-ऋषि तिवारी
'असार । त्यो पनि बर्षातको असार । गर्मी न हुनु पर्ने हो ।'
यसरी यो गर्मीको गुनासो म आफ्नै मनलाई सुनाइरहेको थिएँ ।
मान्छेले पनि भन्थे, 'ऊफ असारको गर्मी । कतै चर्को घाम । कतै बर्षातको पानी ।'
साँझको क्रमसंगै रातको संकेत । गर्मी छल्न छतमा पुगें । हावा शिरिरर बहेको थियो । 'आहा कति शितलता ।' फेरि आफ्नै मनलाई भनें ।
चन्द्रमाले उस्तैं रातलाई चकमन्न बनाई दिएको थियो । मानौं म मुग्ध थिएँ ।
भुईकिरिहरुको त्यो किरिरिरिको चर्को आवाज । अँह म सुन्न सकिरहेको थिइनँ । बरु त्यो जुनकिरीको पिलपिले बत्ती आहाँ । यसरी भुईकिरिको किरिरिरिको आवाजले उसलाई हप्काउँथें । 'ओई भुईकिरि कति किरिररर गरेको चुप लाग ।' यसो भने पछि चुप लाग्दथ्यो । फेरि उहि रटान रट्थ्यो किरिरिरि ।
शितलताको हावा बहेसंगै बादल पनि पुर्वबाट बहेर आइरहेको देखें । बादलको विभिन्न आकृति भएर बहेको हेर्दा हेर्दै हाम्रो देश नेपालको नक्सा आकृति बन्यो । गर्वले छाति चौडा भयो । मैंले छतबाट हल्ला गरें- 'ए ! नानी बाबु, ए! नानीको मम्मी छिटो छतमा आओ त बादलले हाम्रो देश नेपालको नक्सा बनाएछ ।'
श्रीमतीको मुख त छुच्चो त छँदै थियो । उनले प्याच्चै भनिन्- 'देश जसले सुकै बनाओस । तर हत्या-हिंसा, बलात्कारको कडा कानुनको सुशान चाहिं हुनु पर्यों ।'
श्रीमतीले के चाहि बुझिन् ? के चाहिं नबुझेकी । के जवाफ दिएकी हुन् । म आफैंले भेऊ पाउँन सकिनँ, यो चकमन्न रातमा । मैंले गरे, 'आग्राको कुरा, उनले गरिन् गाग्राको कुरा ।'