विराटनगरमा रात्रीकालिन होटल व्यवसाय : जोखिम भन्दा धेरै संभावना, लाग्छ सधैं अंकुश

विराटनगरमा रात्रीकालिन होटल व्यवसाय : जोखिम भन्दा धेरै संभावना, लाग्छ सधैं अंकुश

विराटनगर । काठमाण्डौंको ठमेल, पोखराको लेकसाइड र बिरगञ्जको रात्रीकालिन होटल व्वसाय सञ्चालन हुन्छ । त्यहाँको कल्चरलाई पूर्वका धेरै बजारहरुले पछ्याउन सक्ने भएपनि रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि ‘सेक्युरिटी थ्रेट’ को पासोमा होटल व्यवसायिहरुलाई स्थानीय प्रशासनले रोक्दै आएको छ ।

विराटनगरमा पछिल्लो समय रेष्टुरेन्ट कल्चरको विकास फरक ढंगले भएको छ । यहाँ ठूला र मध्यम होटल मात्रै नभई रेष्टुरेन्टमा आकर्षक लगानी भित्रिएको छ । विराटनगरमा फिल गुड बार एण्ड गृहले फरक ढंगले रेष्टुरेन्ट कल्चर भित्रएसँगै लगानी बढ्दै उस्तै प्रकृतिका रेष्टुरेन्ट थपिएका छन् ।
बरगाछीदेखि कन्चनबारीसम्मको क्षेत्रमा खुलेका रेष्टुरेन्टको सेवा आकर्षक मात्रै नभई फरक–फरक स्वादका परिकार विशेषता छन् । एयरपोर्ट रोड हव जस्तै बनिसकेको छ । फिल गुड बार एण्ड गृह, पिजफायर, ह्याप्पी हावर हेभन, सिंघासन, बाजेको सेकुवा, ओलिभ, गृष्णा, ह्यासट्याग, कुश गार्डेन, पर्पल हेज, जिरो पोइन्ट जस्तै धेरै रेष्टुरेन्ट खुल्ने क्रममा छन् । तर, यसरी लगानी आकर्षित भईरहेका व्यवसायका सञ्चालनका लागि खर्च धान्ने गरिका ग्राहक भने अभाव हुने अवस्थामा छन् ।

फरक ढंगका रेष्टुरेन्ट मात्रै नभई यहाँका ठूलास्तरका होटलमा समेत त्यो कल्चर भेटिन्छ । लगानीको आकर्षणको क्षेत्रका लागि आवश्यक पर्ने ग्राहक भित्र्याउने र उनीहरुलाई त्यहिं रमाउने लामो समयको वातावरण कमजोर हुँदा त्यसको विकल्पको खोजि चौतर्फी भईरहेको छ ।
नेपाल होटल एशोसिएशन संघ कोशीका अध्यक्ष एवं केन्द्रीय सदस्य राजन श्रेष्ठका अनुसार विराटनगरमा अन्य कुनै घुम्न जाने ठाउँ छैनन् । तर, फरक फरक खानाको स्वाद पस्कने होटल तथा रेष्टुरेन्ट छन् । यहाँ भारतबाट आउने ग्राहकको संभाव्यता राम्रो छ । औद्योगिक, स्वास्थ्य र शिक्षाको हव मानिएको विराटनगरमा दिउँसोको समय होटल रेष्टुरेन्टमा बिताउन छैन । त्यसका लागि रात्रीकालिन स्ट्रिट फुड मेला र होटल व्यवसाय सञ्चालनका लागि वातावरण आवश्यक छ । तर, प्रशासनले विराटनगरलाई सधैं अड्काईरहेको छ ।

विराटनगरका अर्का होटल व्यवसायी पुण्य भट्टराईका अनुसार भारतीय पर्यटक भित्र्याउने योजनासहित रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि स्थानीय प्रशासन र स्थानीय तहले वातावरण बनाउनु पर्छ । त्यति मात्रै नभई मध्यमस्तरका नागरिक बसेको शहरमा दिनभर काम गरेर साँझ परेपछि परिवारसँग होटलमा गएर खाने वातावरण दिन आवश्यक छ । चिकित्सक वा शिक्षा क्षेत्रमा आवद्ध मात्रै नभई औद्योगिक क्षेत्रमा आवद्ध भएकाहरुले दिनभरको समय परिवारलाई दिन भ्याउँदैनन्, भट्टराईको भनाई छ–यसका लागि राती १२ बजेसम्म मात्रै भएपनि होटल व्यवसाय सञ्चालनको वातावरण तयार पार्नुपर्दछ ।

होटल व्यवसायी मात्रै नभई विराटनगरका उद्योगीहरुको समेत माग यस्तै छ । प्रशासनले सुरक्षाको जिम्मेवारी लिएर व्यवसाय गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उनीहरुको जोड छ । विराटनगरमा बाजेको सेकुवाले आउटलेट सञ्चालनमा ल्याएपछि उद्योगी–व्यवसायीले उद्घाटन गर्दै भनेका थिए–प्रशासनले सुरक्षा जिम्मा लिए, विराटनगरका लागि ठूलो अवसर सिर्जना हुनेथियो । यसमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको धारणा समान छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रात्रीकालिन होटल व्यवसाय सञ्चालनको विषय स्थानीय तहसँगको छलफलपछि अनुमति दिने÷नदिने निष्कर्षमा पुग्न सकिने बताउँछन् । उनले स्थानीय तहले आफ्नो पेरिफेरी भित्र कस्तो वातावरण छ यकिन गरेर स्थानीय प्रशासनसँग छलफलपछिको निष्कर्षले मात्रै स्वीकृति दिनसकिने बताए । ‘म भर्खरै आएको छु, उद्योग–वाणिज्य संघ, होटल व्यवसायि र स्थानीय तहसँग यस विषयमा छलफलपछि केहि भन्न सकिन्छ’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने–अहिले नै यहि हो भन्ने आधार तयार भईसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख दिपक पोखरेल काठमाण्डौं वा पोखराको हकमा गृह मन्त्रालयकै निर्णय अनुसार सञ्चालन हुने गरेकोले त्यहि नियममा विराटनगर आईनसकेको बताउँछन् । होटलमा भेला भएका नागरिकहरुबीच झैझगडा वा दुश्मनीको अवस्था आउने, त्यसले सम्पतिमा क्षति पुग्नेसम्मको स्थिति विगतमा आउने गरेको उनको अनुभव छ । प्रहरीले सबै कुरामा सुरक्षा गम्भीरता अपनाउनु पर्ने भएकोले अंकुश लगाउँदै आएको प्रहरी उपरीक्षक पोखरेलको भनाई छ । ‘जुनसुकै अवस्थामा भएपनि नागरिकको जीउधनको सुरक्षा गर्नुपर्ने बाध्यता छ, अहिलेकै निर्णयका आधारमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि खुल्ला छैन’ प्रहरी उपरीक्षक पोखरेलले भने–यसका लागि आवश्यक निर्णयका प्रक्रिया पूरा गरेर, त्यो प्रक्रिया भित्र पनि केहि आचारसंहिता बन्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्