक्युरिटी भाइले सातओटा टिकट हातमा थमाउँदै भन्योः ‘चौध सय ल्याउनुस् ।’ दिएँ । ऊ पैसा थन्क्याउन थाल्यो ।
हामी हलभित्र छिर्ने स्टिलको गेटमा पुग्यौं ।
गेटको ताला खोल्दिने कोही देखिएन । ’ए, यहाँ ताला खोल्न आउनुपर्यो ।’ उही सेक्युरिटी भाइ गुर्र कुद्दै गेट खोल्न आइपुग्यो ।
हतार हतार हलभित्र छिर्यौं ।

हलभित्र पूरै सुनसान । एक मनले त खुसी पनि लाग्यो ।
वा ’ विवाहको वार्षिकोत्सवको दिन हल ‘बुक’ गरेर फिल्म हेरिने भैयो । यादगार !
साढे तीन भइसक्यो । अब त फिल्म शुरु गर्नु नि । अपरेटर रुममा कोही छ जस्तो लागेन ।

फेरी कराएँ ‘ए भाइ’ । उही सेक्युरिटी भाइ फेरी कुद्दै आयोः ‘पख्नुस् है । चलाइदिन्छु ।
साथी त वन म्यान आर्मी नै रहेछ । सबैतिर भ्याउने ।
फिल्म शुरु भयो ।

अरु फिल्ममा मख्ख । मेरा आँखा चैं कुनै बेला फिल्मको पर्दामा अनि कुनै बेला ढोकामा पुग्थे । तीन जना दर्शक थपिए त मेरो छ सय फिर्ता हुन्थ्यो नि ।
फिल्म शुरु भएको लगभग आधा घण्टा भएको थियो ।
घरबाट आमाले बोकी ल्याएको मकैका फूल खाँदै गरेकी छोरीले भनीः ‘पानी ।’
‘पर्ख, अहिले इन्टरभलमा ल्याइदिन्छु ।’
उसले भनीः ‘नाइँ, अहिले नै ।’

पानी लिन हल भित्रैको पसलमा पुगें । कोही छैन । फेरी कराएँ ः ‘ए भाइ ।’
‘एकछिन है’ भन्दै उही वन म्यान आर्मी आइपुग्यो । पानी ल्याएर अब चैं ढुक्कले फिल्म हेर्छु भन्ठानी बसें ।
फिल्म शुरु भएको झण्डै पैंतालिस मिनेट पछि एक जना ढोकाबाट भित्र छिरेको देखें ।
मन खुसी भयो । कम्तिमा दुई सय त फिर्ता हुने भो ।
अँध्यारोमा त्यो मान्छे म नजिकै आयो ।मरेस् ! त्यै सेक्युरिटी भाइ पो रहेछ । अपरेटर रुमभित्र छिर्न आँटेको ।
श्रीमती कराइन् ः ‘भाइ, इन्टरभल हामीलाई चाहिन्न । खुरुखुरु सेकेण्ड हाफ लगाइदिनुस् है । ढिलो भइसक्यो ।’
उसले के जवाफ फर्कायो, बुझिएन । तर सेकेण्ड हाफ तुरुन्त शुरु भो ।
हल ‘बुक’ को कमाल । हा हा हा ।

सुनसरी जिल्लाको इनरुवा बजार त्यही ठाउँ हो जहाँको कमल टाँकिजमा कयौं फिल्महरु चल्दा हल परिसरमा खुट्टा
राख्ने ठाउँ नभएको यिनै आँखाले बाल्यकालमा देखेको हो । उक्त हल उहिल्यै बन्द भो । आज यै ठाउँको एकमात्र अर्को
हलको टिठलाग्दो अवस्था देखेर नरमाइलो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्