विराटनगरको फोहोर व्यस्थापनमा सकारात्मक पहल : कम्पोष्ट मल उत्पादन सुरु

विराटनगरको फोहोर व्यस्थापनमा सकारात्मक पहल : कम्पोष्ट मल उत्पादन सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०\०८१ को नीति, कार्यक्रम तथा बजेटमा ‘घरको भान्साबाट निस्कने फोहोरलाई कम्पोष्ट मल बनाउने तयारी थालिएको छ’ भन्ने बुँदा उल्लेख गरेको थियो । निजी क्षेत्रको साझेदारीमा फोहोरमैलालाई पुँजीको रुपमा परिवर्तन गर्ने महानगरपालिकाको यो नीति कार्यन्वयनमा आएको छ ।

विराटनगरको फोहोरमैला व्यवस्थापनका लागि तीनवटा कम्पनीले जिम्मा लिएका छन् । जसमध्ये मध्यक्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा लिएको शान्तिका लागि वातावरण नेपालले भान्सामा उत्पादन भएको फोहोर प्रशोधन गरेर कम्पोष्ट मलमा रुपान्तरण गर्न थालेको हो ।

यो संस्थाले कम्पोष्ट उत्पादन गरेर प्रभावकारीता समेत परीक्षण गरिसकेको छ । विराटनगर महानगरपालिका शहरी स्वास्थ्य तथा सरसफाई व्यवस्थापन महाशाखा प्रमुख पुनम दाहालका अनुसार कम्पोष्ट मलको नमूना परीक्षण भईसकेकोले अबका एक महिना भित्र यसलाई बजारमा ल्याईने भएको हो । दाहालका अनुसार संस्थाले फोहोर व्यवस्थापनको क्रममा आफ्नै पहलमा कम्पोष्ट मल उत्पादन सुरु गरेको छ ।

संस्थाले उत्पादन गरेको मलको उद्योग कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशानालय अन्तर्गतको माटो तथा मल परीक्षण प्रयोगशालामा विश्लेषण गरिएको हो । माटा तथा मल परीक्षण प्रयोगशालाले साउन २१ गते स्वास्थ्य तथा शान्तिका लागि वातावरण नेपाललाई पठाएको विश्लेषण विवरणमा अर्गानिक कम्पोष्ट मलमा नाइट्रोजन, फोस्फोरस, पोटासिएम, अर्गानिक कार्बन, मोस्चियर कन्टेन्ट र पिएचको मात्रा सन्तुलन रहेको उल्लेख छ । संस्थाले असार ३ गते नमूना पठाएको संस्थाका संयोजक एकराज खनालले जानकारी दिनुभयो ।
संयोजक खनालका अनुसार विराटनगर–६ ब्रम्हापुरामा फोहोर प्रशोधन प्लान्ट स्थापना गरिएको छ । जसमा ८ टन कम्पोष्ट मल उत्पादन गरेर त्यसको व्यवसायिक परीक्षण गरिसकिएको हो ।

विराटनगर महानगरपालिकाको फोहोर संकलन गर्न तीन वटा निजी साझेदार कम्पनीसँग सम्झौता गरिएको छ । महानगरको उत्तरी क्षेत्रको नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोल, मध्यभागमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल तथा दक्षिणी क्षेत्र सगरमाथा मल्टिसप्लायर्सले फोहोर संकलन गर्दै आएको छ ।

विराटनगरको मध्यभाग अन्तर्गत वडा नम्बर ६,७,८,९, १० र ११ को फोहोर संकलन र व्यवस्थापन स्वास्थ्य र शान्तिका लागि बाताबरण नेपालले जिम्मा लिएको छ । यसले महानगरपालिकासँग मासिक एक रुपिँया मात्रै लिने गरि सम्झौता गरिएको छ । पाँचवर्षको ठेक्काका लागि यो संस्थाले ६० रुपिँया मात्रै बोलकबोल गरेको हो । जसले फोहोरलाई कम्पोष्ट मलमा रुपान्तरण गरेर व्यवसायिकता प्रस्तुत गरेको हो ।

मध्यभाग अन्तरगत को फोहोर संकलन र व्यवस्थापन स्वास्थ्य र शान्तिका लागि बाताबरण नेपाल नामक सस्थाका संयोजक खनालले कम्पोस्ट बनाउने प्रारम्भिक कार्य सम्पन्न भएकोले अब व्यवसायिक उत्पादन अगाडी बडाईने दावी गर्नुभयो । परीक्षण लगायताका काम सकिएका कारण अब उत्पादन र प्याकेजिङमार्फत बजारमा पठाईने भएको हो ।
इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्