इन्दु साह
विराटनगर । मोरङ शिशवनी जहदाका ६५ वर्षीय छेदीलाल रायको एउटा खुट्टाको खासै भर छैन । दुर्घटनापछि उनी शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुन् । तर, उनको काँधमा परिवारको जिम्मेवारीले उनलाई अपाङ्गता भएको भन्ने महसुश हुँदैन ।
पहिला पनि उनी रिक्सा चलाउँथे । अहिले सिटी र अटोले रिक्सालाई लोप बनायो, त्यसपछि ठेलासँग आफ्नो दैनिकी गुजार्ने गर्दछन् । ‘चारआना रिक्सा भाडा हुँदादेखि श्रम बेचेको हुँ’ रायले भने–छोराहरु त्यसरी नै हुर्काएको थिएँ, अहिले मसँग उनीहरु छैनन् तर नातीनातीनाको देखभाल भने मैले नै गर्नुपर्छ । उनी जेनतेन ठेला चलाउँछन् र आफ्नो परिवारको गुजारा चलाउँछन् ।
‘श्रमसँग विश्वास छ, परिश्रम गरेर बाच्नुपर्छ भन्ने सोचले मलाई दैनिक काम गर्ने जाँगर जुर्मुराउँछ’ रायले भने–आफ्नो उपचार गर्ने खर्च नभएपनि परिवारको गाँसको जोहो आफैं गरिरहेकी छु ।
उनी शारीरिक रुपमा कमजोर भएपनि दैनिक ठेला चलाएर आर्जन गरेको पैसाले परिवार पाल्न सक्षम रहेको दावी गर्दछन् । आफैं सामान लोड गर्ने र अनलोड गर्ने काम गर्दछन् । आफैंलाई सक्षम ठानेपछि काम गर्न कुनै असजिलो नहुने उनको बुझाई छ ।